खेल

यु–१९ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेश विजयी

  • १४ मङ्सिर बुधबार, २०७९ | १६:२२:०० मा प्रकाशित

काठमाडौँ । यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । 

मधेश प्रदेशले सुदूरपश्चिमलाई जितका लागि एक सय २३ रनको लक्ष्य दिएको थियो । त्यसमा सुदूरपश्चिमले १८ दशमलव पाँच ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।  

सुदूरपश्चिमको जितमा दीपक बोहोराले सर्वाधिक ५३ रनको अर्धशतकीय ईनिङ खेले । त्यस्तै अर्का खेलाडी दीपक बोहोराले २४ रन जोड्दा गजेन्द्र बोहोराले २३ रन जोडे । मधेसका लागि अविशेक तिवारीले दुई विकेट लिए भने साइमन रोयले एक विकेट लिए । 

 त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले ३८ दशमलव एक ओभरमा अलआउट हुँदै एक सय २२ रन बनाएको थियो । 

मधेश प्रदेशका लागि अलि अन्सारीले ३२ रन जोडे भने इम्रान शेखले २८ रन जोडे । मयन यादवले २३ तथा डब्लु मल्लिकले ११ रन बनाए ।

सुदूरपश्चिमका लागि नरेन साउद एक्लैले पाँच विकेट लिए । हेमन्त धामीले तीन तथा युवराज खत्रीले दुई विकेट लिए । अपराजित सुदूरपश्चिमले पाँच खेलबाट १० अङ्क जोडेको छ । यो हारसँगै मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ । 

तपाईँको मत