गाउँ सहर

खैंजडी लोक भजन नाचको संरक्षण गर्न समिति गठन

  • २९ भदौ बुधबार, २०७९ | ०९:३६:०० मा प्रकाशित

 

काठमाडाैं । पछिल्लो समय हराउँदै गएको खैंजडी लोक भजन नाचको संरक्षण र जगेर्ना गर्न र यसको महत्व दर्साउन अहिले मेलम्ची नगरपालिका–८ का चन्द्रप्रसाद कोइराला समिति नै बनाएर लागिपरेका छन् । सत्तरी वर्षीया कोइराला केउरिनी–दुवाचौर खैंजडी भजन संरक्षण समिति बनाएर लोक भजनको संरक्षण र संवर्द्धनमा लागेका हुन्।

उनी अहिले मेलम्ची नगरपालिकाभित्र मात्रै नभई सिन्धुपाल्चोक जिल्लाकै विभिन्न गाउँ–गाउँमा पुगिरहेका छन् । हिन्दू धर्म–संस्कृतिमा परापूर्वकालदेखि नै प्रचलनमा रहेको लोक भजनमा रामचरित्र, कृष्णचरित्र, महाभारतलगायतका पौराणिक कथालाई लयबद्ध रूपमा छोटो टुक्का बनाइन्छ । सो टुक्कालाई खैंजडी​को तालमा लयबद्ध रूपमा गाउँदै नाचिन्छ खैंजडी भजनमा ।

परापूर्वकालदेखि चल्दै आएको संस्कृति पुस्तान्तरणको नहुँदा भने समस्या भएको छ । पछिल्लो पुस्ताले सिक्न नचाहेका कारण खैंजडी लोक भजन सङ्कटमा परेको छ । पुरानो लोक संस्कृतिलाई बचाउन राज्यस्तरबाटै युवापुस्तालाई प्रेरित गर्ने खालको कार्यक्रम ल्याउनुपर्ने भजन समूहको भनाइ छ । तर मेलम्ची–७ दुवाचौरका दिनेश पौडेल भने कोइराला बाजेसँगै हिँडेर अहिले कथा भट्याउन सिकिरहेका छन्। बाइस वर्षीय पौडेल संस्कृति संरक्षण गर्दै नयाँ पुस्तालाई पनि यसको महत्वका बारेमा बुझाउन आफू सक्रियतापूर्वक लागेको बताउछन् ।

भजन गाउनकै लागि समूह बनाएर रातभरि पनि गाउँदै नाचेको अनुभव छ कोइरालासँग । “पहिले भजन गाउँदाका रौनक छुट्टै हुन्थ्यो । सामाजिक सद्भाव र एकआपसमा आत्मियता बढ्थ्यो”, आफ्नो लोक संस्कृति लोप हुँदै गएकामा उनले दुःखेसो पोखे, “अहिलेका छोरा नाति आफ्नो धर्म, संस्कृति र परम्परालाई बिर्सेर पश्चिमी संस्कृतिका भड्किला गीतमा रमाइरहेका भेटिन्छन् ।” सत्यनारायण पूजा, व्रतबन्ध, अन्य धार्मिक कार्यमा खैँजडीको तालमा भजन गाएर नाच्ने गरेको उनले सुनाए । आफ्नो विगत सम्झिँदै कोइरालाले भने, “छोरा–नाति सबैले खैंजडी​को तालमा लोक भजन गाउन, नाच्न बिर्सिए । खैंजडी लोकभजन जोगाउनकै लागि भजन समूहलाई साथ दिएको हुँ ।” उनको जाँगर र फूर्ति देखेर पनि खैंजडी भजन समूहले उनलाई भरपूर साथ दिइरहेका छन् ।

बाउबाजेले मान्दै र मनाउँदै आएका केही संस्कृति पछिल्लो पुस्ता अपनत्व नलिँदा लोपोन्मुख हुँदै छ । गाउँघरमा अत्यधिक रुचाइएका यस्ता संस्कृति पुस्तान्तरणको अझै समस्या छ । युवा वर्गको आकर्षण, चासो, लगनशीलता संस्कृति संरक्षणको तत्कालीन आवश्यकता हुन् । अहिले पनि केही युवाहरूमा यसको चासो भने रहेको पाइन्छ । लोलीमा लोली मिलाउनेहरूको भन्दा पनि अहिले कथा प्रस्तुत कर्ताको अभाव छ । भजन संरक्षणका लागि झ्याली, खैंजडी, मादललगायत आवश्यक सामग्रीको अभाव पनि त्यत्तिकै छ । स्थानीय तहलागायत विभिन्न निकायले यसबारेमा सहयोग गरेमा सजिलो हुने अपेक्षा कोइरालाको छ ।

खैंजडी​सँगै कोइरालासँग बालनटोली पनि छ । विभिन्न चाडपर्व, धार्मिककार्य, विवाह, व्रतबन्धमा परम्परागत रुपमा नृत्य गर्दै आएको बालन नाच बिस्तारै लोप हुँदै जान थालेको छ । अन्य बाह्य गीत, सङ्गीत र संस्कृतिका कारण आफूहरूको बालन नाच लोप हुन थालेकामा बिचारी भारती चिन्तित छिन् ।

हराउन लागेका परम्परागत संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा पाका स्थानीयवासीको पनि जोड छ । स्थानीयवासी सिद्धिनारायण श्रेष्ठ यसको जगेर्ना गर्ने जिम्मा स्थानीय तहको पनि रहेकाले यस विषयको तालिम सञ्चालन गरी संरक्षण गर्न आग्रह गर्छन् । निकै प्रचलित खैंजडी भजन पछिल्लो समय लोप हुँदै गएको छ । हिन्दू धर्ममा निकै प्रचलित खैंजडी​को तालमा रातभरि नाचिने भजन केही समययता गाउँघरमा अपवादका रुपमा देख्न पाइन्छ । युवापुस्तामा विकसित पश्चिमा संस्कृतिको आकर्षण र प्रविधिले गर्दा लोप हुँदै गएको हो । युवाको पुरानो संस्कृतिमा आकर्षण बढ्नुभन्दा पनि पश्चिमा संस्कृतिको मोहले पुराना रीतिरिवाज हराउँदै गएको अवस्थामा यस्तो तालिमले संस्कृतिसँगै नेपाली पहिचानको समेत जगेर्ना हुने उनको भनाइ छ ।

सहयोग गरिने
माग भई आएमा तालिम सञ्चालनमा सहयोग गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए । उनले कला संस्कृति जोगाउन नगर तयार रहेको बताए ।

यहाँका स्थानीय तहले विभिन्न कार्यक्रममा टोलीलाई बोलाएर चाडवाड मेलामा भजन गाउन लगाउने गरेका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पालिकाको सहयोगमा जनै पूर्णिमामा यस टोलीले भजन प्रस्तुत गरेका थिए ।रासस

तपाईँको मत