गाउँ सहर

रहेनन् समाजवादी चिन्तक नेपाली कांग्रेसका नेता प्रदीप गिरी

  • ४ भदौ शनिबार, २०७९ | २३:०२:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरिको ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजेतिर निधन भएकाे कांग्रेस संसदीय दलका सचेतक मिनबहादुर विश्वकर्माले जानकारी गराएका हुन् । 

उनलाई शुक्रबार भेन्टिलेटरबाट निकालेर आइसियुमा राखिएको थियो । विगत तीन सातादेखि गिरीको उपचार भइरहेको थियो ।

लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका हुन् । घाँटीको क्यान्सरबाट पीडित उनलाई निमोनिया पनि देखिएको थियो ।

काे हुन् गिरी ?

उनको जन्म सन् १९४७ नोभेम्बर १ मा भएको थियो ।

गिरी २०१७ सालबाट नै नेपाली राजनीतिमा लागेका थिए । बुवा मित्रलाल गिरी कांग्रेसको राजनीतिमा सक्रिय भएको हुनाले गिरी राजनीति सानै उमेरबाट प्रारम्भ भयो ।

राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी हालसम्म कुल चार वर्ष उनले जेल जीवन बिताइसकेका छन् ।

उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस)को निर्वाचित उपाध्यक्ष थिए ।

२०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित गिरीले २०५६ को संसदीय निर्वाचनमा समेत भाग लिएका थिए । व्यवस्थापिका संसद‍्मा उनले नेपाली काङ्ग्रेस, प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधित्व गरेका थिए ।

भारत, जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरी अध्ययनमा विशेष रुचि राख्छन् ।

कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था बुझ्न शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी थिइन् ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि मेडिसिटी पुगेका थिए । अस्पतालमा कांग्रेसलगायत  पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरु पुगेका थिए । गिरीको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथसहितका स्थानमा पूजा र  प्रार्थनम पनि गरिएको थियो । 

 

तपाईँको मत