कला
शनिबार पर्खिरहेछ
- एमबी खड्का
- २८ श्रावण शनिबार, २०७९ | १३:०५:०० मा प्रकाशित

बिहानदेखि पर्खिरहेछ-
ढोका बाहिर रापिलो शनिबार
तिमीलाई सेकुवा मन पर्छ होला
म बाहिर निस्केर स्वादिलो सेकुवा बन्न सक्छु
कोठाभित्र त ठिकै छ ताप
म भित्र कस्तो छ थाहै होला
म रापिलो हुन्छु शितलहरसित पनि
म बर्फिलो चिसिन्छु गर्मिलो मौसमसित
तिमीलाई त थाहै होला
म भित्र कस्तो छ
ढोका बाहिर रापिलो शनिबार पर्खिरहेछ
म निशस्त्र लड्न सक्दिन युद्ध दिनसित
म सशस्त्र गर्न सक्दिन प्रेम घामसित
म युद्ध बिराम गरेर ढोका भित्र पर्खिरहेछु
युद्ध बिराम भङ्ग गरेर रापिलो शनिबार
ढोका बाहिर पर्खिरहेछ ।
प्रतिकृया दिनुहोस