अमेरिकी सभामुख पलोसी ताइवानबाट फर्किएसँगै चीनले गर्यो सैन्य अभ्यासको घोषणा
- गाउँ सहर संवाददाता
- १९ श्रावण बिहीबार, २०७९ | ०७:३२:०० मा प्रकाशित

अमेरिकी सभामुख न्यान्सी पलोसीकाे विवादास्पद ताइवान भ्रमणपश्चात बेइजिङ क्रुद्ध बनेकाे छ ।
उनको भ्रमणप्रति प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको छ।
बिहीवारदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुनेछन् । त्यसमा "लामो दूरीको प्रत्यक्ष गोलाबारी" समेत हुनेछ ।
चीनको रक्षा मन्त्रालयका एक प्रवक्ताले अभ्यासका क्रममा ताइवानको जलक्षेत्रमा प्रवेश गर्न सकिने बताएका छन् ।
त्यहाँकी राष्ट्रपति साइ यिङ वूनले ताइवानले "जानाजान बढाइएका सैन्य खतराहरूको सामना गरिरहेको" बताएकी छन् ।
र, ताइवान "पछि नहट्ने र आफ्नो आत्मरक्षा क्षमताहरू बलियो बनाउन जे पनि गर्ने" जनाएकी छन् ।
ताइवानका बन्दरगाह अधिकारीहरूले जहाजहरूलाई अभ्यासबाट बच्न वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेका छन् र यातायात मन्त्रीले ताइपेईले छिमेकी राष्ट्रहरू जापान र फिलिपिन्ससँग वैकल्पिक उड्डयन मार्गहरू खोज्न वार्ता गरिरहेको बताएका छन् ।
बढ्दो तनावबीच चीनले ताइवान र मुख्य चिनियाँ भूभागको अनौपचारिक विभाजन रेखामाथि युद्धविमानहरू उडाएको थियो ।
२५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पलोसीले राजधानी ताइपेईमा नेताहरूसँग भेटवार्ता गरेकी थिइन् ।
बृहत् एसियाली भ्रमणको अंश ठानिएको यस भ्रमणलाई लिएर बेइजिङ भने क्रुद्ध छ । किनकि उसले यस टापु राष्ट्रमा भ्रमणविरुद्ध दिएको चेतावनीको पलोसीले बेवास्ता गरिन् ।
ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ र बिस्तारै यो आफूमा गाभिने विश्वास गर्छ ।
बुधवार जारी विज्ञप्तिमा चीनका विदेशमन्त्री वाङ यीले भनेका छन्, "आगोसँग खेल्नेहरूको अन्त्य सुखद हुने छैन र चीनको अपमान गर्नेहरूले सजाय भोग्ने छन् ।"
"संयुक्त राज्य अमेरिकाले तथाकथित लोकतन्त्रको आडमा चीनको सार्वभौमसत्ताको उल्लङ्घन गरिरहेको छ," थप भनिएको छ ।
अमेरिकाले आफ्नो ताइवान नीतिबारे कूटनीतिक कदम चालेको छ ।
एकातिर यस देशले "एक चीन" नीतिको समर्थन गर्छ जसले चिनियाँ सरकारलाई मान्यता दिन्छ र यसले ताइवानसँग नभई बेइजिङसँगको सम्बन्धलाई औपचारिक बनाउँछ ।
अमेरिकी संसद्को सभामुख रहेकी पलोसी अमेरिकी राष्ट्रपति जो बाइडन र उप-राष्ट्रपति कमला ह्यारिसपछि तेस्रो बरीयताकी व्यक्ति हुन् ।बीबीसी

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस