जीवनशैली

खीर खाने दिन अर्थात आज साउन १५, यस्ता छन् खीरका फाइदा

काठमाडौं । आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।      

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्।  

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दुध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो।      

साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ। यसैले साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतम बताउँछन्। यद्यपि यसको कुनै शास्त्रीय वचन भने छैन।      

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो। अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्यरूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन्। यस वर्ष साउन १५ गतेका दिन श्रावण शुक्ल एकादशी परेकाले चामलको खीर नखानेले साबुदानाको खीर बनाएर खान्छन्। आजको एकादशीलाई पुत्रदा एकादशीका रूपमा मनाइन्छ। एकादशी व्रत गर्नेले चामलबाट बनेका परिकार खाँदैनन्।      

साबुदानालाई फलफूलकै वर्गमा राखिन्छ। यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ। खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। नेपाली बृहत् शब्दकोषले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ।      

साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खीर खाने गरिन्छ। रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर छ। झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ। 

दूध र चामल मिश्रित खीरलाई मात्रा अनुसार मिसाइने चिनी, ध्यु, सुख्खा फल आदिले स्वादिलो र पोषिलो बनाउँछ। चामलमा कार्बोहाइडे«ड पाइन्छ भने दूध क्यासियम र प्रोटिनको राम्रो स्रोत हो। चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ। गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौं। खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ। खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल (खनिज) जस्ता तत्व पाउन सकिन्छ। खीर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यु नहालेको खीर बिरामीलाई  खुवाउन सकिन्छ। बिरामीले खीर नरम हुने भएकाले सजिलै पचाउन सक्छन्। खीर बच्चा, वृद्ध सबैलाई  युपयुक्त खानेकुरा हो।

पाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ। 

गाउँ सहर संवाददाता

तपाईँको मत