प्रेरणा

“आइन्दा यस्ता कुरा लिएर मकहाँ नआउनू” - जननायक बीपी काेइराला

काठमाडाैँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली कांग्रेसले साताव्यापी देशैभर विविध कार्यक्रम गरि मनाउँदैछ ।

बीपी काेइराला (इ.सं.१९१४ ( २१ जुलाई १९८२) नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली, हिन्दी भाषाका साहित्यकार थिए । उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरे । नेपाली भाषा साहित्यमामा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे ।

कोइरालाको बाबुको नाम कृष्णप्रसाद कोइराला हो । इ.सं. १९५९ मा भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेसले विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरे । उनको सरकार १८ महिना मात्र सरकारमा रह्यो ।

बीपीको विवाह पनि साधारण रूपमा भएको थियो । उनले झापाका बडाहाकिम कमलप्रादकी छोरी शुशीलासँग, विवाह गरेका थिए । विवाह गर्दा पनि वीपीको आर्थिक अवस्था निकै कमजोर थियो । उनका साथी देवेन्द्रसँग चार-पाँचसय रुपियाँ लिएर विवाह सुसम्पन्न गरे । बीपीको विवाहमा आमा बाबु दुवैको उपस्थिति थिएन । दाम्पत्व जीवन पनि सुखमय रह्यो । उनीबाट तीन छोरा र दुई छोरी जन्मे । छोरहरूमा प्रकाश, श्रीहर्ष र शशाङ्क हुन् भने छोरी एकको मृत्यु भएको र एक छोरी जीवित रहिन् ।

विश्वेश्वरप्रसादलाई घाँटीमा क्यान्सर भएको थियो । क्यान्सर रोगको उपचार गराउन उनी भारत, बेलायत र अमेरिका पनि गए । त्यस बेला उनले विश्वका धेरै देशहरूको भ्रमण गरे । उनको निधन पनि घाँटीमा भएको क्यान्सर रोगको कारणबाट नै भएको थियो । वि. सं. २०३९ साल साउन महिनाको ६ गते काठमाडौँको चाबहिलमा उनको निधन भएको थियो । उनको शवयात्रामा पचासौँ हजार मान्छे भेला भएका थिए ।

प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता बीपी कोइराला स्वतन्त्र रूपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन् । उनका हरेक भनाईहरू हाम्रालागि प्रेरणाका स्राेत बनेका छन् ।

स्मृति दिवसमा उनका केहि प्रेरक भनाईहरू :

“हाम्रो देशमा १०० मा नब्बे जति मानिसहरु गरिब छन् । कुटी कोदालो गरेर गाउँमा बस्छन्, जसलाई खान लाउन पुग्या छैन । नेपाल भनेको तिनै १०० मा नब्बे मानिस हुन् । जब म नेपालको कल्पना गर्छु, त्यसबेला तिनै गरिब दाजुभाइहरुको तस्बिर मेरा अगाडि आउँछ । मैला लुगा लगाएको र रोगी अनुहारको तस्बिर । अनि मलाई लाग्छ, यी रोगी खान नपाएको अनुहार पो मेरो देश हो । त्यसो हुनले त्यहि खान नपाएको पेटमा अन्न जाओस्, हाँस्न नपाएको ओठमा हाँसो आओस्, रोगीले औषधिमूलो पाओस्, केटाकेटीले पढ्न पाउन भनेर नै हामी राजनीतिमा लागेका हौँ । मन्त्री हौँला, ठूलाठूला कुर्सीमा जाऔँला भनेर राजनीतिमा लागेका होइनौँ ।”

“देशमा प्रजातन्त्र पुनर्स्थापना भएपछि सुकिला लुगा लगाउने र चिल्ला गाडीमा चढ्नेहरूको बिगबिगीले प्रजातन्त्र सङ्कटमा पर्नेछ, प्रजातन्त्रको स्थायित्वका लागि इमानदार कार्यकर्ताले पुनः संघर्ष गर्नुपर्नेछ ।”

“त्यस्तो विकास जसले गाउँलाई पाखा राख्छ त्यो विकास नै होइन । यस्तो विकास जसले शहरको सुखसुविधामा ध्यान दिन्छ र गाउँका जनताको कुनै वास्ता गर्दैन भने त्यो विकास कदापी हुन सक्दैन ।”

“तपाईंहरु भित्तामा राजाको तस्बिर राख्नुहोस र साथै नेपालको एउटा गरिब गाउँले किसानको आफ्नो झोपडी अगाडि उभिरहेको चित्र पनि राख्नुहोस् र त्यसको अनुहार हेरेर योजना बनाउनोस् र सोध्नोस् यस योजनाले त्यस झुपडीमा बस्ने किसानलाई के लाभ दिनसक्छ ।”

“राजनीति भनेको मोक्षको मार्ग होइन । पार्टी मुमुक्षुहरूको दलजस्तो निस्पृह र निर्विकल्प हुन सकेन भनेर कसैले गुनासो गर्दछ भने त्यो उसको मूर्खता हो ।”

“अतीत सबैका लागि सुखद र प्यारो हुन्छ । झन् बितेका दिन इतिहासका सुनौला पृष्ठ हुन गएका त्यस व्यक्ति वा संस्थाको के कुरा । तर, यसैले हामीमा आफ्नो साध्य र साधनप्रति नै भ्रम पारेको जस्तो छ । क्रान्ति प्रजातन्त्र प्राप्तिको एउटा साधन मात्र थियो र साध्य त प्रजातन्त्र थियो । साधनको उपलब्धिको उमंगमा हामीले यस महत्वपूर्ण कुरालाई बिर्स्याैँ र अझै त्यही गल्ती गर्दैछौं । यसैले गर्दा हाम्रो देश प्रजातन्त्रको मार्गमा चाहिने जति अगाडि बढ्न सकेन । वास्तविक भन्ने हो भने, क्रान्तिजन्य प्रजातन्त्रका प्राप्तिहरू दिनदिनै घट्दै गए । यसले गर्दा क्रान्तिको महत्व पनि कम हुँदै गयो । यस कुरालाई आज हामीले राम्ररी बुझ्नु परेको छ ।”

“साधारण जीवनमा नैतिकताको स्थान भएजस्तै राजनीति पनि जीवनकै एउटा भाग भएको हुनाले नैतिकताविनाको राजनीति निरर्थक र अलिनो हुन्छ । र, त्यस हुनाले अग्राह्य हुन्छ । हामीले साथीहरूबीच नै असत्यको प्रचार गर्यौँ, गैर–इमान्दार भएर काम गर्यौँ र आपसमा अविश्वास गर्यौँ भने हामी राजनीतिक कार्यकर्ताहरूको संघर्षमय शुष्क जीवनको सवल नै के रहन्छ र ?”

“सरकार मेरो स्वास्थ्यभन्दा देशको स्वास्थ्य झन् खराब छ । मेरो व्यक्तिगत स्वास्थ्यका कारणले यो गम्भीर समस्यालाई पर सार्नु उचित नहोला । सरकारलाई खुसी पारुँ र केही पाऊँ भने पनि सरकारबाट बक्सिने सबभन्दा ठूलो पद प्रधानमन्त्री हो, त्यो म भइसकेँ । मलाई त्यसको लोभ पनि छैन । सरकार मैले जति प्रस्ट कुरा गरेको छु, सरकारसँग भेट्ने अरुले पनि यसरी प्रस्ट गर्छन्, सरकार ?”

“एउटा नदी समुद्रमा मिसिए केही फरक पर्दैन, तर समुद्र नदीमा मिसिन आए नदीको अस्तित्व के हुन्छ ? तसर्थ शान्ति मैत्री सन्धिको दफा र नागरिक ऐनको प्रावधान नेपाललाई किमार्थ मान्य हुँदैन, मुलुकी ऐनको अदलको जुन व्यवस्था छ त्यही अनुरूप गर्नोस् । हामीले कुनै पनि विदेशीलाई घर–जग्गा खरीद गर्ने छूट दिन हुँदैन ।”

“यो कुरा प्रधानमन्त्रीबाट राय वा निर्णय लिइरहनुपर्ने विषय नै होइन। नेपाल एक स्वतन्त्र देश हो । भारतको कुनै पनि न्यायालयको क्षेत्रभित्र नेपाल पर्न सक्दैन । यस्तो स्पष्ट र दुविधारहित विषयमा पनि गृहमन्त्रालयले किन कानून मन्त्रालयको राय माग्ने ? यसमा ती मन्त्रालय आफैंले निर्णय गर्ने हो। आइन्दा यस्ता कुरा लिएर मकहाँ नआउनू ।”

गाउँ सहर संवाददाता