गाउँ सहर

इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँ महानगरले भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने

काठमाडौँ । यस वर्षको इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँ महानगरले भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको छैटौँ बैठकले यस्तो निर्णय गरेको हो ।

२०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न महानगरले ६ वटा देशका १३ वटा नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो । त्यस निमन्त्रणालाई स्वीकार गरेर पर्व अवलोकन गर्न ५ वटा देशका ११ वटा नगरबाट ४ जना मेयर, उपमेयर/उपाध्यक्षसहित ४१ जना पाहुना सहभागी भएका थिए । त्यसपछिका वर्षहरुमा कोभिड १९ संक्रमणका कारण अन्तर्राष्ट्रिय सम्बन्ध भएका कुनै पनि नगरबाट कसैलाई पनि बोलाइएन ।

आजको बैठकमा ७ वटा प्रस्ताव थिए । यी प्रस्तावहरुमाथि छलफल गर्दै बैठकले ज्यापू महागुथि महानगर समितिबाट शिफारिस भइ आएका महानगरका ६३ वटा परम्परागत गुथि खलहरुलाई र वडा २५ को जनचिकित्सालयलाई आवश्यक उपकरण खरिदका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले वडा नं. १७ का अध्यक्ष तथा सूचना प्रविधि समितिका संयोजक नविन मानन्धरलार्य महानगरको प्रवक्तामा नियुक्त गरेको बैठकका अध्यक्ष एवं महानगरका प्रमुख शाहले जानकारी दिए ।

बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति दिएको छ । यसअघि बोलपत्र आव्हानका कार्य महानगरबाट मात्र हुँदै आएको थियो । गएको असार ८ गते पारित भएको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट पनि खुल्ला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ । यसका लागि खरिद नियमावली संशोधन गर्नुपर्ने भएको हो ।

बैठकले सामुदायिक कुकुर व्यवस्थापनका लागि सहकार्य गर्दै आएको मनुमित्र कार्यक्रमको म्याद १ बर्ष थप गरेको छ । कार्यक्रमको म्याद गएको असार १४ गते सकिएको थियो । महानगर क्षेत्रभित्र सडकमा डुलिरहने कुकर व्यवस्थापनका लागि मनुमित्र नाम दिएर कार्यक्रम थालिएको थियो । १६ मार्च २०१६ बाट ह्युमन सोसाइटी इन्टरनेशनल र द जान गुडल इन्स्टिच्युटले महानगरसँग सहकार्य थालेका थिए । ३ वर्षभित्र, सहरका कुकुर गणना गर्ने, खोप लगाउने तथा बन्ध्याकरण गर्ने र पशु अधिकारका लागि काम थालिएको थियो । औषधि प्राप्त गर्नेलगायत विभिन्न खालका समस्या भएपछि लक्षित अवधिमा काम सकिएको छैन ।

बैठकले वडा नं. ११ को बीमा संस्थानबाट राजस्व लिएर घर बाटो सिफारिस गरिदिने निर्णय गरेको छ । बीमा संस्थान खाद्य संस्थानको जग्गामा रहेकोले कसले राजस्व तिर्ने विषयमा अन्यौल थियो । यो विषय मन्त्री परिषदमा पुगेपछि त्यहाँबाट जग्गा छुट्याइदिने र राजस्व बीमा संस्थानले तिर्ने निर्णय भएको थियो । बैठकका अध्यक्षको अनुमतिबाट विषयका बारेमा जानकारी गराउँदै राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले, अहिलेसम्म खाद्य संस्थान र बीमा संस्थान दुवैले राजस्व नतिरेको बताए ।

बैठकमा बोल्दै प्रमुख शाहले, खुल्ला सीमाका कारण सामुदायिक कुकुर निर्मुल गर्न नसकिने भएकोले व्यवस्थापनमा काम गर्नुपर्ने बताए । ‘कुनै ठाउँमा कुकुर छैनन भने अर्को ठाउँबाट आएर कुकुर बसोबास गर्न थाल्छन । काठमाडौँलाई सामुदायिक कुकुर मुक्त बनाइयो भने छिमेकी जिल्लाबाट आउँछन् । त्यसैले उनीहरुलाई पनि सुरक्षित हुने र मानिसहरुलाई पनि असजिलो नहुने गरी व्यवस्थापनको काम गर्नु पर्छ ।’ प्रमुख शाहको भनाइ थियो ।

त्यस क्रममा बोल्दै उपप्रमुख सुनिता डंगोलले, इन्द्रजात्रामा भगिनी नगरका प्रमुख तथा प्रतिनिधि बोलाएपछि के गर्ने ? कसरी गर्ने ? कार्ययोजना बनाउनु पर्ने बताइन् । ‘कार्यपालिकामा उठेका कतिपय विषयहरु अन्य सामान्य समयमा छलफल गरेर समाधान गर्न सकिने खालमा पनि छन् । यसलाई व्यवहारिक कार्यान्वयनमा ल्याउनु पर्छ ।’ उपप्रमुख डंगोलको भनाइ थियो ।

बैठकमा कार्यपालिका सदस्यहरु हिरालाल तण्डुकार, प्रोम थापा, सरोज ढकाल, ईश्वरमान डंगोल, राजेन्द्रकमार श्रेष्ठ, चिनीकाजी महर्जन, मचाराजा महर्जन, भुवन लामा, दलबहादुर कार्की, विमलकुमार होडा, बालकृष्ण महर्जन, न्हुच्छेकाजी महर्जन, अनिता कार्की ढोलीलगायत कार्यपालिका सदस्यहरुले धारणा राखेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत