गाउँ सहर

पोखराको नर्मदेश्वर मोक्षाश्रमधाममा एक महिने अखण्ड हरिनाम संकीर्तन सुरु

पोखरा । पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को संगमस्थल मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधाममा एक महिने अखण्ड हरिनाम संकीर्तन आजदेखि सुरु भएको छ ।

ऋषिमुनिहरूको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको सङ्गमस्थलमा रहेको यस तीर्थस्थलमा यही साउन १ गतेदेखि महिनाभर लोक कल्याणको कामना गर्दै अखण्ड हरिनाम संकीर्तन सुरु गरिएको नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिका अध्यक्ष झविन्द्रराज आचार्यले बताए ।

अखण्ड संकीर्तनको एक कार्यक्रमका बीच आज शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा धार्मिक पर्यटनको पनि महत्वपूर्ण गन्तव्य भएको बताउँदै यहाँका धार्मिक एवम् सांस्कृतिक सम्पदाको संरक्षण र पर्वद्धनलाई जोड दिने बताए ।

स्वामी ऋषिप्रपन्नाचार्य जी महाराजले पछिल्ला समयमा धार्मिक क्षेत्रमा विभिन्न विकृति बढीरहेको बताउँदै संस्कृतिसँग जोडिएका मठमन्दिर, गाईको संरक्षणमा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका वडा अध्यक्षहरू वडा नं ७ का राममोहन आचार्य, २७ का पूर्णकुमार गुरुङ,  २९ का श्रीप्रसाद गुरुङ, ३१ का ढकनाथ कंडेल र ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, संरक्षण समितिका उपाध्यक्ष नारायणी चापागाइँ, सह कोषाध्यक्ष सुकमाया सुनार लगायतले निर्माणाधिन मन्दिरलाई पूर्णता दिनुपर्ने आवश्यकता औंल्याए ।

तीर्थस्थलको महत्वलाई थप उजागर गर्दै पूर्वाधार विकासका योजनालाई अघि बढाएको समितिले धाम परिसरमा द्वादश ज्योर्तिलिङ्गसहित जमिनमुनि १५ फिट गहिराइ, ३२ फिट लम्बाइ र १५ फिट चौडाइको गर्भगृहमा ११ फिट उचाइको श्री नर्मदेश्वर शिवलिङ्ग स्थापना गर्ने लक्ष्यका साथ आफ्नो कृयाशिलता बढाएको छ ।

बाह्र रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा सर्वेश्वर शिव, श्रीरामचन्द्र, श्रीकृष्ण आदि भगवान्का लीला शैलीमा आधारित कलात्मक मूर्ति रहने जनाइएको छ ।

मन्दिरको उचाइ जमिनको सतहबाट ४५ फिट र चौडाइ ५० फिट हुने र नेपाल आमा एवं अवतारी महापुरुषहरूको मूर्ति स्थापना गरी यस क्षेत्रकै अपूर्व दर्शनीय धाम बनाउने लक्ष्य राखिएको छ ।

समितिले धाममा साधु, सन्त, वृद्धवृद्धा, ब्रम्हचारी, बटुक र भक्तजनका लागि नित्य भोजन, आवासका साथै अन्य अतिथि तथा धार्मिक पर्यटकका लागि प्राथमिकतानुसार आतिथ्य भोजन उपलब्ध गराउँदै आएको छ । उक्त कार्यका लागि मुठ्ठीदानको आह्वान गरिएको छ ।

अध्यक्ष आचार्यका अनुसार समितिले धाममा गौशाला, विशाल अतिथिगृह, पोखरा तथा मुक्तिनाथमा आउनुहुने तीर्थालुका लागि सुविधासम्पन्न भवन, गौशाला, यज्ञमण्डप, १०८ शिवलिङ्ग, धर्मकुवा, महाकालेश्वर अखण्ड दीप, १०८ दीपलगायतको निर्माणका लागि लघु तथा गुरुयोजना अघि सारेको छ । धाममा वैदिक सनातन आधुनिक गुरुकुल पाठशाला स्थापनाको लक्ष्यसमेत राखिएको छ । गुरुयोजनानुसार पूर्वाधार निर्माणका लागि रु आठ करोड लागतको अनुमान गरिएको बताउँदै उनले लक्षित योजनामध्ये ४० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए ।

ऋषिमुनिहरूको प्राचीन तपोभूमिका रूपमा रहेको यस तीर्थस्थलको अस्तित्व कहिलेदेखि रहेको भन्ने अझै कुनै यकिन तथ्य भने अनुसन्धानकै क्रममा रहेको बताइन्छ । प्राचीनकालदेखि साधकहरूको अभिलाषा पूर्ण गर्ने तीर्थस्थलका रूपमा परिचित भए पनि यस तीर्थस्थलको आवश्यक प्रचारप्रसार भने हुन नसकेको अध्यक्ष आचार्यको गुनासो समेत रहेको छ ।

पितृतीर्थका रूपमा समेत रहेको यस धामका सम्बन्धमा केही रोक किंवदन्तीसमेत रहेका छन् । परापूर्वकालमा बरवृक्षको छहारीमा बसी तपस्या, साधना एवं यज्ञादि कार्य हुने भएकाले नर्मदेवर भगवान्लाई दायाँपारी बरवृक्षको समीप हुँदै बग्ने नदीलाई बरगाछी भनिएको र पछि अपभ्रंश भई बगादी भनिएको किंवदन्ती छ । यसै स्थलमा कुनै साधकले तपस्या र साधनाको माध्यमबाट विशेष धार्मिक पर्वमा अदृश्य पुजारीको माध्यमबाट पूजाअर्चना गर्ने गरेको र पूजाका लागि भक्तजन पुग्दा पूजा भइसकेको देखिने जनश्रुति अझै पनि कायमै छ । विसं २०७३ फागुन ११ गतेदेखि २१ गतेसम्म सन्त सम्मेलन गरिएको थियो ।धाममा वैशाख, साउन र माघे सङ्क्रान्तिका साथै शिवरात्रि, नवदुर्गा, हरिशयनी एकादशी, हरिबोधिनी एकादशी, रामनवमी आदि महत्वपूर्ण तिथिमा विशेष मेला लाग्ने गर्दछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत