गाउँ सहर

विश्वको जनसङ्ख्या आठ अर्ब नजिक

काठमाडौँ ।  विश्वको जनसङ्ख्या आठ अर्ब नजिक पुगेको छ । अहिले भने विश्वको जनसङ्ख्या सात अर्ब ९५ करोडभन्दा बढी छ । चार महिनापछि विश्व जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ ।

विश्व जनसङ्ख्या दिवसका अवसरमा आइतबार संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले आगामी कात्तिक २९ गते (नोभेम्बर १५) विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने तथ्य सार्वजनिक गरेको हो । सन् १९८७ जुलाई ११ मा विश्वको जनसङ्ख्या करिब पाँच अर्ब थियो । सन् १९८९ देखि संयुक्त राष्ट्र सङ्घले ११ जुलाईलाई विश्व जनसङ्ख्या दिवसका रूपमा मनाउन थालेको हो । नेपालमा पनि सोही वर्षदेखि मनाइँदै आएको छ ।

विश्व जनसङ्ख्याको तथ्याङ्क हेर्दा सातदेखि आठ अर्बको जनसङ्ख्या वृद्धिमा १० वटा देशले आधाभन्दा बढी योगदान गरेका छन् । यो वृद्धिमा भारतले सबैभन्दा ठूलो योगदान गरेको छ भने चीन र नाइजेरियाको वृद्धिदर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको कोषले जनाएको छ ।

राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा अहिले दुई करोड ९१ लाख ९२ हजार ४८० जनसङ्ख्या छ । आगामी कात्तिकभित्र जनगणनाको पूर्ण विवरण आउँदा करिब तीन लाख जनसङ्ख्या थपिएर र नेपालको जनसङ्ख्या दुई करोड ९४ लाख पुग्ने अनुमान गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत