वातावरण

काठमाडाैंबाट कहिले उठ्ला फाेहाेर ? अझै निस्केन समाधानकाे निकास, मेयर शाहकाे सक्रियता जारी

काठमाडौं । यतिबेला काठमाडाैं उपत्यकाका चाेक, सडकमा फाेहाेरका थुप्राेमात्रै देखिन्छन् । सर्वसाधारणहरू नाक थुन्दै हिँड्नुपरिरहेकाे छ । दुई हप्तादेखि फोहोर उठ्न रोकिएपछि सिङ्गै उपत्यका कुरूप देखिनुका साथै महानगर दुर्गन्धित बनेको छ । दुई हप्ताअघि सुरक्षाकर्मी तैनाथ गरेर बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न सुरु गरिए पनि स्थानीयवासीको अवरोधका कारण अहिले फोहोर व्यवस्थापन रोकिँदा काठमाडौँमा फोहोर थुप्रिन पुगेको छ । यसअघि फोहोर विसर्जन गरिँदै आएको सिसडोलको डम्पिङसाइटको व्यवस्थापन (पोस्ट क्लोजर) गर्नुपर्ने भन्दै बन्चरेडाँडामा पहिलो पटक फोहोर विसर्जन गर्न सुरु गरिएको थियो ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौँको फोहोर व्यवस्थापनका लागि आफूले हरसम्भव प्रयास गरिरहेको बताउँदै यसका लागि काठमाडौँ महानगरपालिकालगायतका निकायसँग निरन्तर छलफल गरिरहेको जानकारी दिइन् । उनले बन्चरेडाँडामा फोहोरको वैज्ञानिक व्यवस्थापन, सिसडोलको ल्यान्डफिल्ड साइटको ‘पोस्ट क्लोजर’ कसरी गर्ने, सिसडोल र बन्चरेडाँडाका स्थानीयवासीको माग कसरी सम्बोधन गर्ने, पासाङ ल्हामु राजमार्गअन्तर्गतको तीनपिप्लेदेखि बन्चरेडाँडासम्मको बाटो कसरी निर्माण गर्नेलगायतका विषयमा मन्त्रालयले विभिन्न सम्बद्ध निकायसँग छलफल गर्नुका साथै गृहकार्य गरिरहेको जानकारी दिइन् ।

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहका स्वकीय सचिव भूवदेव साहले काठमाडौँ महानगरको फोहोर व्यवस्थापनसम्बन्धमै महानगर प्रमुखले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहालसँग भेटेर छलफल गरेकाे बताए । त्यसैगरी फोहोर व्यवस्थापनका लागि कार्यदल गठन गरी काम अगाडि बढाइएको उनले जानकारी दिए । सोमबार बसेको महानगरको पहिलो कार्यपालिका बैठकले फोहोरमैला व्यवस्थापनका लागि महानगर प्रमुख साहको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो ।

त्यसैगरी फोहोर उत्सर्जन हुने स्रोत स्थलबाटै सड्ने र नसड्ने फोहोर छुट्याउने कामलाई अभियानका रूपमा अगाडि बढाउने, त्यसका लागि घर–घरमा सचेतना कार्यक्रम फैलाउने, ल्यान्डफिल्ड साइटहरूमा केमिकल प्रयोग गरेर दुर्गन्धरहित बनाउने, फोहोर व्यवस्थापनका लागि सम्बन्धित विज्ञहरूसँग छलफल गर्नेलगायतका काम महानगरले अगाडि बढाएको स्वकीय सचिव साहले बताए ।

ककनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष घननाथ बजगाईंले काठमाडौँ महानगर र सरकारले १७ वर्ष अघिदेखिको माग पूरा नरेकाले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयवासीले फोहोर व्यवस्थापनमा अवरोध पु¥याएको बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत