दृष्‍टिकोण

विश्लेषक अंगराज तिमल्सिनाकाे दृष्टिमा स्थानीय निर्वाचन परिणामका ९ सन्देश

पालिकाहरुले नयाँ नेतृत्व पाएसँगै नेपालको संघियताले अर्को खुट्किलो पार गरेको छ । अमेरीकातिर भनिन्छ, "All politics is local" भनेको स्थानीय मुद्दाले अक्सर स्थानीय राजनीतिलाई प्रभाबित गर्छ तर मेरो बुझाइमा यो स्थानीय निर्वाचनको परिणामबाट निम्न निष्कर्ष निकाल्न सकिन्छ । तपाईको बुझाई पनि थप्दै जाउँ:

१. काठमाडाैं, धरान, घनगढी वा जनकपुरमा "बालेनहरु" उदाउनु अर्थात महानगर, उप-महानगर सहित १३ वटा पालिका प्रमुखको नेतृत्व स्वतन्त्र उम्मेद्वारले लिनु र देशभरी झण्डै ४०० जना स्वतन्त्र उम्मेद्वार अनुमोदित हुनुमा एकातिर संस्थापन पक्षको राजनीति र रोजाइप्रती जनताको बिद्रोह हो भने अर्कोतिर अहिलेका मुख्य पार्टीहरुलाई भबिश्य बोकेका र जनतासँग जोडिन सक्ने उम्मेद्वार ल्याउ भन्ने सन्देश पनि हो ।

२. काठमाडाैंमा परम्परागतरुपले हामी नै यहाँका रैथाने हुँ, त्यसैले हामीले नै यहाँको राज गर्ने अधिकार राख्छौं अर्थात रैथानेलाई टिकट दिए मात्र चुनाव जित्न सकिन्छ भन्ने मानसिकता बालेनले तोडे । बास्तबमा अहिलेको काठमाडाैंमा २०-३० वर्ष पहिलेको नगरपालिका होईन । यो देशभरीको नेतृत्व गर्ने "Metropolitan City” हो ।

३. अरुलाई गाली वा बिरोधको गरेर मात्र राजनीति हुन्छ भन्ने मानसिकता भन्दामाथी बालेनको सराकात्मक राजनितिक सोच र चुनावी प्रचार-प्रसारले धेरै काम गर्‍यो । जात, रंग वा भाषा होइन कि सकारात्मक सोच र देश बनाउने धुक्धुकी भए मधेसीले पहाडमा वा पहाडीले मधेसमा नेतृत्व लिन सक्छ भन्ने ज्वलन्त उदाहरण दिएर बालेन राष्ट्रीय एकताका प्रतिक बने । एकताका अमेरीकामा समेत ओबामालाई “Not Black Enough” भन्नेहरु थिए । बालेनलाई पनि न काठमाडाैंप्रति लगाब न त मधेसप्रति लगाब भन्न नखोजिएको होईन ।

४. अर्कोतिर बालेनहरुको उदय युवा पुस्ता र समग्रमा धेरै नेपालीले आशाको राजनीति, सकारात्मक सोचको राजनीति, भविष्यमुखी र सुसंस्कृत राजनीतिको अपेक्षा गर्छन भन्ने सन्देश पनि हो । देशका मुख्य राजनितिक पार्टीको पालिकाका कार्यपालिका र बिधायिकमा बहुमत भएकाले बालेनहरुले सबैसँग मिलेर काम गर्नु पर्ने चुनौती त छ नै, राम्रो काम गर्न अबरोध भएमा निर्णय प्रकृया र छलफललाई पूर्ण पारदर्शी र जनतालाई उक्त प्रकृयामा सहभागी बनाउने अबसर पनि छँदैछ । एक थरीले अहिले नै बालेनहरुको बिरोध गर्नु राम्रो होईन । कामका आधारमा मूल्याँकन गर्दै जाउँ ।

५. ४२ प्रतिशत जनप्रतिनिधि ४० वर्षमुनिका जितेर आउनु नेपालको भविष्यका लागी शुभ-संकेत हो । राजनीतिमा युवाको आकर्षण मात्र बढेको छैन्, यसले देशकालागी केही गरौं भन्ने युवा पङ्ति जाँगर र जोशको पनि प्रतिनिधित्व भएको छ । आशा गरौँ यही रुझान संघीय र प्रदेशको चुनावमा पनि जारी रहोस् ।

६. २०७४ को निर्वाचनको तुलनामा एमालेलाई यसपालि महानगर र उपमहानगरमा क्षति भयो भने कांग्रेसको 'पपुलर मत' झन्डै ६ प्रतिशत बढ्दा एमालेको ८ प्रतिशत जतीले घट्यो भनिन्छ। गठबन्धनले फाइदा बेफाइदा के गर्‍यो भन्ने बहस आफ्ना ठाँउमा छँदैछ तर गत ४ बर्षमा केन्द्र, ६ प्रदेश र धेरै स्थानीय सरकारको नेतृत्व गर्ने नेकपा (वा एमाले) का कामप्रतिको जनताको मुल्याँकन पनि हो । अर्कोतिर कांग्रेस वा माओवादी हारेका पालिकामा समेत यस्तै मुल्याँकन भएको देखिन्छ ।

७. यसपालिको चुनाबमा पुराना र नयाँ दुबै चुनिएर आएका छन । अहिले १४२ पालिकामा मात्रै पूराना मेयर र अध्यक्ष दोहोरिएका छन् भने २०६ जती यसअघि जितेकाले चुनाव हारे । भन्नुको अर्थ राम्रो गर्ने पुन: चुनिए भने पहिला सन्तोषजनक काम नगर्नेहरु हारे । बिद्रोही उठेको भन्ने वा अन्तर्घात भयो भन्नु एउटा तर्क होला तर यथार्थ यही हो । तसर्थ देशका मुख्य पार्टीहरुले भबिश्यामा राम्रो काम गरेकालाई दोहोर्याएर टिकट देउ र सन्तोषजनक काम नगरेकालाई टिकट नदेउ भन्ने सन्देश पनि हो ।

८. यो स्थानीय निर्वाचनमा समग्रमा महीलाको प्रतिनिधित्वमा असर पर्‍यो । पाँच बर्ष अगाडी करिब ७ सय पालिकामा महिला उपप्रमुख-उपाध्यक्ष थिए । यस पटक करिब ५ सय ५० जतिमा मात्रै महिला उपप्रमुख-उपाध्यक्ष चुनिएका छन् । गठबन्धनका कारण समग्रमा महिला सहभागिता र नेतृत्व बिकासमा घाटा लागेको छ । संबिधान अनुसार प्रमुख र उप-प्रमुख, मेयर र उपमेयरमध्य एक महिला हुनुपर्ने प्रावधान मिचियो तर स्थानीय तहको निर्वाचनबाट २५ पालिकाको नेतृत्वमा महिला छानिएका छन् । अघिल्लो निर्वाचनमा १८ पालिकाको प्रमुख अध्यक्षमा महिला थिए ।

९. यो पटक केही गठबन्धनका कारण, केही निर्वाचन प्रकृया सम्बन्धी जागरणको कमीका कारण, केही "नो भोट्' को 'अप्सन्' नभएका कारण त केही नयाँ प्रबिधि नअप्नाइएका कारण धेरै मत बदर भए । केही पालिकामा जित्ने भन्दा बदर हुने मत धेरै भएकाले हाम्रो निर्वाचन प्रकृया र प्रणालीमा आमूल सुधार गर्न जरुरी छ । भारतदेखी अरु धेरै देशमा "इलेक्ट्रोनिक भोटिङ्" हुन्छ्, हामीले किन न सोच्ने ?

तपाईँको मत