राजनीति

विवेकशील साझाको काठमाडौं महानगरपालिका उम्मेदवारकाे प्रतिज्ञापत्र सार्वजनिक

 

विवेकशील साझाले काठमाडौँ महानगरपालिका लागि चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । शनिवार पत्रकार सम्मेलन मार्फत आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयरका उम्मेदवार सहित प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा सो पार्टीका तर्फबाट मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरको तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

३८ वर्षीया बास्कोटा कानूनमा स्नातकोत्तर हुन् भने ६२ वर्षीया तुलाधर अन्तर्राष्ट्रिय जेजीजको पहिलो दक्षिण एसियाली महिला उपाध्यक्ष थिइन् ।

समीक्षा बास्कोटा (मेयरको उम्मेदवार)

समीक्षा बास्कोटा विवेकशील साझा पार्टी, बागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन्। ३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छिन्। उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार समेत बनेकी थिइन्। २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।

कीर्ति तुलाधर (उपमेयरको उम्मेदवार)

कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन्। उनी नेपाल जेसीजको आजसम्मका तीन जना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन्। उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एसियाबाटै पहिलो महिला उपाध्यक्ष हुन्। शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न सङ्घ-संगठनको नेतृत्वदायी भूमिकामा छिन्।

मूल एजेन्डा

  • भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह
  • सुलभ, व्यवस्थित, विद्युतीय यातायात
  • नेवा: कला-संस्कृतिको पुनर्जागरण (Renaissance)
  • खुला क्षेत्रको संरक्षण र विस्तार
  • नदीनालाको सफाइ र पुनर्स्थापना
  • सफा र व्यवस्थित काठमाडौँ
  • गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा

भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह:

  • महानगर तथा वडा कार्यालयमा हुने गरेका भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइनेछ।
  • महानगर र वडाबाट हुने अधिकांश कामलाई डिजिटलाइज गरी सेवाग्राही सकभर कार्यालयमा धाउनै नपर्ने र घरबाटै सम्पन्न गर्ने व्यवस्था मिलाइनेछ।
  • महानगरका कर्मचारीहरूको प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम र प्रशिक्षणको व्यवस्था गरिनेछ।
  • सेवाग्राहीसँग विनयशील र मर्यादित रूपमा प्रस्तुत हुन कर्मचारीहरूलाई तालिम दिइने छ र योग तथा ध्यानमा सरिक हुन प्रेरित गरिनेछ।
  • महानगर र वडा कार्यालयहरूलाई ज्येष्ठ नागरिक र अपाङ्गतामैत्री बनाउँदै सेवा प्रवाहमा प्राथमिकता दिइनेछ।
  • महानगरपालिकाभित्र दलीय पेशागत संगठन तथा सुशासनमा अवरोध पुर्‍याउने दलीय राजनीतिक गतिविधिलाई निरुत्साहित गरिनेछ।

सुलभ, व्यवस्थित यातायात, विद्युतीय सवारी प्रवर्द्धन

  • निजी क्षेत्रसँगको सह-लगानीमा काठमाडौँभित्र बिजुलीले चल्ने ठुला तथा मझौला आकारका सार्वजनिक यातायात व्यवस्थित र भरपर्दो ढंगले सञ्चालन गरिनेछ।
  • ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सरकारी कर्मचारी र विद्यार्थीहरूलाई महानगरको संलग्नतामा संचालन गरिने सार्वजनिक यातायातको प्रयोग नि: शुल्क गरिनेछ।
  • डिजेल र पेट्रोलबाट चल्ने सार्वजनिक यातायातलाई क्रमशः विस्थापित गर्दै लगिनेछ। बिजुलीले चल्ने यातायातमा रूपान्तरण गर्ने संस्था/कम्पनीलाई महानगर अन्तर्गतका सबै कर तीन वर्षका लागि मिनाहा गरिनेछ।
  • महानगरमा बढ्दो ट्राफिक जामको समस्या कम गर्न र काठमाडौँको सार्वजनिक यातायात प्रणालीलाई थप प्रभावकारी बनाउन केवल कार, मेट्रो रेल, द्रुत बस जस्ता प्रणालीहरूको प्राविधिक, आर्थिक र वातावरणीय पक्षहरूको सूक्ष्म अध्ययन गरि विस्तृत परियोजना प्रतिवेदन यथाशीघ्र तयार गरि काम सुरु गरिनेछ।
  • संघीय र प्रदेश सरकारसँगको समन्वयमा महानगरभित्र सवारी साधनको प्रदूषण जाँचमा कडाइ गरिनेछ। यसको लागि प्रविधिको प्रयोगले हरियो स्टिकर दिने बेला हुन सक्ने अनियमित क्रियाकलाप कम गर्ने, हरियो स्टिकर दिने काममा केही निजी क्षेत्रलाई समेत सहभागी गराउने र बाटो बाटोमा धेरै धुवाँ फाल्ने गाडीहरूको छड्के जाँच गरिनेछ।
  • महानगरपालिकाले नयाँ सवारी साधन विद्युतीय मात्र खरिद गर्नेछ।
  • महानगरभित्रका सडकहरूलाई बढीभन्दा बढी साइकल, पैदल यात्री र अपाङ्गतामैत्री बनाइने।
  • बसपार्क, बस बिसौनी, सार्वजनिक पार्किङ क्षेत्रको भरपर्दो व्यवस्थापन गरी निजी क्षेत्रसँगको सहकार्यमा महानगरका विभिन्न क्षेत्रमा बहुतल्ले पार्किङ भवन निर्माण र सञ्चालन गरिनेछ। 

नेवा: कला-संस्कृतिको पुनर्जागरण (Renaissance):

  • स्थानीय गुठी संरक्षण समितिहरू परिचालन गरी विभिन्न धार्मिक स्थलहरूको स्वच्छता र पवित्रता कायम गर्ने व्यवस्था मिलाइनेछ।
  • चाडपर्व, जात्रा, मेला, नाचगान, भजन-कीर्तन, वाद्यवादन जस्ता परम्परागत सांस्कृतिक अभ्यासहरूको संवर्द्धन र प्रवर्द्धन गरिनेछ।
  • परम्परागत ढुङ्गे धारा/हि:तीको संरक्षण र पुनर्स्थापना गरिनेछ।
  • काठमाडौँलाई जीवन्त शहरी सङ्ग्रहालय (Living Urban Museum) का रूपमा विकास गर्दै नेवा: कला संस्कृतिको पुनर्जागरण (Renaissance) गरिनेछ।
  • ऐतिहासिक सम्पदा क्षेत्रहरूको संरक्षण र पुनरुत्थान गरिनेछ।
  • नेवा: धार्मिक, ऐतिहासिक र सांस्कृतिक केन्द्र तथा बस्तीहरूमा घरका अग्र भागहरूलाई नेवा वास्तुकला झल्किने गरी पुनर्निर्माण गर्न महानगरपालिकाले सहयोग प्रदान गर्नेछ। ती क्षेत्रहरूमा बन्ने नयाँ संरचनाहरूको बाह्य मोहडा नेवा: वास्तुकला अनुरूप हुनुपर्ने व्यवस्था गरिनेछ।

खुला क्षेत्रको संरक्षण र विस्तार:

  • महानगर अन्तर्गतका सार्वजनिक जमिनहरू पहिचान गरी हरेक वडामा नयाँ सार्वजनिक पार्कहरू निर्माण गरिनेछ। त्यस्ता पार्क हरियालीयुक्त बनाइनुका साथै व्यायाम / योग / ध्यानका लागि अनुकूल बनाइनेछ।
  • महानगरका विभिन्न स्थानमा उपलब्ध तर कतिपय निकायद्वारा अनधिकृत कब्जा गरिएका क्षेत्रलाई खुला क्षेत्रका रूपमा पुनर्स्थापित गरिनेछ।
  • काठमाडौँको कतिपय भित्री क्षेत्रमा निश्चित समयका लागि सवारी निषेध गरी पर्यटक लक्षित आकर्षक बजार क्षेत्र र स्थानीयवासीको लागि सार्वजनिक स्थलको विकास गरिनेछ।
  • धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलहरूको वरिपरि खुला क्षेत्रको दायरा बढाइनेछ।
  • महानगरको केन्द्रमा रहेको रानीपोखरी, खुलामञ्च र टुँडिखेलको संरक्षण, संवर्द्धन र सौन्दर्यीकरण गरिनेछ।

नदीनाला, पोखरीहरूको सफाइ र पुनर्स्थापना:

  • महानगरभित्रका नदीनाला, धारा, पोखरीको नियमित सरसफाइ, संरक्षण र पुनर्स्थापना गरिनेछ।
  • फोहोर पानी प्रशोधन गरि नदीहरू सफा बनाउन संघीय सरकारको सहकार्यमा फोहोर पानी प्रशोधन केन्द्रहरूको निर्माण, संचालन र मर्मत सम्भारमा विशेष जोड दिइनेछ। 
  • ढुङ्गे धारा, इनार, पोखरी जस्ता परम्परागत पानीका स्रोतहरूको संरक्षण गरिने छ।
  • घरघरमा र साथै सार्वजनिक स्थानमा आकासे पानी सङ्कलन र पुनर्भरण अभियान संचालन गरिने छ। 
  • बागमती, विष्णुमती, रुद्रमती लगायतका खोला किनारमा सङ्घीय सरकारसँगको समन्वयमा ग्रिन बेल्ट, जगिङ र साइकल ट्र्याक निर्माण गरिनेछ।

सफा र व्यवस्थित काठमाडौँ:

  • काठमाडौँ उपत्यकामा विकराल बनेको वायु प्रदूषण नियन्त्रण गरि महानगरवासीको स्वास्थ्यमा सुधार ल्याउन महानगरले नेपाल सरकारद्वारा स्वीकृत "काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्य योजना, २०७६" कार्यान्वयन गर्न योजना बनाइ काम अगाडी बढाउने छ।
  • कुहिने र नकुहिने फोहोरलाई घरघरबाटै अलग-अलग दिन सङ्कलन गरी कुहिने फोहोरबाट जैविक मल बनाइनेछ। र, नकुहिने फोहोरलाई सम्भव भए सम्म पुन:प्रयोग गरिने छ। उक्त कार्यका लागि निजी क्षेत्रसँग सहकार्य गरिनेछ।
  • पुनः प्रयोग गर्न नमिल्ने फोहोरलाई मात्र ल्याण्डफिल्ड साइटको स्थायी समाधान उच्च प्राथमिकताका साथ गरिनेछ।
  • महानगरभित्रका सबै सार्वजनिक पार्कमा सफा, व्यवस्थित, अपाङ्गतामैत्री सार्वजनिक शौचालय व्यवस्था गरिनेछ। त्यसका अलावा महानगरभित्र अन्य उपयुक्त स्थान पहिचान गरी पहिलो वर्षमै कम्तिमा ५० वटा सार्वजनिक शौचालय बनाइने र हरेक वर्ष थप्दै लगिनेछ।
  • महानगरवासीका लागि सामुदायिक खेल मैदानसहित विविध खेलकुद सुविधाको निर्माण गरिनेछ।
  • महानगरका विभिन्न स्थानमा विपद् व्यवस्थापन केन्द्र स्थापना र सञ्चालन गरिनेछ।
  • कौसी खेती तथा अन्य आधुनिक ग्रिन इन्जिनियरिङ प्रविधिको प्रवर्द्धन गरिनेछ।
  • महानगरपालिकाले हरेक वर्ष २५ हजारभन्दा बढी वृक्षारोपण गर्नेछ।
  • काठमाडौँ महानगरभित्र प्लास्टिक प्रयोगलाई हदैसम्म न्यूनीकरण गरिनेछ।
  • सडकमा व्यवसाय गर्नेहरूलाई वैकल्पिक स्थानहरूको व्यवस्था गरिनेछ।

गुणस्तरीय शिक्षास्वास्थ्य र सामाजिक सुरक्षा:

  • महानगरपालिकाको बजेटमा शिक्षालाई उच्च प्राथमिकता दिई उल्लेख्य रकम वृद्धि गरिनेछ।
  • सामुदायिक विद्यालयहरूमा १२ कक्षासम्मको शिक्षा नि:शुल्क गरिनेछ।
  • महानगरभित्रका सामुदायिक विद्यालयका भौतिक संरचनाको स्तरोन्नति गर्नुका साथै प्रधानाध्यापक तथा शिक्षकहरूको दक्षता अभिवृद्धिका लागि स्वदेशमै वा आवश्यकता हेरी देशबाहिर समेत प्रशिक्षणमा पठाउने व्यवस्था गरिनेछ।
  • साथसाथै सामुदायिक विद्यालयका इच्छुक शिक्षकहरूलाई गोल्डेन ह्याण्डसेक दिएर नयाँ दक्ष शिक्षकहरू नियुक्त गरिनेछ।
  • विद्यालयहरूमा रचनात्मक सिकाइका साथै नैतिक शिक्षा, खेलकुद, नाटक, गीत-सङ्गीत, योग/ध्यान आदिमा उल्लेख्य लगानी गरिनेछ।
  • सृजनशील र प्रयोगात्मक शिक्षा जस्तै विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (STEM) को लागि विद्यालयमा स्तरीय शैक्षिक स्रोत र शिक्षक तालिमको व्यवस्था गरिनेछ।
  • महानगरभित्रका सबै विद्यालयमा जैविक कृषिबारे विद्यार्थीलाई सिकाइनेछ।
  • निजी क्षेत्रको ज्ञान, सीप र सेवालाई सार्वजनिक शिक्षामा समाहित गर्ने व्यवस्था गरिनेछ।
  • हरेक सामुदायिक विद्यालयमा उद्यमशीलताको कक्षा अनिवार्य संचालन गरिनेछ।
  • सार्वजनिक शिक्षाको गुणस्तर बढाउन नेपालबाहिर गरिएका उत्कृष्ट अभ्यासहरूबाट सिक्न आवश्यक समन्वयको पहल गरिनेछ।
  • बिमासहितको नियमित स्वास्थ्य परीक्षण प्रवर्द्धन गरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताका लागि लगानी, अनुगमन र नियमन गरिनेछ।
  • महानगरका हरेक वडामा प्राथमिक उपचार र आधारभूत स्वास्थ्य परीक्षण नि:शुल्क हुने गरी "वडा क्लिनिक" सञ्चालन गरिनेछ।
  • मातृ-शिशु र ज्येष्ठ नागरिकको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति र सुविधा वृद्धि गरिनेछ।
  • सबै उमेर समूहका नागरिकको मानसिक तथा मनोसामाजिक स्वास्थ्यका लागि स्वास्थ्य केन्द्रमा विशेषज्ञहरूको व्यवस्था गरिनेछ।
  • महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र तेस्रो लिङ्गीको विशेष आवश्यकता पुरा गर्ने खालको सेवा सुविधाको व्यवस्था गरिनेछ।
  • अनाथ, असहाय बालबालिका तथा नागरिकहरूलाई नि:शुल्क आवास सहित पूर्ण रेखदेखको व्यवस्था मिलाइनेछ।
  • अध्ययनरत तथा कामकाजी महिलाहरूका लागि शिशु स्याहार तथा रेखदेख केन्द्र व्यवस्था गरिनेछ।

गाउँ सहर संवाददाता

तपाईँको मत