एनआरएनएलाई सीप र पुँजी नेपालको विकासमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान, अध्यक्षमा तीन जना चयन
- १४ चैत सोमबार, २०७८ | ०७:०३:०० मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई नेपालको विकास र रुपान्तरणका निम्ति लगानी गर्न गैरआवासीय नेपाली समुदायलाई आह्वान गरेका छन्।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १० औँ विश्व सम्मेलन तथा महाधिवेशनको समापन समारोहलाई आइतबार सम्बोधन गर्दै उनले विश्वभर छरिएर बसेका नेपालीको असङ्गठित पुँजी र प्रविधिलाई सङ्गठित बनाउन आवश्यक रहेको बताए।
‘विश्वभर छरिएर बसेका नेपालीको असङ्गठित पुँजी र प्राविधिक ज्ञानलाई सङ्गठित र एकत्रित गरी मुलुकको आर्थिक विकासमा परिचालन गर्न अब गैरआवासीय नेपाली सङ्घले निश्चित कार्ययोजना र रणनीति नै बनाएर अघि बढ्न आवश्यक छ भन्ने मलाई लागेको छ,’ उनले भने।
प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीको लगानीलाई मुलुकको समृद्धि र नवनिर्माणको खातिर उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानूनी सुधार गरी सहजीकरण गर्दै आइरहेको उल्लेख गरेका थिए।
उनले यसलाई आगामी दिनमा पनि क्रमशः सुधार गर्दै गैर आवासीय नेपालीले सहजरूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गरिने विश्वास दिलाए।
‘गैरआवासीय नेपालीको लगानीलाई मुलुकको समृद्धिका खातिर लगानीको सहज वातावरण बनाउन सरकारले नीतिगत सुधार र कानूनी सहजीकरण गर्दै आएको छ, आगामी दिनमा पनि नेपालीले सहजरूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गरिनेछ,’ उनले भने।
प्रधानमन्त्री देउवाले मुलुकको तीव्र रूपान्तरण र दिगो विकासका लागि आधुनिक र गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण हुन आवश्यक रहेको र त्यसका निम्ति मुलुकमा ठूला विद्युत् आयोजना, सडक, टनेललगायत परियोजना कार्यान्वयन गर्न पुँजी र प्रविधि दुवैको उच्च खाँचो औँल्याए।
प्रधानमन्त्री देउवाले विसं २०७२ को महाभूकम्पका बेलामा उद्धार तथा राहत र पुनःनिर्माण तथा कोभिड–१९ को महामारीका बेलामा मेडिकलजन्य उपकरण र स्वास्थ्य सामग्रीको सहयोगलगायत योगदान सह्राहनीय रहेको भन्दै नेपाल र नेपालीलाई अप्ठ्यारो परेको बखत गैरआवासीय नेपाली सङ्घबाट प्राप्त साथ, सहयोग र समन्वयप्रति सरकारकोतर्फबाट आभार व्यक्त गरेका थिए।
प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीले विदेशमा नेपाली भाषा, संस्कृति, परम्परा, कलाकृति र साहित्यको प्रचारप्रसार गर्न र भावीपुस्तामा हस्तान्तरण गर्नसमेत उपयोगी सेतुको काम गरेको उल्लेख गरेका थिए।
उनले आगामी दिनमा पनि निरन्तरता दिँदै विदेशी भूमिमा पनि नेपाली माटो र नेपाली संस्कृतिलाई प्रवद्र्धन गर्न सङ्घले आफ्ना क्रियाकलापलाई सशक्तरूपमा अघि बढाउने विश्वास व्यक्त गरेका थिए।
प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली सङ्घका मागप्रति सरकार संवेदनशील रहेको र उनीहरूको नेपाल आवागमनमा सहजीकरणदेखि लिएर लगानी र सम्पत्तिको संरक्षण गर्नेसम्मका काममा सरकार सधैँ सकारात्मक रहेको बताए।
अध्यक्षमा तीन जना चयन
विश्वसम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र डा. बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ ।
करिब ६ महिनादेखि चल्दै आएको विवाद का कारण दशौँ महाधिवेशन तथा निर्वाचन गर्न नसकिरहेको एनआरएनएले अन्ततः सहमति जुटाएर एकताको महाधिवेशन सम्पन्न गरेको हो ।
तिन अध्यक्षको व्यवस्था र केही पद थप गर्दै विधान संशोधन गरेर संघले नयाँ कार्यसमिति चयन गरेको हो । अर्को पटकलाई नजिर नबस्ने गरी बाँकी रहेको १८ महिने कार्यकालमा पहिलो अध्यक्षता तीनवटै अध्यक्षले गर्ने, त्यसपछिको ६ महिना आचार्य, ६ महिना थापा र समापनको अन्तिम ६ महिना केसीले अध्यक्षता गर्ने व्यवस्था गरिएको छ ।
अध्यक्षमा निर्वाचित तिनै जनालाई निवर्तमान अध्यक्ष कुमार पन्तले समापण समारोहमै पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. हेमराज शर्मा, महेश श्रेष्ठ, भुषण घिमिरे, डिबी क्षेत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ (रोविन्द), जयप्रकाश गुरुङ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा, यस्तै महिला उपाध्यक्षमा डा. विष्णुमाया परियार र याश्मिन वेगम तथा युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन ।
यस्तै महासचिवमा गौरीराज जोशी र केशव पौडेल, उपमहासचिवमा गणेश केसी, डा. देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी, सचिवमा चिरञ्जिीवि घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रविण गुरुङ, शंकर खडका, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठि तथा महिला सचिवमा डा. अलिलि पोखरेल र टिका गुरुङ चयन भए ।
कोषाध्यक्षमा सुनिल शाह, लोक दाहाल र फणिन्द्रमणि पोखरेल सहकोषाध्यक्षमा दिपक शर्मा, होम गौतम, कृष्ण तिमिल्सिना, लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदी चयन भए । यस्तै महिला सहकोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन भएका छन् ।
यस्तै युवा संयोजकमा अब्दुल वासीद र रविन्द्र खडका तथा महिला संयोजकमा विमला सापकोटा र संगिता मरहठ्ठा चयन भए । प्रवक्तामा सोम सापकोटा र शिव बडुवाल चयन भएका छन ।
संशोधित विधानअनुसार अध्यक्ष ३, उपाध्यक्ष ११,महासचिव २,उपमहासचिव ६, सचिव १० जना हुने व्यवस्था गरिएको छ । त्यस्तै कोषाध्यक्ष ३, सह-कोषाध्यक्ष ८, महिला सहकोषाध्यक्ष-३, प्रवक्ता २ जना हुने व्यवस्था गरिएको छ ।
संसोधित विधानअनुसार महिला संयोजक २,युवा संयोजक २,क्षेत्रीय संयोजक २, क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५ को व्यवस्था गरिएको छ ।
क्षेत्रीय महिला संयोजकको संख्या बढाएर ३ जना, क्षेत्रीय युवा संयोजक २, क्षेत्रीय महिला उपसंयोजक २ र क्षेत्रीय युवा संयोजक २ जना हुने व्यवस्था गरिएको छ ।
संसोधित विधान अनुसार एनआरएनको पदाधिकारी संख्या नै ९५ जनाको हुने छ ।
प्रतिकृया दिनुहोस