प्रविधि

एफटीटीएच उपलब्ध नभएका सुगम र अधिकांश दुर्गम स्थानहरुमा टेलिकमकाे द्रूत गतिको डाटा तथा भ्वाइस सेवा

काठमाडाैँ । एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलइटी नमस्ते वाईफाई विस्तार गर्ने भएको छ ।

कम्पनीले फोरजी एलइटी नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराईरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रा.लि.बीच सम्झौता सम्पन्न भएको छ । हिजो (२०७८ माघ ५ गते) सम्पन्न सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रा.लि. का सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छनभएको छन् ।

एलइटी नमस्ते वाईफाईमार्फत नेपाल टेलिकमले हाल इन्डिभिजुअल प्याकेज र गभर्मेन्ट इन्स्टीच्यूसन प्याकेज गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ । इन्डिभिजुअल प्याकेज अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक रु. ८०० मा ६० जिबी  ३० दिनका लागि उपलब्ध छ । त्यसैगरी १ वर्षका लागि रु. ९००० मा ७२० जिबी प्याक उपलब्ध छ । यसलाई प्रतिमहिना ६० जिबी को दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु. ४०० मा १५ दिनका लागि ६० जिबी प्याक लिन सकिने कम्पनीले बताएकाे छ । 

टेलिकमका अनुसार होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत रु. १,२०० मा १२० जिबी प्याक ३० दिनको लागि उपलब्ध हुन्छ । त्यसैगरी १ वर्षका लागि रु. १३,५०० मा १,४४० जिबी प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १२० जिबी को दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु. ६०० मा १५ दिनका लागि १२० जिबी प्याक लिन सकिन्छ । 

गभर्मेन्ट इन्स्टीच्यूसन प्याकेज मा रु. ३,६५० र रु. २,१०० मा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको उसले प्रष्ट पारेकाे छ ।

गाउँ सहर संवाददाता