स्वास्थ्य

सिटामोल किन पाइएन ? जनताकाे जीउ-ज्यानभन्दा अरू हुन सक्दैन, अघिल्लाे वर्षकाे बेदना यसपटक दाेहाेरिनु हुँदैन

काठमाडौँ । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४७ हजार ९२९ पुगेकाे छ । काठमाडौँ उपत्यकामा मात्रै ३० हजार २०८ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमितमध्ये ४६ हजार ५१५ जना होम आइसोलेसन छन् । त्यस्तै एक हजार ४१४ जना संस्थागत आइसोलेसन रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये आइसीयूमा १६९ र भेन्टिलेटरमा २८ जना उपचाररत छन् । १२६ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रदेश अनुसार प्रदेश १ मा २३ जना आइसीयू र आठ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । प्रदेश २ मा तीनजना आइसीयूमा, बागमती प्रदेशमा ९७ आइसीयूमा र १८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै, गण्डकी प्रदेशमा १७ जना आइसीयूमा उपचाररत छन् । लुम्बिनी प्रदेशमा २३ जना आइसीयुमा, कर्णाली प्रदेशमा एक जना आइसीयूमा उपचररत छन् । सुदूरपश्चिममा पाँच जना आइसीयू र दुई जना भेनन्टलेटरमा उपचाररत छन् ।

मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलानचोक, कास्की, बाँके, रुपन्देही र कैलालीसहित १३ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार धनुषा, पर्सा, नवलपरासी पूर्व, दाङ र कञ्चनपुर गरेर पाँच जिल्लामा दुईभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लाे २४ घण्टामा मात्रै दुबै विधि गरेर २३ हजार ४०९ जनाकाे परीक्षण गर्दा ११ हजार ३५२ जनामा काेराेना पुष्टि भएकाे छ जुन अहिलेसम्मकै उच्च भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६१३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा चार जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६२८ जनाको मृत्यु भइसकेकाे छ । केहि समययता काेराेनाबाट मृत्यु हुनेकाे संख्या शुन्यबाट क्रमशः उकालाे लाग्न थालेकाे छ ।

कोभिड सङ्क्रमण दैनिजक बढिरहेकाले सबै सङ्घसंस्थाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने मन्त्रालयका सहप्रवक्ता अधिकारीको भनाइ छ । सभा, सम्मेलन र भेला सकेसम्म ‘भर्चुअल’ गर्ने र भौतिक उपस्थितिमै गर्नुपरेमा २५ जनासम्म मात्रैको उपस्थितिमा गर्नुपर्नेमा मन्त्रालयले अनुराेध गरेकाे छ ।

उता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेडरोज आध्यनोमले कोरोनाभाइरसको महामारी निकट भविष्यमा अन्त्य हुने सम्भावना नरहेको बताउँदै नयाँ भेरिअन्ट ओमिक्रोनले तुलनात्मक रुपमा गम्भीर बिरामी बनाउने सम्भावना कम देखिनुलाई भाइरसमाथिको जीतका रुपमा बुझ्न नहुने उनले बताएका छन् ।

उनले विश्वका नेताहरुलाई चेतावनी दिँदै महामारी अहिले नै सकिने सम्भावना नरहेको भन्दै सक्रिय भएर महामारीविरुद्ध लाग्न आग्रह गरेका हुन् । पछिल्लो समय युरोपका विभिन्न देशमा ठूलो संख्यामा संक्रमित थपिइरहँदा उनले याे कुरा चेतावनीस्वरूप पत्रकार सम्मेलनमा बताएका हुन् ।

डब्लुएचओको जेनेभास्थित हेडक्वार्टरमा भएको पत्रकार सम्मेलनमा डा. आध्यनोमले गएको हप्ता विश्वभर ओमिक्रोन भेरिअन्टबाट संक्रमित हुनेको संख्या एक करोड ८० लाख रहेको बताए । ओमिक्रोनका कारण अस्पताल भर्ना हुने र कतिपय अवस्थामा मृत्यु पनि हुने गरेकाले कुनै पनि गल्ती नगर्न उनले आग्रह गरेका छन् । ओमिक्रोन भेरिअन्ट अहिले तीव्र गतिमा फैलिरहँदा नयाँ भेरियन्ट आउन सक्ने चेतावनी पनि उनले दिएका छन् ।

महामारी नियन्त्रणमा लिनका लागि सावधानी अपनाउनेदेखि खोप अभियानलाई तीव्र पार्नुपर्ने र धनी देशले खोप नपाएका गरिब देशलाई सहयोग गर्नुपर्ने डब्लुएचओले बताएको छ । हाल विश्वभर कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको संक्रमणले दैनिक ३० लाख नजिकको संख्यामा संक्रमित थपिने गरेका छन् ।

सङ्क्रमण रोक्नका लागि सीमा क्षेत्र, सार्वजनिक यातायात, हवाई सेवा, होटल, रेस्टुरेन्ट तथा भिडभाड हुने क्षेत्रलगायतमा मापदण्डको पालना गर्न खाँचो देखिएको छ । सरकार तथा मन्त्रालयले आदेश जारी गरेको छ तर पालना भएको छैन । जसले गर्दापनि कोरोना ग्राफ दिनकै उकालो लागेको छ । बुधबार सिटामोल पाइएको थिएन । तर मन्त्रालयले अभाव नभएकाे बताएकाे छ । खाेप केन्द्रहरू अस्तव्यस्त छन् । अस्पतालहरू भरिएका खबर आइरहेका छन् । बेडकाे अभाव हुन थालिसकेकाे छ । यसतर्फ सरकार गम्भीर बन्नैपर्छ । किनकी जनताकाे जीउ-ज्यानभन्दा अरू हुन सक्दैन । अघिल्लाे वर्षकाे बेदना यसपटक दाेहाेरिनु हुँदैन ।

गाउँ सहर संवाददाता

तपाईँको मत