अर्थतन्त्र

अर्थतन्त्रकाे सूचक : घट्दाे रेमिट्यान्सदेखि मूल्यवृद्धि पाँच वर्षयताकै उच्च

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घटेको छ । मंसिर महिनामा पनि रेमिट्यान्स घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । विदेशी मुद्रा सञ्चिति पौने दुई खर्ब रुपैयाँले कमी आएको छ । मूल्यवृद्धि पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।

यसले मुलुकको अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा पुगेका देखिएकाे छ ।

बैंकले बिहीबार सार्वजनिक गरेको चालु वर्षको पाँच महिनासम्म देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थामा मंसिर महिनामा पनि विप्रेषण आप्रवाह ६.८ प्रतिशतले कमी आएको उल्लेख छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले कमी आई ३८८ अर्ब ५८ करोड कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो भने चालु वर्षको कात्तिम महिनासम्म ७.५ प्रतिशतले कमी आएको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै शोधनान्तर घाटा बढ्दै गएर गत मंसिरमा १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको प्रचलित मूल्यको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ४.६ प्रतिशत हो । आर्थिक वर्ष २०३९/४० मा शोधनान्तर घाटा जीडीपीको २ प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा २.३५ प्रतिशत थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत असारमा शोधनान्तर स्थिति सवा १ अर्ब रुपैयाँ बचतमा थियो । त्यसपछिका सबै महिना घाटामा छ र हरेक महिनामा घाटा उच्च दरले बढिरहेको छ । यसअनुसार गत साउनमा ३८ अर्ब ७४ करोड, भदौमा ८३ अर्ब ४० करोड, असोजमा ७६ अर्ब १३ करोड र कात्तिकमा १ खर्ब ५० अर्ब ३७ करोड रुपैयाँ घाटामा थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भई १ लाख ३१ हजार ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ४३३ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत