गाउँ सहर

दश पास गरे हलो छोड्ने, बाह्र पास गरे थलो छोड्ने प्रवृत्ति रोकौं : मन्त्री खड्का

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा शहरी विकास मन्त्री कुमार खड्काले दश कक्षा पास गरे हलो छोड्ने, बाह्र पास गरे थलो छोड्ने प्रवृत्ति रोक्न जरुरी रहेको बताएका छन् ।

पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सव एवम् अभिभावक दिवसको उद्घाटन गर्दै उनले नैतिक, व्यवहारिक र जीवनोपयोगी शिक्षा वर्तमानको आवश्यकता भएकोमा जोड दिए । नैतिकता विहीन शिक्षाले डाक्टर, ईन्जिनियर बनाएपनि सभ्य, सुसंस्कृत मानव बनाउन नसक्ने भन्दै मन्त्री खड्काले अवसरको खोजीमा युवाहरू विदेसिन बाध्य हुनुपर्ने अवस्थाको अन्त्यका लागि सबै गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए ।

विद्यार्थीको शैक्षिक प्रगतिमा शिक्षक तथा अभिभावकको महत्वपूर्ण भूमिका हुने बताउँदै उनले विद्यार्थी स्वयम् पनि आफ्ना अभिभावकको सपना पूरा गर्ने किसिमले महत्वाकांक्षी सपनाकासाथ अध्ययन कार्यमा जुट्नुपर्ने बताए ।

पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले यस क्षेत्रकै शैक्षिक विकासमा विद्यालयले महत्वपूर्ण योगदान गरेको बताउँदै शैक्षिक गुणस्तरीयता अभिबृद्धि एवम् भौतिक पूर्वाधार विकासका लागि स्थानीय तहबाट सक्दो सहयोग हुने विश्वास व्यक्त गरे ।

गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले विद्यालयको अबको प्राथमिकता शैक्षिक गुणस्तरीयता अभिबृद्धि रहेको बताउँदै विद्यार्थी, शिक्षक, अभिभावक सबैको साथ र सहयोगमा विद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गरिने बताए ।

विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद बरालले गोगन मा.वि.लाई नमुना विद्यालयका रुपमा स्थापित गर्ने लक्ष्यका साथ अध्ययन अध्यापन भैरहेको बताउँदै हाल एक हजार ७५० विद्यार्थी अध्ययनरत भएको जानकारी दिए । विद्यालयमा कुल ७८ जना शिक्षक मध्ये २१ जना सरकारी अनुदान अन्तर्गत र ५७ जना निजी स्रोत अन्तर्गत रहेको उनले जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका बरिष्ठ अधिकृत विश्वराज आचार्य, योजना आयोगका उपाध्यक्ष आरसी लामिछाने, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष खेमराज अधिकारी लगायतले विद्यालयको शैक्षिक उन्नयनको शुभकामना व्यक्त गरे । कार्यक्रममा विद्यालयका विभिन्न विधामा वर्ष उत्कृष्ट शिक्षकका साथै विद्यार्थीलाई सम्मान गरिनुका साथै विभिन्न सांस्कृतिक प्रस्तुती देखाइएको थियो । 

गाउँ सहर संवाददाता

तपाईँको मत