राजनीति

एमालेकाे जिल्ला अधिवेशन आज, ओलीले भर्चुअल उद्घाटन गर्ने

 

काठमाडाैं । नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक शुक्रबार (आज) मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ । महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको छ ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट (आज) शुक्रबार पार्टीका ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन थापाथालीस्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअलरुपमा गर्ने तय भएको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठले यही पुस २३ गतेका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो ।

महाधिवेशनमा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादका आधार निर्माण गरौँ’ भन्ने मूल नारा तय गरेको एमालेले जिल्ला अधिवेशनको तयारीका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्ज गृहजिल्लामा पुगेका छन् ।  

जिल्ला अधिवेशनमा सदस्यताको आधार
एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ । अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ । जिल्ला अध्यक्ष माथिल्लो कमिटीमा निर्वाचित भएको स्थितिमा निजकै अध्यक्षतामा जिल्ला अधिवेशन आयोजना गर्न सकिने भएको छ ।

मौसमी प्रतिकूलताका कारणले पुस २३ मा जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ । जिल्ला अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण प्रदेश सङ्गठन कमिटीले र प्रदेश अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण केन्द्रीय कार्यालयले गर्नेछ ।

अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले सर्कुलर गरेको छ । निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशनअनुसार गर्न पनि भनिएको छ ।

आठ वर्षपछि जाम खुल्दै

आठ वर्षको अन्तरालपछि शुक्रबार जिल्ला अधिवेशन गर्दैछ । यति बेलासम्म दुईपटक जिल्ला अधिवेशन भई कार्यकाल परिवर्तन हुनुपर्ने थियो । त्यसो हुन नसक्दा नेतृत्व विकासमा जाम परेको अवस्था छ ।

एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीले जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनका लागि तीन बुँदे मापदण्ड जारी गरेका छन् । त्यसअनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटी सदस्य वा एक कार्यकाल सचिवालय सदस्य भई काम गरेको हुनुपर्ने, सदस्य हुन एक कार्यकाल जिल्ला कमिटी वा त्योभन्दा मुनि एकपटक सदस्य भई काम गरेको हुनुपर्नेछ ।

अन्य पार्टीबाट आएकाको हकमा विधानको धारा ६३ (११) अनुसार पहिला जुन कमिटीमा काम गरेको हो, त्यही कमिटीमा समायोजन हुनेछ । ‘धेरैजसो नेता अन्य पार्टीबाट एमालेमा आउँदा पदाधिकारी छैनन् तर उनीहरूमध्ये धेरैजसो पदाधिकारीमा आउन चाहने देखिन्छन् । यसमा अहिले संगठन विभागले दिएको निर्देशन बाधक देखिएको छ’, एक जिल्लास्तरीय नेताले भने ।

पहिला जिल्ला अधिवेशन गरेर महाधिवेशन गर्नुपर्नेमा मंसिरमा महाधिवेशन सिध्याएर एमालेले जिल्ला, प्रदेश र जनवर्गीय संगठनको अधिवेशन गर्न थालेको छ । हरेक जिल्लामा १० वर्षसम्म एउटै नेतृत्व रहँदा माथिदेखि तलसम्म जाम भएको थियो ।

दसौँ महाधिवेशनबाट प्रदेश तहका नेता केन्द्रमा गएपछि केही हदसम्म जाम खुलेको छ । तर जिल्लाको नेतृत्वमा धेरैजसो नेताको दाबी रहेको छ । खासगरी जिल्ला तहको नेतृत्वमा रहेका नेताले नै स्थानीय, प्रदेश र केन्द्रमा हुने निर्वाचनमा हक दाबी गर्ने भएकाले जिल्ला कमिटीमा आउन चाहने नेताहरूको संख्या बढेको छ ।

जन सङ्गठनको सुदृढीकरण अभियान
एमालेले जनसङ्गठनको सुदृढीकरणका लागि दशौँ राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशाअनुरुप जनसङ्गठनलाई नीतिगतरुपमा परिचालित गर्नेगरी आवश्यक योजना बनाउन थालेको छ । जनसङ्गठनको कार्यक्षेत्रसँग सम्बद्ध अन्य सङ्गठनमा आबद्ध व्यक्तिको प्रवेशको सम्भावना आकलन गरी सम्बन्धित सङ्गठनमा प्रवेशको योजना अघि बढाउने र सबै जन सङ्गठनले आआफ्नो कामको आवश्यकताका आधारमा कमिटीको आकारलाई चुस्तदुरुस्त बनाउने गरी विधानमा आवश्यक संशोधन गर्न एमालेले निर्देशन दिइसकेको छ ।

एमालेको जन सङ्गठन संयन्त्रले ती सङ्गठनका काम गरेका नेता कार्यकर्ताको व्यवस्थापन र सङ्गठन परिचालनबारे नयाँ मापदण्ड पनि तयार गरिरहेको छ । लामो समयदेखि सम्बन्धित जनसङ्गठनको वैधानिक व्यवस्थाअनुरुप हुन बाँकी (आधारभूत तहदेखि राष्ट्रिय तहसम्मको) अधिवेशन/सम्मेलन/महाधिवेशन आगामी फागुन मसान्तसम्ममा आयोजना गर्नेगरी कार्ययोजना तयार गर्न पनि एमालेले निर्देशन दिएको छ । एमालेमा हाल २२ जन सङ्गठन छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत