राष्ट्र बैंककाे सूचनाले तरङ्ग, डेढ दर्जन वस्तु आयातमा किन एक्कासी भयाे कडाइ ?
- गाउँ सहर संवाददाता
- ५ पौष सोमबार, २०७८ | २२:००:०० मा प्रकाशित

काठमाडाैं । नेपाल राष्ट्र बैंकले डेढ दर्जन वस्तुको आयातमा कडाइ गरेको छ । सोमबार वाणिज्य र विकास बैंकहरुलाई नयाँ परिपत्र जारी गर्दै प्रतीतपत्र खोल्नुअघि नै तोकिएका वस्तुमा तोकिएको दरमा अनिवार्य नगद जम्मा गर्नुपर्ने नयाँ नीतिगत प्रवन्ध गरेको हो ।
चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गार सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री/फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट/भान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर र प्लास्टिकका फर्निचर आयात गर्न बैंकमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।
बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा दबाव बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयातलाई थप निरुत्साहन गर्न केही विलासिताका वस्तुहरूको आयातमा कडाइ गरेको हाे ।
केन्द्रीय बैंकले आयातमा मार्जिन व्यवस्थासम्बन्धी एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्था गरिदिएको छ । अब विदेशबाट सामान आयात गर्नेहरूले त्यसअघि नै रकम जम्मा गर्नुपर्नेछ । त्यस्तो प्रयोजनका लागि बैंकहरूले स्वदेशी मुद्रामा कर्जा प्रवाह गर्न पनि नपाउने भएका छन् । यसअघि एलसीका लागि मार्जिन राख्ने/नराख्ने निर्णय बैंकहरूले नै गर्ने गरेका थिए ।
सरकारी निकाय, कूटनीतिक नियोग र अस्पतालका लागि आवश्यक सामान, औद्योगिक कच्चापदार्थ, औषधिजन्य प्रयोजनका सामग्री, विद्युतीय र शारीरिक अशक्त व्यक्तिले चलाउने मोटरसाइकल तथा स्कुटर र विद्युतीय सवारी आयात गर्न भने मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छैन । तर, पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा ५० प्रतिशत मार्जिन राख्नुपर्नेछ ।
कोरोना महामारीको प्रभाव घट्दै जाँदा नेपालमा विदेशबाट मालबस्तु आयात ह्वात्तै बढेको छ । अत्यधिक आयातकै कारण कात्तिक महिनासम्म शोधनान्तर घाटा एक खर्ब ५० अर्ब ३८ करोड रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा आयात ६१.६ प्रतिशतले बढेको छ । कुल विनिमय सञ्चिति १० अर्ब ४७ करोड अमेरिकी डलरमा खुम्चिएको छ । अहिले नेपालसँग ७.२ महिनाका लागि आवश्यक वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिती बाँकी छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस