राजनीति

आजको मत गणनासँगै कांग्रेस पदाधिकारीको टुंगो लाग्ने, बाँकी पाँच सहमहामन्त्रीमा कसले मार्ला बाजी ?

फाइल तस्बिर

काठमाडौं । नेपाली कांगेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म सभापति, उपसभापति तथा महामन्त्रीको अन्तिम परिणाम आइसकेको छ।

क्लस्टरअनुसार भएको सहमहामन्त्री पदको परिणामको आउने क्रम जारी छ। आठ समूहमध्ये यसअघि महिला, जनजाति तथा दलित समूहको अन्तिम परिणाम आइसकेको छ। बाँकी पाँच क्लस्टरको मत गणना आज(शुक्रबार) गरिने निर्वाचन समितिले जनाएको छ।

आजको मत गणनासँगै पदाधिकारीको टुंगो लाग्नेछ। पदाधिकारीको टुंगो लागेपछि मात्र केन्द्रीय सदस्यको मतगणना सुरु हुने जनाइएको छ। आज हुने गणनाबाट खसआर्य, पिछडिएको क्षेत्र, मधेशी, मुस्लिम र थारु क्लस्टरबाट सहमहामन्त्री चुनिनेछन्।

खसआर्यतर्फ देवराज चालिसे (शेखर पक्ष) र किशोर सिंह राठोर (देउवा पक्ष) उम्मेदवार रहेका छन् भने पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे (शेखर पक्ष) र जीवन ब शाही (देउवा पक्ष)बीच प्रतिस्पर्धा भएको थियो। 

त्यसैगरी, मधेशी तर्फ देउवा पक्षका महेन्द्र यादव र शेखर पक्षका रामकृष्ण यादवबीच प्रतिस्पर्धा भएको थियो भने मुस्लिमतर्फ  फर मुल्लाह मन्सुर (देउवा पक्ष) र शेख वकील (शेखर पक्ष) भिडेका छन्।

त्यसैगरी, थारुतर्फ देउवा पक्षबाट उमाकान्त चौधरी र  शेखर पक्षबाट  तेजुलाल चौधरी चुनावी मैदानमा छन्।

हिजो भएको मतगणनाबाट महिला र आदिवासी जनजाति समूहमा देउवा पक्षका महालक्ष्मी उपाध्याय (डिना) र भीष्मराज आङ्देम्बे विजयी भएका छन्। दलित समूहमा शेखर पक्षका जीवन परियार विजयी भएका छन्। 

यसअघि सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन्। त्यसैगरी, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी बनेका छन्। 

गाउँ सहर संवाददाता

तपाईँको मत