प्रतिनिधि सभा

भाेलीदेखि शुरू हुने प्रतिनिधि सभाको बैठकमा यी ६ वटा अध्यादेश पेस हुने

काठमाडौं । भाेली मंगलबार (मंसिर २८ गते)देखि संसदकाे हिउँदे अधिवेशन शुरू हुने भएकाे छ । प्रतिनिधि सभाको हिउँदे (१०औं) अधिवेशनको पहिलो बैठकमा ६ वटा अध्यादेश पेस हुने भएका छन् । 

सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को मङ्गलबारदेखि सुरु हुने नियमित हिँउदे अधिवेशन भएकाले त्यसको मुख्य एजेण्डा विधेयकमै केन्द्रित रहने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा अधिवेशनका लागि भएको तयारी जानकारी लिएपछि सञ्चारर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अधिवेशनका लागि समग्र व्यवस्थापनका पाटोबाट सबै तयारी पूरा भएको जानकारी दिए । सभामुख सापकोटाले भने,“सदन सहमतिका साथ अधि बढाउन मैले तटस्थ, स्वतन्त्र र निष्पक्षरुपमा संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर काम गर्न प्रतिबद्ध छु । यस सम्बन्धमा जनतालाई प्रष्ट पार्दै लगेको छु, कहीँकतै अस्पष्टता भएमा व्यवहार र कामबाटै प्रष्ट हुनेछ ।”

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले कोभिड–१९ को अहिले जोखिम कम देखिए पनि नयाँ भेरियन्टका कारण उच्च स्वास्थ्य सुरक्षामा ध्यान दिइने जानकारी दिए ।

उनले भने, “मङ्गलबारदेखि प्रारम्भ हुने सङ्घीय संसद्को दुवै सदनको प्राविधिक, स्वास्थ्यमापदण्ड र सिट व्यवस्थापनलगायतका तयारीबारे सभामुखबाट अवलोकन भइसकेको छ । अधिवेशनका सबै तयारी पूरा भएको छ ।”

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दुवै सदनको अधिवेशन मङ्ङगलबार दिनको २ बजे बस्ने गरी यही मङ्सिर १७ गते आह्वान गरेकी थिइन् ।

यसअघि संसद् भवन परिसरमा सभामुख, राष्ट्रियसभा उपाध्यक्ष, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतले कोभिड–१९ एन्टिजेन परीक्षण गराएका थिए ।

मंगलबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ३, भौतिक पूर्वाधार तथा  यातायात मन्त्री रणुकुमार यादवले १ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडुले २ वटा अध्यादेश पेस गर्नेछन् ।

मंगलबार दिउँसो २ बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक बोलाइएको छ। संघीय संसद् सचिवालयका अनुसार बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीयदको अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन्। 

त्यसपछि सभामुख सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन् । 

मनोनयनपछि गृहमन्त्री खाणाले  नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा घातक रसायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गर्नेछन् । 

यातायातमन्त्री यादवले रेल्वे अध्यादेश, २०७८ पेस गर्नेछिन्। यस्तै, संसदीय मामिला मन्त्री बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पेस गर्नेछन् । 

गत जेठ ७ गते मध्यरातमा भएको विघटनको निर्णय सर्वोच्च अदालतले उल्टाएपछि प्रतिनिधि सभाको तेस्रो अधिवेशन सुरु हुन लागेको हो। यसअघि नवौं अधिवेशनका सबैजसो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पुर्‍याउँदै आएको थियो । 

सरकारले संसदको १०औं अधिवेशन आह्वान गर्ने निर्णय गरेपछि एमालेले आगामी बैठक पनि सहज सञ्चालन हुन नसक्ने बताइसकेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत