राजनीति

महाधिवेशन प्रतिनिधिकाे एकै स्वर : कांग्रेसमा अग्रजको अनुभव र युवाको जोस आवश्यक

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधिहरुले सङ्गठनलाई सुदृढ बनाउन अग्रजको अनुभव र युवाको जोसलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन क्रममा  शुक्रबार भेटिनुभएका धनुषा क्षेत्र नं १ का महाधिवेशन प्रतिनिधि राजकिशोर सिंह २१ औँ शताब्दीमा  समयसँगै पार्टीभित्र पनि रुपान्तरणको खाँचो रहेको बताउछन्। यसपटकको महाधिवेशनको नारा पनि उत्साह, एकता र रुपान्तरण रहेको छ ।

कुनै समय तराईमा राम्रो भोट भएको कांग्रेस आज तराईमा किन कमजोर भयो रु यसबारे पार्टीभित्र गम्भीर समीक्षा हुनु जरुरी रहेको उनको भनाइ छ ।

'कांग्रेसले मधेशमा राम्रो प्रदर्शन गर्न सक्दा पार्टीले बहुमतको सरकार बनाउन सकेको इतिहास छ, हिमाल, पहाड र तराई जोड्ने नेतृत्व कांग्रेसभित्र आवश्यक छ', सिंह भन्छन् ।

नेपाली कांग्रेस लमजुङका महाधिवेशन प्रतिनिधि अस्मिता गुरुङ पार्टीभित्र युवा र महिलाहरु अगाडि आउनुपर्ने बताउँछिन्। 'पार्टीभित्र पुस्तान्तरण भयो भने पार्टी झन सबल र सक्षम बन्न सक्छ”, उहाँ भन्नुहुन्छ।  बागलुङ क्षेत्र नं १ का महाधिवेशन प्रतिनिधि पार्टीभित्र आम एकताको खाँचो रहेको बताउनुहुन्छ। “पुराना नेताहरु सहमति गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरे पार्टी थप सवल र सक्षम बन्न सक्छ', उनी भन्छिन् ।

शीर्ष नेताको सहमति बिना नयाँ नेतृत्व आउँदा पार्टी कमजोर हुने उनको भनाइ थियो । कास्की क्षेत्र न ३ का महाधिवेशन प्रतिनिधि विष्णुबहादुर क्षेत्री देशलाई आधुनिक समाज र पुस्ताले चाहेजसरी अगाडि बढाउन सक्ने विचार, नीति र कार्यक्रम कार्यान्वन गर्न सक्ने गरी पार्टीलाई अघि बढाउनुपर्ने बताउछन् । 'उमेरले भन्दा पनि समयसापेक्ष विचार, नीति र कार्यक्रमबाट सङ्गठनलाई सुदृढ बनाउँदै पार्टी मात्र होइन देश रुपान्तरणको नेतृत्व अहिलेको आवश्यकता हो', क्षेत्री भन्छन् ।

कांग्रेस चितवनका सचिव एवं महाधिवेशन प्रतिनिधि उत्तम जोशी कांग्रेसभित्र देशभरि युवा प्रतिनिधि आएकाले अब पार्टीभित्र पुस्तान्तरणको खाँचो रहेको बताउछन् । 'अग्रजको सल्लाह र युवा र महिला दिदिबहिनीको साथ लिएर पार्टीलाई रुपान्तरण गर्नु आजको आवश्यकता हो', उनी भन्छन् ।

राजनीतिमा युवालाई आकर्षण गर्नसक्ने नेतृत्व आवश्यक रहेको उहाँको भनाइ थियो। देश विकासका लागि नयाँ नेतृत्व, नयाँ सोच, नयाँ शैलीबाट कांग्रेसलाई अगाडि बढाउनुपर्ने जोशी बताउछन् ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली शुक्रबार प्रकाशन  भएको छ। उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा हुनेछ ।

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आज साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय आजै साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन आज राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२:१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

मतदान भने भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुनेछ। मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्बाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ। यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ । रासस

 

गाउँ सहर संवाददाता

तपाईँको मत