दिगोविकास

सुदृढीकरण र आगामी निर्वाचनमा कांग्रेसको बहुमतका सभापतिमा मेराे उम्मेदवारी : निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी महाधिवेशनमा सभापतिको लागि उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार नयाँ बानेश्वरस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी उनले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन्। 

निधिले आसन्न महाधिवेशनमा सभापतिमा आफूले दिने उम्मेदवारीका कारणहरू खुलाउँदै घोषणा पत्र सार्वजनिक गरेका छन् । 

आफ्नो सम्पर्क कार्यालयबाट प्रतिबद्धता र योजना सार्वजनिक गर्दै निधिले पार्टी सुदृढीकरण र आगामी निर्वाचनमा कांग्रेसको बहुमतका आफ्नो उम्मेदवारी रहेको बताए ।

निधिले जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता, हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रुपमा जोड्ने कांग्रेस बनाउन आफूलाई सभापतिमा निर्वाचित गर्न आग्रह गरेका छन् ।

निधिले आफू १३ वर्षको हुँदादेखि अहिलेसम्म नेपालको लोकतान्त्रिक आन्दोलनमा व्यतित गरेको भन्दै आफू कांग्रेस सभापति पदको उम्मेदवारको रुपमा अगाडि बढेको बताएका हुन् । ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु,’ निधिले भनेका छन्, ‘परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु ।’

निधिले नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र पुस्ताहस्तान्तरण प्रकृयालाई सहजीकरण गर्ने पनि बताएका छन् । त्यस्तै नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराउने र देशको भौगोलिक विविधता अनुरूप हिमाल, पहाड, तराई–मधेश, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्ने योजना रहेको उनले सुनाए ।    

‘नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराइ नेतृत्व विकास गर्न, राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन, धर्म निरपेक्षता, अहिंसा र शान्तिका मान्यतासहित बनेको संविधान र प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल कार्यान्वयन गर्न,’ निधिले आफ्नो उम्मेदवारी किन भन्दै सार्वजनिक गरेको घोषणा पत्रमा लेखिएको छ, ‘जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन, जातीय, साँस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेशी, मुस्लिम, थारू, खस–आर्य, अल्पसंख्यक, अपांगता भएका, पिछडिएका क्षेत्र तथा तेस्रोलिंगी लगायत सबैलाई सम्मानका साथ नेपाली कांग्रेसमा सक्रिय गराउन र समुदायका बीच सद्भाव कायम गर्न ।’

गाउँ सहर संवाददाता

तपाईँको मत