गाउँ सहर

नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रियाे

काठमाडौँ । नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको हो ।

आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी६ स्कुटर नेपाली बजारमा भित्रिएको छ । यी मोटरसाइकल र स्कुटरको मूल्य क्रमशः ६ लाख १९ हजार, २ लाख ७९ हजार र २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ ।

जोङसेन आरएक्स–३ एड्भेन्चर मोटरसाइकल हो । यसमा २४९.६ सीसीको सिंगल सिलिन्डर फोर भल्व वाटरकुल्ड इन्जिन छ, जसले १८.५ किलोवाट पावर र २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स जडान गरिएको छ ।

एड्भेन्चरका लागि उपयुक्त भएकाले यसमा सेगमेन्टकै सबैभन्दा बढी १५ लिटरको इन्धन ट्यांकी छ । त्यसैगरी ८२० एमएम सिट हाइट भएको यो मोटरसाइकलमा करिव १ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने ४५ लिटर क्षमताको आल्मुनियम बक्स निःशुल्क उपलब्ध हुन्छ ।

यो मोटरसाइकलमा बीएमडब्ल्युको जस्तै स्लिक बम्पर छ भने फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मोबाइल चार्जिङका लागि युएसबी पोर्ट समेत छ । २१० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा बताइएको छ भने सिंगल रियर सक, दुवै पांग्रामा डिस्क ब्रेक आदि विभिन्न फिचर उपलब्ध छन् । 

जेड–वान स्ट्रिट बाइक हो र यो विशेष गरी प्रौढ उमेरका ग्राहकलाई लक्ष्यित गरी डिजाइन गरिएको छ । यसमा १८० सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ११.५ किलोवाट पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स छ । १८ लिटरको इन्धन ट्यांकी भएको यो मोटरसाइकलको टप स्पिड ११० किलोमिटर प्रतिघण्टा छ । यसमा ७६० एमएमको सिट हाइट छ भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ ।

जेडटी६ स्कुटरमा १२५ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ, जसले ६.८ किलोवाट पावर र ९ एनएम टर्क जेनेरेट गर्छ । ६ लिटरको इन्धन ट्यांकी भएको यो स्कुटरमा अलोय ह्विल, डबल रियर सक, डिजिटल मिटर आदि विभिन्न विशेषता छन् ।

दुई पांग्रे सवारी र इन्जिन उत्पादनको लागि चीनका मुख्य ५ कम्पनीहरुमा जोङसेन समेत पर्छ । विगत ३० वर्ष देखि उत्पादन थालेको जोङसेनले विश्वका ५० भन्दा बढी देशमा यो कम्पनीका मोटरसाइकल बिक्री–वितरण गरिरहेको छ । जोङसेनले प्रयोग गर्ने विभिन्न पार्ट्सका लागि हार्ले र पियाजियोसँग समेत सहकार्य गरेको छ । जोङसेन अन्तर्गतको प्रिमियम ब्रान्ड साइक्लोनले उत्पादन गरेका यी मोटरसाइकल र स्कुटर युरो ४ स्ट्यान्डर्डका छन् ।

नेपाली बजारमा बिक्री पछिको सेवाका लागि समेत प्रतिबद्ध भएको रिजोन मोटर्सले जनाएको छ । आगामी दिनमा अन्य विभिन्न मोडल र इलेक्ट्रिक सेगमेन्ट समेत नेपाली बजारमा भित्र्याउने रिजोन मोटर्सले बताएको छ । मोटरसाइकल र स्कुटर मर्मतका लागि आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराउने र मोबाइल एपबाटै निगरानी गर्नुका साथै आवश्यक सरसल्लाह दिने बताइएको छ ।  त्यसैगरी नेपालमै पहिलो पटक ७ वर्ष सम्मको इन्जिन वारेन्टी प्रदान गरिने समेत रिजोन मोटर्स बिजनेसका म्यानेजिङ डाइरेक्टर खगेन्द्र बस्नेतले बताए ।

जोङसेनको पहिलो सोरुम सानेपा रिङरोडमा छ भने दोस्रो सोरुम सुर्खेतमा तिहार अगाडि नै खुल्ने बताइएको छ । तिहार पछि विर्तामोड, धरान, दमक र पोखरा लगायतका देशका विभिन्न स्थानमा समेत सोरुम खुल्ने छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत