राजनीति

केपी ओली जिन्दावाद - महेश बस्नेत जिन्दावाद, एमालेको नामै गुञ्जेन जनकपुरमा

जनकपुर। जनकपुर विमानस्थल खचाखच थियाे, याे काेराेनाकालमा । भिड थियाे - महेश बस्नेतकाे जनकपुर यात्रा ।

कार्यकर्ताहरूले दुई नामकाे जिन्दावाद भनिरहेका थिए । ती नाम थिए केपी ओली जिन्दावाद - महेश बस्नेत जिन्दावाद । तर पार्टी एमालेको नामै गुञ्जेकाे थिएन ।

भिडले बस्नेतकाे गला मालाले भरेका थिए र निकाल्न भ्याइनभ्याई थियाे । संगै रहेका अर्का डा. साव भिडमै हराएका थिए ।

जनकपुरकाे याे दृश्यले एमालेभित्र व्यक्तिगान झनै बढेकाे महशुष हुन्छ ।

यता तामझामपछि नेकपा एमालेका युवा नेता बस्नेतले सरकारले दिएको मानपदवी एमाले र अध्यक्ष केपी ओलीविरुद्ध केन्द्रित रहेको बताउन भ्याए । उनले एमाले र अध्यक्ष ओलीविरुद्व लागेका, एमाले फुटाउन सहयोग गर्नेलाई सरकारले मानपदवी दिएको बताए ।

आइतबार एमाले निकट राष्ट्रिय युवा संघको जनकपुरधाममा कार्यालय उद्घाटन गर्दै बस्नेतले संसद पुर्नस्थापन गर्ने बेलामा संवैधानिक इजलासमा बसेका सबै न्यायाधीशलाई मानपदवी दिइनु नेपालको इतिहासको लाजमर्दो क्षण भएको बताए ।

उनले केपी ओलीविरुद्ध मुद्दा हाल्ने, लड्ने सबैले मानपदवी पाएको भन्दै यो राज्यको श्रोतसाधनलाई दुरुपयोग गर्न खोजिएको बताए । झलनाथ खनाललाई, माधव नेपालको बुवालाई पनि एमाले फुटाएकै कारण मानपदवी दिइएको उनको भनाइ छ । कम्युनिष्ट आन्दोलन ध्वस्त पारेपछि प्रचण्डकी श्रीमति सीता दाहाललाई मानपदवी दिइएको उनले बताए ।

‘भ्रष्टाचार भनेको आर्थिक अनियमितता मात्रै होइन् मानपदवी र नीतिमा मनमानी गर्नु पनि अनियमितता हो’ नेता बस्नेतले भने, ‘इतिहासमै नभएको देउवा सरकारले गम्भीर भ्रष्टाचार गरेको छ ।’

कार्यक्रममा नेता बस्नेत माओवादी अध्यक्ष प्रचण्डप्रति आक्रामक देखिएका थिए । उनले चाँडै माओवादी बिघटनको बाटोमा गइरहेको भन्दै प्रचण्ड देशबाट बहिष्कृत भइरहेको समेत बताए ।

‘हिजो प्रचण्ड जनकपुर आउँदा स्वागत गर्ने मान्छे भएनन् । प्रशिक्षण लिन मान्छे नआउँदा बन्द कोठामा विशेष प्रशिक्षण भनियो । प्रचण्डको राजनीतिक छविमा लाजमार्दो दिन हो’ उनले भने, ‘माओवादी बिघटन हुँदैछ भन्ने कुराको प्रमाण हो यो ।’

देउवालाई सत्ता बुझाएर चाकडी गरेर, श्रीमतीलाई मानपदवी दिएर नेपालको कम्युनिष्ट आन्दोलन नचल्ने उनको भनाई छ ।

उनले वर्तमान सरकारको गठबन्धनका नेता एवं जसपा अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै बस्नेतले सत्तामा हुँदा सबैभन्दा बढी विदेश जाने उनै रहेको बताए । उनले भने, ‘उपेन्द्र यादवजी सत्तामा जानुभयो । परराष्ट्र मन्त्री खानुभयो । परराष्ट्र मन्त्री हुँदा विदेश जाने नेतामा आफ्नो छवि बनाउनुभयो’ तर, उहाँले मधेशको मुद्धा सम्बोधन गर्न सक्नुभएन् ।’

मधेश आन्दोलनमा घाइते भएकालाई, शहीद परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मधेशको मागलाई व्यवस्थित तरिकाले पूरा गराउन एमालेले नै पहल गरेको उनले बताए ।

यसैकारण अध्यक्ष ओलीप्रति रहेको भ्रम अहिले मधेशमा हटेको भन्दै उनले त्यहीं भएर पहिला केपी ओली बाई बाई भनिँदा अहिले हाई हाई भन्न थालिएको दावी गरे । एमाले कम्युनिष्ट आन्दोलनको एकीकृत पार्टी रहेको र प्रचण्ड, माधव, झलनाथ जाँदैमा कुनै असर नपर्ने उनले बताए ।

यत्ति भनिरहँदा उनले याे विर्से र कार्यक्रममा चर्चा गर्न भ्याएनन् र भन्न सकेनन् एमाले जिन्दावाद खाेई ? भनेर । व्यक्तिगानमै मक्ख परे उनी ।

गाउँ सहर संवाददाता

तपाईँको मत