गाउँ सहर

साना तथा मझाैला ब्यवसायीको हक हितमा लाग्न गोल्छाको आग्रह

लेखनाथ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रले देशको अर्थतन्त्रमा पुर्‍याएको योगदानलाई उच्च कदर गर्दै साना तथा मझौला ब्यवसायीहरुको हक हितका सवालमा आवाज उठाउन लेखनाथ उद्योग वाणिज्य संघलाई आग्रह गरेका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघको २५ औँ वार्षिक साधारण सभा तथा १३ औं महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले देशको अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र सम्मानित हुँदै गएमा मात्र सम्मुन्नति पनि सँगसँगै आउने भएकाले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको बताए। उनले बजेटको आकार बढाएर मात्रै विकास सम्भव नभएको भन्दै अनुत्पादक क्षेत्रको खर्चमा बजेट कम गर्न सुझाव दिए ।

कोभिड १९ ले पारेको प्रभाव र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महासंघले आर्थिक रुपान्तरण २०३० मार्फत प्रारुप तयार पारेको र यसलाई महासंघले भिजन पेपर पनि भन्ने गरेको उनले बताए ।  

कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष दिनेश श्रेष्ठ र महासंघ कै उपाध्यक्ष अञ्जन श्रेष्ठले  परियोजनामा आधारित कर्जाको सम्भाव्यता अध्ययन गरेर नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकलाई प्रतिवेदन बुझाएको र धितोका आधारमा कर्जा लगानी गर्दा वित्तीय संस्थाहरूलाई हुन सक्ने लगानी जोखिम न्यूनीकरण गर्ने सम्भावित संयन्त्रसहित केही महत्वपूर्ण सुझावहरू प्रतिवेदन मार्फत दिइएको वताए ।

कार्यक्रममा चन्द्रलक्ष्मी जेष्ठ नागरिक पत्रकारिता पुरस्कारबाट सम्मानित ब्यक्ति पत्रकार नारायण कार्कीले पत्रकारिताको लागि कुनै उमेर हद नहुने बताउदै आफुले अहिलेसम्म पाएको पुरस्कारको रकममा थप गरी अक्षयकोष मार्फत अर्को पुरस्कार स्थापना गर्ने बताए ।

 सोही अवसरमा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोईराला,लेखनाथ उद्योग बाणिज्य संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य,लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा महासंघका केन्द्रिय सदस्य बावुराम गिरी लगाएतले कोभिडको मारमा परेका ब्यवसायीहरुको हक हितका लागि योजना ल्याउनु पर्ने सुझाव दिएका थिए ।

संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेले गरेका थिए भने कार्यक्रम संचालन महासचिव गोपिचन्द्र बास्तोलालले गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत