सडक/यातायात

स्थगित चालक अनुमतिपत्रको परीक्षा आजदेखि

काठमाडाैं । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आजदेखि पुनः सञ्चालन गर्दैछ  ।

गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिइ प्रयोगात्मक परीक्षामा ९ट्रायल० संलग्न हुने, एकपटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीका लागि परीक्षा सञ्चालन हुने जनाएको छ ।

यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८’ स्वीकृत गरेसँगै रोकिएका परीक्षा सञ्चालन गर्न मन्त्रालय मातहतका निकायलाई बाटो खुला भएको हो । कोरोनाका कारण देशभर परीक्षा रोकिँदा करिब आठ लाख सेवाग्राही समस्यामा परेका जनाइएको छ । 

विभागका महानिर्देशक नमराज घिमिरेले अब सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७८ का अनुसार परीक्षा हुने जानकारी दिए ।

हालै जारी सो नयाँ मापदण्डमा परीक्षार्थीले जनस्वास्थ्यका मापदण्डलाई अनिवार्य पालना गर्दै मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने छ । यसैगरी परीक्षाका क्रममा भीडभाड नगरी भौतिक दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीको शारीरिक तापक्रम मापन गर्नुपर्ने, प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउनुपर्ने र मापदण्डअनुसार परीक्षा सुरु हुनुअगावै परीक्षार्थीलाई ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिने उल्लेख छ ।

तोकिएको समयमा उपस्थित हुन नसक्ने परीक्षार्थीलाई अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने मापदण्डमा प्रावधान छ । परीक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराइने व्यवस्था मापदण्डमा गरिएको छ । परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० परीक्षार्थीलाई मात्र सहभागी गराइने भनिएको छ ।

कार्यालयले खुला ठाँउ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरी प्रयोग गर्नुपर्ने मापदण्डमा व्यवस्था छ । अब ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका, २०७७’ अनुसार परीक्षा हुने बताइएको छ । यसैबीच नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि वस्तुगत नमूना प्रश्न सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर सहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको अनुमतिपत्रको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक गरिएको हो । 

लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारी साधनको प्राविधिक पक्षसम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी पूर्णाङ्क १०० रहने गरी चार÷चार अङ्कका जम्मा २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने जनाएको छ । त्यही सङ्ग्रहभित्रबाट २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने र ३० मिनेटका परीक्षामा उत्तीर्ण हुन न्यूनतम ६० अङ्क ल्याउनुपर्ने छ । निर्देशिकामा प्रयोगात्मक परीक्षाका प्रावधानमा समेत परिमार्जन गरिएको बताइएको छ ।

भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा प्रयोगात्मक परीक्षा

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले प्रयोगात्मक परीक्षाका लागि ‘ट्रायल सेन्टर’का रूपमा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरलाई स्वीकृति दिएको छ । चन्द्रागिरि नगरपालिका–१२ बलम्बूस्थित गुर्जुधारामा रहेको सो एकेडेमीले सरकारको मापदण्डअनुसार प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताएको छ । नेपालको सबैभन्दा ठूलो र सुविधासम्पन्न सो एकेडेमी ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ । कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सुरु हुने एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए ।

उनले भने, “प्रयोगात्मक परीक्षार्थीका लागि सामाजिक दूरी अनिवार्य कायम गरिएको छ । ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ ।” सरकारले अवलम्बन गरेको सहकारी, सार्वजनिक र निजी क्षेत्र सहभागी तीनखम्बे अर्थनीतिअनुसार विसं २०७३ मा एकेडेमी स्थापना भएको थियो । ऐकेडेमीमा दुई पाङ्ग्रे, चारपाङ्ग्रे तथा ठूला सबै प्रकारका सवारीको प्रयोगात्मक परीक्षा दिन तथा प्रशिक्षण व्यवस्था रहेको एकेडेमीका प्रबन्ध निर्देशक माधव अधिकारीले बताए । उनले भने, “न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिइरहेका छौँ । निर्धारित स्वास्थ्य मापदण्ड पूरा गरी सबै प्रकारका यातायातका साधनको लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा आजदेखि सञ्चालनमा ल्याएका छौँ । गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता हो ।”

कोरोना भाइरसका जोखिमका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा एकेडेमी सञ्चालनमा समेत आर्थिक सङ्कट परेको जनाइएको छ । सरकारले जग्गा भाडा छुट तथा अन्य सुविधा नदिँदा एकेडेमी चरम आर्थिक समस्यामा परेको हो । “सरकारको आग्रह, सेवाग्राही माग र चाहनालाई ध्यान दिएर मात्र एकेडेमी सञ्चालन गरेका हौँ । हामी चरम आर्थिक सङ्कट छौँ, सरकार तथा स्थानीय निकायबाट समेत कुनै सुविधा पाएका छैनौँ”, एकेडेमीका सञ्चालक रामनारायण घिमिरेले भने ।

एकेडेमीले सामाजिक दायित्वअन्तर्गत बन्दाबन्दीका समयमा गर्भवती, मिर्गौला, मुटु, क्यान्सर, फोक्साका बिरामीलाई आफ्ना सवारी साधनमार्फत अस्पताल जान र आउन निःशुल्क यातायातको व्यवस्था गरेको थियो । यसैगरी नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा रु एक लाख आर्थिक सहयोगसमेत गरेको थियो । एकेडेमीले दक्ष चालकद्वारा सवारी सिक्न चाहनेका लागि विशेष सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण सञ्चालन गर्दै आएको छ । स्वास्थ्य मापदण्ड पालन गर्दै प्रशिक्षण सञ्चालनमा ल्याइएको स्थानीय समाजसेवीसमेत रहेका उनले जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत