गाउँ सहर

दार्चुला तुइन घटनामा कूटनीतिक पहल सुरू, एमालेले भन्छ–‘सरकार थामथुम गर्ने प्रयासमा लागेकाे देखियाे’

काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को उपस्थितिमा दार्चुलामा तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

उक्त घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दोस्रो दिन बिहीबार मन्त्रालयले आवश्यक कूटनीतिक पहलका लागि परराष्ट्रमा पत्र पठाएको गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थितिमा दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामी मालघाटबाट तुइन तर्ने क्रममा तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको प्रतिवेदन मङ्गलबार गृहमा बुझाएको थियो ।

उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयका अनुसार समितिले घटनाको अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सन्दर्भमा भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न सिफारिस गरेको थियो ।

“सोही प्रतिवेदनका आधारमा परराष्ट्रलाई कूटनीतिक पहलका लागि अनुरोध गरिएको छ”, गृह प्रवक्ता पोखरेलले भने । प्रतिवेदनले आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको उचित व्यवस्थापन गर्न सिफारिससमेत गरेको छ ।

छानबिन समितिबाट मङ्गलबार प्रतिवेदन बुझ्दै गृहमन्त्री बालकृष्ण खाँणले त्यसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको आश्वासन दिनुभएको थियो । उनले प्रतिवेदन तत्कालै कार्यान्वयनको प्रक्रिया थाल्न गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिए ।

उक्त घटनाको अध्ययनका लागि मन्त्रालयले गत साउन १७ गते सहसचिव जनार्दन गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेको समिति गठन गरेको थियो ।

गत साउन १७ गते गठित उक्त समितिलाई मन्त्रालयले १० दिनको कार्यादेश दिए पनि छानबिन नसकिएकाले समितिको म्याद भदौ १ र ८ तथा साउन २५ गते गरी तीन पटक थप गरेको थियो । साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ स्थित तुइन तरेर भारत हुँदै जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा तुइनको लठ्ठासँगै खसेर धामी नदीमा बेपत्ता भएका थिए ।

‘सरकार थामथुम गर्ने प्रयासमा लाग्याे’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेकाे घटनाबारे छानबिन समितिकाे प्रतिवेदनमाथि असन्तुष्टि जनाएकाे छ । 

आज बिहीवार प्रेस विज्ञप्ति निकाल्दै एमालेले तुइन घटनामा छानबिन समितिकाे प्रतिवेदन अस्पष्ट रहेकाे बताएकाे हाे । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले निकाल्नुभएकाे प्रेस वक्तव्यमा भनिएकाे छ, ‘पटकपटक म्याद थपेर निकै ढिलाे गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेकाे र सरकार यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेकाे देखिएकाे छ ।’ 

यस्तै एमालेले आफ्ना नागरिक बेपत्ता पारिएकाे संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिन, साेधपुछ गर्न, आपत्ति जनाउन र कुटनीतिक पहल गर्न नसक्ने सरकारले नागरिक ध्यान माेड्न खाेजेकाे आशङ्का देखिएकाे बताएकाे छ । 

अविलम्ब यस घटनाकाे यथार्थ सार्वजनिक गर्न, दाेषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न एमालेले माग गरेकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत