स्वास्थ्य

कोरोना संक्रमितमध्ये ६७७ सघन र १६९ जनाको भेन्टिलेटरमा उपचार हुँदै, थप १८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ६३६ को परीक्षण हुँदा २ हजार ५६८ संक्रमित थपिएका छन् । जसमा ६०.१५ पुरुष र ३९.८५ महिला छन् । 

आजसम्म जम्मा ३६ लाख ११ हजार ८६७ पिसिआर र ३ लाख २२ हजार ६०१ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ६ लाख ९७ हजार ३७० पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ६१ हजार ९३७ पुष्टि भएका छन् ।

अहिलेसम्मका संक्रमितमध्ये ६७७ सघन र १६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निको हुनेको संख्या २ हजार २० छ । निको हुनेको प्रतिशत ९४.१ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ५६ हजार १९७ पुगेको छ ।

देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३९० र होम आइसोलेशनमा रहेको संख्या २७ हजार ८२० छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार १९४ छ । 

देशमा सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ रहेको छ । ३७५ जना अहिले क्वारेन्टाइनमा छन् । होम आइसोलेशनमा रहनेको संख्या २८ हजार ६३ र ३ हजार २३५ संस्थागत आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या १८ लाख १३ हजार ४७१ पुगेको मन्त्रालयले जनाएको छ ।

उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ । 

पछिल्लो समय कोरोना संक्रमण सोचेजस्तो नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उसले विज्ञप्ति जारी गरीसंक्रमणको दर बढेको बताएको हो । उसले लुकिछिपी मापदण्डको पालना नगरेको पाइएको बताएको छ । 

संक्रमणको जोखिम बढिरहेको समयमा झनै सम्बेदनशील रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नुवाकोट, नवलपरासी पूर्व, कास्की, रुपन्देही र सुर्खेत रहेका छन् भने २०० माथि संक्रमित रहेका २२ जिल्लाहरु छन् ।

गाउँ सहर संवाददाता