गाउँ सहर

रामेछापकाे हिलेदेवीमा आर्थिक चलखेल भएकाे भन्दै वडा भवन निर्माण विवादमा

हाल कार्यसम्पादन भइरहेकाे वडा भवन

रामेछाप । आर्थिक चलखेल भएकाे भन्दै सुनापति गाउँपालिका-३, हिलेदेवीकाे वडा भवन निर्माणमा विवाद उत्पन्न भएकाे छ । वडाकाे जग्गामा वडा भवन बनाउनुपर्नेमा पालिका अध्यक्ष धावा लामा र वडाध्यक्ष बाबुरामा तामाङकाे मिलाेमताेमा पालिकाकाे जग्गामा निर्माण गरिएकाे भन्दै सदस्यहरूले बिराेध जनाएका हुन् । 

वडाअध्यक्षकाे द्वैध चरित्र देखिएकाे भन्दै वडा सदस्यहरू कुलबहादुर थिङ, डेगबहादुर खड्का र सुन्तली विश्वकर्माले आइतबार संयुक्त वक्तव्य जारी गर्दै चार बुँदे मागसहित आन्दाेलन र कानुनी प्रकियामासमेत जाने चेतावनी दिएका छन् ।

२०७६ सालमै वडाध्यक्षसहित सदस्यहरूकाे सर्वसम्मतिमा वडा भवन साविक हिलेदेवी गाविसलाई उपलब्ध गराइएकाे जग्गामा नै निर्माण गर्ने वडा कार्यसमितिकाे निर्णय भएकाे तर पछि वडाध्यक्षकाे व्यक्तिगत स्वार्थमा वडाका सदस्यहरूलाई समेत थाहै नदिइ पालिकाकै जग्गामा डिपिआर गरि भवन बनाइएकाे सदस्यहरूकाे आराेप छ । 

बिराेधकैबीच पालिकाकाे जग्गामा वडा भवन बनेपछि वडा कार्यसमितिकाे पटक पटक बसेकाे बैठकले बिनसकेकाे भवन पालिकाले नै प्रयाेग गर्ने र वडाकाे लागि ५० लाख रूपैयाँ बजेट बिनियाेजन गर्ने सहमति भएकाे तर उक्त बजेट नयाँ भवन बनाउन प्रयाेग नभइ सदस्यहरूलाई थाहै नदिइ पुन: पहिले बनेकाे एक तले भवनमै अर्काे तला थप्न टेण्डर भएकाे भन्दै उनीहरू आन्दाेलित भएका हुन् । 

वडाध्यक्ष बाबुराम तामाङले एकलाैटी ढंगले महत्वपूर्ण निर्णय स्वेच्छाचारी ढंगले गर्ने गरेकाे भन्दै पालिका अध्यक्ष धावा लामाकाे पनि मिलेमताे रहेकाे उनीहरूले आराेप लगाएका छन् । 

वक्तब्यमा भनिएकाे छ-"पालिकाबाट प्रकाशित राताे किताबमा वडा भवन नभई निर्माणाधीन गाउँपालिकाकाे भवनबाट प्रकाशित गरिएकाे र पुन: त्यहि भवनमा वडाकाे भवन निर्माणका लागि विनियाेजित रकम खर्च गर्न वडाअध्य लागि पर्नुले आर्थिक प्रलाेभन र अनियमितता अवश्य रहेकाे देखिन्छ ।" 

उनीहरूले वडाकाे लागि विनियाेजन गरिएकाे ५० लाख वडाकै जग्गामा भवन निर्माणमा खर्चनुपर्ने, विवादित भवनमा तला थप्न आव्हान गरिएकाे बाेलपत्र खारेज गर्नुपर्ने, वडाध्यक्षकाे एकलाैटी बजेटबाट भएगरेका आर्थिक तथा विकासका कार्यक्रमहरूकाे छानबिन लगायतका चार बुँदे माग उठाएका छन् । 

वडाकाे जग्गामा भवन बनाउन जग्गा अपुग र भिरालाे भएकाले सहमतिमै पालिकाकाे जग्गामा वडा भवन बनाउन पालिका अध्यक्षसँग छलफल गरेरै एकतले भवन बनाइएकाे र अहिले अर्काे तला थप्न बाेलपत्र आव्हान भएकाे वडाध्यक्ष तामाङकाे दाबी छ ।

"पहिले वडाकाे जग्गामा भवन निर्माण गर्ने छलफल भएकै हाे तर जग्गा अपुग र भिरालाे भएपछि पालिकाकै जग्गामा वडा भवन बनाइएकाे हाे । वडाकाे जग्गानिर अहिले साथीहरूकाे व्यक्तिगत स्वार्थले जाेडिएकाे जस्ताे देखिन्छ त्यसैले अहिले याे विवाद झिकिएकाे हाे । त्यसकाे कुनै अर्थ छैन । मेराे व्यक्तिगत स्वार्थ हुन्थ्याे भने त वडा भवन धेरै तलमाथि गर्ने थिएँ हाेला नि । याे बेकारकाे विवाद हाे । पालिकाले नै उपलब्ध गराइदिएकाे भवनमा सुन्दर भवन बनेकाे छ । बाटाेमाथि र मुनिले केही फरक पर्ने देख्दिन । साथीहरूकाे खै के स्वार्थ छ मैले बुझ्रन सकिन ?" वडाध्यक्ष तामाङले गाउँसहरसँग भने ।

तर वडासदस्य कुलबहादुर थिङ भने वडाध्यक्षले पालिकाकै जग्गमा वडा भवन नभइ नहुनुले वडाध्यक्षकै आर्थिक चलखेलकाे आशंका गर्छन् ।

गाउँसहरसँग कुरा गर्दै सदस्य थिङले भने- "वडाध्यक्षसहित सबै सदस्यले सर्वसम्मतिले पारित गरेकाे जग्गामा वडा भवन नबनाएर एकलाैटी रूपमा पालिका अध्यक्षसँग साँठगाँठ मिलाएर पालिकाकाे जग्गामा वडा भवन बनाउनु, पटक पटक बिराेधपछि फेरि वडाकै जग्गामा भवन बनाउने सहमति भइसकेकाे बेला पुन: त्यहि विवादित भवनमा तला थप्न बाेलपत्र आव्हान गर्नुले पक्कै आर्थिक चलखेल छ भन्ने हाम्राे आशंका छ । हामी याे बाेलपत्र खारेज गरेर वडाकै जग्गामा तत्काल भवन बनाउन बाेलपत्र आव्हान गर्न माग गर्दछाैं । जग्गा नपुगकाे विषयमा उतिबेलै जग्गा दिन दाताहरूसँग तयार भइ पास गर्न जान तयार भएकाे तर अन्तिम समयमा वडाध्यक्षले नै आलटाल गरेर टारिदिएकाे हाे । वडाकाे भवन निर्माणस्थल वरपरका जग्गाधनीहरूले अहिले पनि जग्गा दिनहरू तयार छन् । वडाध्यक्षकाे मनाेमानी अब हामी सहँदैनाैं । उनका अनियमितता र आर्थिक चलखेलकाे अब हामी भण्डाफाेर गर्दै जानेछाैँ ।" 

पालिका अध्यक्ष धावा लामाले वडा भवनमा आफ्नाे नाम जाेड्नु बेकार कुरा भएकाे बताउँछन् । वडा कार्यसमितिकाे बैठकले पारित गरेर बनाइएकाे भवनमा अहिले उनीहरूकाे एक अर्काेकाे व्यक्तिगत स्वार्थले मेराे नाम जाेड्नुमा कुनै सत्यता नरहेकाे बताए ।

अध्यक्ष लामाले गाउँसहरसँग भने- "पालिकाले हरेक वडालाई बजेट बिनियाेजन गरेकाे हाे उहाँहरूकै निर्णयअनुसार वडा भवन निर्माण भएर दाेस्राे तला थप्न अहिले सार्वजनिक सूचना प्रकाशित गरेर बाेलपत्र आव्हान गरिएकाे हाे । उहाँहरूकाे वडाभित्रकाे विवादसँग पालिकाकाे कुनै सम्बन्ध छैन । भवन निर्माण प्रक्रियासम्मत छ । कहाँ बनाउने भन्ने कुरा उहाँहरूले त्यतिबेलै निर्णय गरेकाेले अहिलेकाे विवादकाे कुनै तक छैन ।" 

असन्तुष्ट सदस्यहरूकाे संयुक्त वक्तब्य यस्ताे छ :

गाउँ सहर संवाददाता

Dipendra Khadka लेख्नुहुन्छ ३१ जेठ, २०७८ ११:०९ am

गाउँ शहर लाई धन्यवाद यथार्थ कुरा बाहिर ल्याईदीएको मा ।

Narayan Bahadur Khadka लेख्नुहुन्छ ३१ जेठ, २०७८ ०९:२२ am

सबैलाई अनुकुल ,सहज , मापदण्ड पुग्नेगरी , वडाकमिटिको सर्बसम्बत निर्णय र पारदर्शीता अप्नाइ बिकास गर्नु उचित हुन्छ।

तपाईँको मत