किन मान्दैनन् छोरीहरू विवाह गर्न
- डा. रेणुका साेलु
- २४ जेठ सोमबार, २०७८ | २२:४६:०० मा प्रकाशित

केही सामान किन्नु थियो र बिहानै चोकमा पुगेँ । पसलमा भिडभाड भएको हुनाले अलि टाढा नै उभिएँ । एक जना लगभग सत्तरी आसपासका देखिने मान्छेले आफ्नै गुनासो गन्थन सुनाएर त्यो भिडलाई अल्मल्याइरहेका थिए । थाहा छैन उनी को हुन्, कहाँ बस्छन्, के गर्छन् ! कुरा गराई र लवाइखवाई हेर्दा कुनै निकायका माथिल्लै पदासिन मान्छे हुन् भन्ने अनुमान गर्न सकिन्थ्यो । उनीसँगै अर्का उस्तै उमेरका साथी पनि थिए, सायद वाकिङमा सँगै निस्कने यात्री होलान् । चुरोटको धुवाँसंगै आफ्ना वेदनाका मुस्लाहरू उडाइरहेका थिए ।
'जति कमाए नि, यो सहरमा जति नै ठूलो घरबङ्गला बनाए पनि, जतिसुकै महङ्गो गाडी चढेर हिँडे पनि के गर्नु हजुर यो छाती भत्भती नपोलेको समय हुँदैन । आफ्ना दौँतेरी सबैको काखभरिका नातिनातिना भैसके, आफ्नोचाहिँ कति दुःख गरेर हुर्काएँ, पढाएँ, बढाएँ छोरी अहिले बिहे गर्नै मान्दिन । दिदीको नगरी भाइको गरिदिऊँ न त भनौँ भने भोलि भाइको भैसकेपछि दिदीको बिहे नहोला फेरि ! बडो चिन्ता हुनेरछ केटाकेटी जिद्दी भएपछि ।'
'अनि अस्ति छोरी आएको बेला बिहे गर्दिनुपर्थ्यो नि त । जस्ता नि केटा पाइहालिन्थ्यो, त्यतिकी पढेलेखेकी केटी अनि हजुरजस्तो प्रोफाइल भएको परिवार पाएपछि रोजी रोजी पाइन्थ्यो नि केटाहरू !' उनका चुरोटे साथी यसो भन्दैथिए । 'कहाँ मान्नु ! बिहेको कुरा चल्न थालेपछि नै यहाँ आइएनजिओको त्यस्तो राम्रो जागिर छोडेर अस्ट्रेलिया भासिएकी हो । खै किन हो बिहेको त कुरा उठ्नै दिन्न । यही कुरा उठ्छ भनेर गएदेखि दशक बित्दा नि घर फर्केर आइन । यसपाली पनि बिहेको कुरा ननिकाल्ने भए मात्रै घर आउँछु नत्र आउँदिन भनेर वाचा गराएर आएकी हो । जीन्दगीभरि कमाएको नाम, दाम, इज्जत, इमानको के अर्थ भयो र अब मर्नेबेलामा चिन्ता नै चिन्ताले जलेर मर्नुपर्ने रहेछ । न निन्द्रा छ यो ज्यानमा न भोक छ, मात्रै शोक नै शोक छ ! एउटा स्थानमा पहिचान सार्वजनिक भैसकेपछि पीडा लुकाएर बाँच्न अत्यन्तै सकस हुँदो रहेछ ! यहि एउटा चुरोट पीडा भुलाउने साथी भएको छ अचेल......'
बाँकी चुरोटको ठुटो पर्खालमा ठोसे र बाटो लागे भद्र देखिएका चुरोटे जोडी । ती बाटो लाग्नासाथै पसले दिदी फतफताउन थालिन् फेरि 'छोराछोरीले सानैदेखि आमालाई बाउले गाली गरेको, नोकरको व्यवहार गरेको देखेका छन् अनि के बिहे गर्न मान्छे त त्यो छोरी ! संगसंगै जागिर जाने, कमाएर ल्याएको पैसा घरखर्चमै चलाउने आमालाई घर, अफिस परिवार,पाहुना, बुढाबुढी, केटाकेटि स्याहारसुसार सबै जिम्मा लाएको छ, सुको सघाउनु छैन, उमेर र पैसाको मातमा बाहिर केटिहरूसँग रमाउने अनि स्वास्नीलाई चाहिँ उल्टो शङ्का मात्रै गरिरहने, रक्सी खाएर रातिराति घर आउने अनि हात हाल्ने, स्वास्नीलाई चाहिँ उसको वंश जन्माउने मेसिनको जस्ती त्यही बच्चा पाउने बनाउने अनि उसको वास्तापास्ता नगरी बाहिर छानी छानी केटी फेर्दै रमाइरहने खराब मान्छे हो यो । छोराछोरी बोलेनन् भनेर हुन्छ र ! बाउआमाको कसकाे गल्ती छ भनेर त नियालिरहेका हुन्छ्न्, बोल्न पो मिल्दैन र चुपचाप सहन्छ्न् । त्यो नानी पनि बाउको त्यै बानीले बिरक्तिएर बिदेश भासिएकी हो । अब त पैंतिस नै नाघेजस्तो लाग्छ के बिहे हुनु ! यो बुढाले कुकुरले नपाउने दुख पाउँछ र पाउनु पनि पर्छ यस्ता स्वास्नी पीडकले । यतिका वर्ष त्यो स्वास्नीचाहिँलाई कम्ता रुवाएको छ यसले ! हो त्यो आँसु त लागिहाल्छ नि ! उमेरमा मलाई यस्तै पुगिहाल्छ भनेर स्वास्नीछोराछोरी वास्ता गरेन, बाहिरकै मस्तिमा रमायो, परिवारको जिम्मेवारी के हो बुझेन! पैसा दिए पछि भैहाल्छ सम्झ्यो ! पैसामात्र दिएर पुग्ने भए किन लोग्ने बाउ भन्नुपर्यो साहुजी भने भैहाल्यो नि । अब बूढो हुँदै गएपछि बाहिरका त्यसका रखौटेहरुले नि छोडिदिए, छोराछोरीले पनि छोडिदिए अनि स्वास्नीले पनि पहिलादेखि दिएको पीडाको पैँचो तिरिरहन्छिन् वचन नै पिच्छे ब्याजसहित् ।
पहिला पो सानै थिए केटाकेटी अनि उनीहरूको मानसिकतामा नकारात्मक असर पर्ला कि भनेर सबै कुकर्म सहेर बसिन् अब त छोराछोरी हुर्किसके, बाउको सबै कर्तुत थाह पाएकै छन्, नबोलेका मात्र पो हुन् त, आमा गलत कि बाउ गलत त नियालिरहेका हुन्छन् नि बच्चाहरूले । आफ्नी जन्मदिने आमालाई दिएको पीडाको बदला लिइहाल्छन नि ! यो बुढेसकालमा खुकुरी हान्नुपर्छ र दुखाउनलाई !! आफ्नै सन्तानले वास्ता नगरिदिएपछि कति दुख्दो हो त ! अब बल्ल थाहा पाउँदो हो स्वास्नीलाई वास्ता नगर्दा कति दुखेको खपेर बसेकी रहिछे भनेर । अब अहिले दिनैको पाँच बट्टा चुरोट सल्कायो धुवाँ उडायो बस्यो, यस्तालाई ठिक्क परेको छ .....'
नचिनेका मान्छेका बारेमा धेरै के चासो लिनु भनेर म सामान किनेर फर्किएँ । मन भने चैन हुन सकेन । अनेक जिज्ञासाहरू मडारिएर मनभित्रै कुस्ती खेल्न थाले - 'त्यो छोरीले बिहे गर्न किन मानिन ? कारण के थियो ? त्यो बाउले आमालाई मालिक र नोकरको जस्तो व्यवहार नगरेर मुना र मदनको जस्तो प्रेम वर्षाएको भए, आमालाई दुख्दा बाउले ऐया भन्ने, बाउलाई दुख्दा आमाले ऐया भन्ने वातावरण भइदिएको भए त्यो छोरी विवाह शब्दसंग यति धेरै तर्सिनुपर्ने कारण हुन्थ्यो र ? अहिलेका प्रायः धेरै छोरीहरू किन विवाह शब्द नै सुन्न चाहँदैनन् ? र सुनिहाले पनि इरिटेट हुँदै तिरस्कार गर्छन् ? विवाह शब्दप्रति किन प्रेम टुटेको छ छोरीहरूको ? किन यो शब्द सुन्नासाथै घृणाको आगो ओकल्छन् ? कहिँ कतै उम्रिँदै गरेको प्रेम पनि विवाहमा परिणत भए लगतै किन अदालत पुग्छ छोडपत्रको जाहेरी बोकेर ? के प्रेम कमजोर हुन थालेको हो अचेल ? कि छोरीहरू उद्दण्ड हुन थालेका हुन् ? कतै अस्तित्ववोधको ज्वारभाटा दन्किन थालेको त होइन ? हरेक छोरीहरू यसैगरी विवाह शब्दप्रति नै खेद प्रकट गर्न थाले भने, यो शब्दप्रति नै वितृष्णा मात्र पैदा भइरह्यो भने सृष्टि बाँजो हुँदैन र यहाँ ? यदि यसो भयो भने यसको मुल कारक जरो को हुनसक्छ ?
प्राप्त प्रतिक्रिया
मार्मिक अनि अति सान्दर्भिक बिचार????????????म्याम हजुरको ????????????
सुन्दर विचार
सन्देशमुलक लेख !
Great thout Dee
आहा कति सान्दर्भिक विचार !
रेडिकल फेमिनिजम हाबी भएको सहरिया समाजको केही परिवारमा यो समस्या छ होला। नेपाली समाज त अहिलेपनि मागी बिबाहको चलन, वा बाबुले दिएको घर जाने चलन नै छ कि मेडम ।
लेख रचना धेरै धेरै राम्रो छ बधाई छ
आजको सन्धर्वमा प्रेम र विवाह धेरै जटिल बन्दै गएका छन् । सृष्टि नै त नरोकिएला। तर living together प्रचलन मौलाउदै जाला। अथवा अनौपचारिक सम्बन्ध बढ्दै जाला र बिना कानुनी अल्झन सजिलै बिछोड हुन सक्ने माध्यम खोज्लान् अबका पिढिहरुले । स्त्रीले पुरुष वा विर्य खरिद गरेर बच्चा जन्माउन खोज्लिन भने पुरुषले भाडामा बच्चा जन्माउने स्त्री खोज्ला, जुन प्रचलन पश्चिमा देशहरुमा मैलाउदै गएको छ त्यो यहाँ भित्रिण धेरै समय नलाग्ला। किनकि हामी चराचर जगतवादी , प्रकृतिवादी, मान्छेवादी नभएर स्वतन्त्रता र अधिकारको नाममा चरम/उग्र महिलावादी, पुरुषवादी हुँदैछौँ ।
समय सान्दर्बिक कुरा हाे म्याम याे नेपाली समाजमा हाल कायम छ!
हालको वास्तविकता नै यस्तै छ । ज्यादै राम्रो समय सापेक्ष वास्तविकता युक्त लेख ....
प्रतिकृया दिनुहोस