गाउँ सहर

भारतीय नम्बरको कारमा मृत फेला तीन बालककाे पहिचान खुल्यो, गाडी मालिक र चालक पक्राउ

  • १९ बैशाख आइतबार, २०७८ | ०७:५४:०० मा प्रकाशित

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा मृत फेला परेका तीन बालकको पहिचान खुलेको छ ।

मृतक तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण रहेको प्रहरीले जनाएको छ ।

तीनैजना बालक बैशाख १६ गते अपरान्हदेखि हराएको भन्दै १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा अभिभावकको निवेदन परेको थियो ।

इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार घटनाको अनुसन्धानका लागि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेषज्ञ टोली तुलसीपुर ल्याइएको थियो ।

मृतक बालकका आफन्तले आफ्ना सन्तानको हत्या भएको दावी गर्दै हत्यारा पक्राउगरी कार्वाही गर्न माग गरेका छन् ।

उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार प्रहरी अनुसन्धानकालागि गाडी मालिक गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रहरीले शवलाई पोष्टमार्टमका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको छ । 

तपाईँको मत