फागुनसम्म साढे ६ खर्ब रेमिट्यान्स भित्रियो, अर्थतन्त्रको वृद्धि २.७ प्रक्षेपण, फागुनमा मूल्य वृद्धि
- गाउँ सहर संवाददाता
- ३१ चैत मंगलबार, २०७७ | ०७:४४:०० मा प्रकाशित
काठमाडाैं । चालु आर्थिक वर्षको आठ महिनामा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँको रेमिटयान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुनसम्म उक्त रकम भित्रिएकाे हाे ।
समीक्षा अवधिमा रेमिटयान्स आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई ६ खर्ब ४२ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटयान्स आप्रवाह १.५ प्रतिशतले बढेको थियो ।
तर नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महिना साउनमा रेमिट्यान्स २३ प्रतिशतले वृद्धि भएकोमा वृद्धिदर घट्दै फागुनमा ८.६ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकका अनुसार फागुनसम्ममा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
कोभिड–१९ महामारीका कारण वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या उल्लेख्यरुपमा घटेपछि देशको मुख्य आयस्रोत रेमिट्यान्स आम्दानी पनि प्रभावित हुन थालेको छ ।
महामारीका कारण रेमिट्यान्स पठाउने अवैध माध्यमहरू बन्द हुँदा गत आर्थिक वर्षसम्म बढेको रेमिट्यान्सको बृद्धिदर चालू आर्थिक वर्षबाट भने घट्न थालेको हो ।
राष्ट्र बैंकले कोभिडका कारण रेमिट्यान्स आम्दानी १० प्रतिशतसम्म गिरावट आउने अनुमान गरेको थियो भने विश्व बैंकले २० प्रतिशत असर पर्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, वार्षिक रूपमा अघिल्लो आवको तुलनामा गत आवमा रेमिट्यान्स ०.५ प्रतिशतले मात्र घटेको थियो ।
कोभिडको संक्रमण र लकडाउनका कारण गत वर्ष चैत महिनामा ३४ अर्ब रुपैयाँ मात्र रेमिट्यान्स भित्रिएको थियो । त्यसपछि क्रमशः बढ्दै असार महिनामा मात्र १६ अर्ब रेमिट्यान्स भित्रिएको थियो । साउनबाट भने रेमिट्यान्सको वृद्धिदर क्रमश घट्न थालेको हो ।
कोभिड र लकडाउनका कारण रेमिट्यान्स पठाउने अनौपचारिक च्यानल बन्द हुँदा वैधानिक च्यानलबाट रेमिट्यान्स वृद्धि भएको थियो । यसैगरी कोभिडका कारण रोजगारी गुमाएर फर्किने कामदारले एकमुस्ट रकम पठाएकाले पनि रेमिट्यान्स बढेको देखिएको थियो । यसैगरी अमेरिकी डलरको भाउ उच्च भएकाले रेमिट्यान्सको वृद्धि सकारात्मक भएको हो ।
कोभिडको असरले वैदेशिक रोजगारी प्रभावित भएकाले त्यसको असर रेमिट्यान्समा विस्तार देखिन थालेको केन्द्रीय बैंकले अनुमान गरेको छ ।
राष्ट्र बैंकको प्रतिवेदनमा चालू आर्थिक वर्षको फागुनसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको उल्लेख गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशतले बढेको थियो । यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले मात्र घटेको थियो ।
अर्थतन्त्रको वृद्धि २.७
आगामी वर्ष २.७ प्रतिशतले अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । निरन्तर खुकुलो गर्दै लगिएको सामाजिक दुरीको मापदण्ड र प्राथमिकता प्राप्त जनसंख्यामा खोप लगाउने कार्य शुरु भएसँगै अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण बैंकले गरेको हो ।
सोमबार विश्व बैंकले सार्वजनिक गरेको नेपालको हरित, उत्थानशिल र समावेशी पुनर्लाभका लागि प्रतिस्पर्धात्मक निर्यातलगायत महत्वपूर्ण विषयमा केन्द्रित नेपाल विकास अपडेटमा मनसुनमा आएको अनुकूलता र कोभिडपछिको पुनरुत्थान कार्यक्रमले अर्थतन्त्र वृद्धि हुने उल्लेख छ । प्रतिवेदनमा पछिल्लो समय मनसुनमा देखिएको अनुकूलताका कारण कृषि उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको उल्लेख र कोभिड–१९ पश्चातको पुनर्लाभलाई तिव्रता दिन र नेपाललाई हरित, उत्थानशिल र समावेशी विकासतर्फ अगाडि बढाउन निर्यात दरिलो क्षेत्र हुन सक्ने उल्लेख छ ।
कोभिड–१९ पछिको पर्यटन बजारसँग समाञ्जस्य हुनेगरी सुधार नगरेसम्म पर्यटन क्षेत्रको पुनरुत्थान पूर्ण रुपमा नहुने तथा आयात र विप्रेषणमा सामान्य सुधार भई निर्यात यथास्थितिमा रहन सक्ने विश्लेषणका आधारमा आर्थिक वर्ष २०७८-२०७९ मा चालु खाता घाटा घट्न गई कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को १.२ प्रतिशत पुग्ने अनुमान प्रतिवेदनमा गरिएको छ ।
राजस्व संकलन लक्ष्य अनुसार हुन सक्ने सम्भावना न्यून भएको र आर्थिक राहतका उपायहरु, खोप कार्यक्रम र आयोजनाहरु पुनः सन्चालनमा ल्याउन लाग्ने अतिरिक्त खर्चहरुले आर्थिक वर्ष २०७८-२०७९ को वित्तिय घाटा बढाएर सो आर्थिक वर्षको जीडीपीको ७ प्रतिशत नजिक पु-याउने देखिएको प्रतिवेदनले औल्याएको छ ।
फागुनमा मूल्य वृद्धि
चालु आर्थिक वर्षको फागुन महिनामा उपभोक्ता मुल्य वृद्धि बढेको छ । यो अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको माघ महिनामा बार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७० प्रतिशत थियो । गत आर्थिक वर्षको यहि अवधिमा मुद्रास्फीति ६.७० प्रतिशत रहेको थियो ।
चालु आवको फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४१ प्रतिशत रहेको छ ।
२०७६ फागुनको तुलनामा २०७७ फागुनमा घ्यू तथा तेल, फलफूल, सुर्तिजन्य वस्तुहरु र दाल तथा गेडागुडी उपसमुहको मुल्यवृद्धि क्रमशः १९.९७ प्रतिशत, १३.६७ प्रतिशत, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत रहेको छ ।
चालु आवको सो अवधिमा काठमाडौं उपत्यकामा २.५० प्रतिशत, तराईमा ३.२५ प्रतिशत, पहाडमा ३.४० प्रतिशत र हिमालमा १.१४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ फागुनमा यी क्षेत्रहरुमा क्रमशः ७.६१ प्रतिशत, ६.८४ प्रतिशत, ५.५३ प्रतिशत र ५.४२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
२०७७ फागुनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.३० प्रतिशत रहेको छ । गत आवको सोही महिनामा यस्तो मुद्रास्फीति ६.५७ प्रतिशत रहेको थियो ।
चालु आवको फागुनसम्ममा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि गत वर्षको सोही महिनाको तुलनामा क्रमशः ८.४५ प्रतिशत, ५.५९ प्रतिशत र ३.४७ प्रतिशत रहेको छ । फागुनमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ४.९२ प्रतिशत रहेको छ ।
२०७७ फागुनमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.८९ प्रतिशतले बढेको छ । गत आवको सोही महिनामा उक्त सूचकाङ्क ७.५१ प्रतिशतले बढेको थियो । चालु आवको फागुनमा ज्यालादर सूचकाङ्क २.४३ प्रतिशतले बढेको छ भने तलव सूचकाङ्क यथावत रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस