अर्थतन्त्र

नेपाल टेलिकमको लाभांश पारित, आगामी दिनमा सेयरधनीलाई आकर्षक प्रतिफलकाे प्रतिवद्धता

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रति सेयर ४० रुपियाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार काठमाडौँ सम्पन्न १३ औँ वार्षिक साधारण सभाले यस्तो प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले कम्पनीको सञ्चालकमा सर्वसाधारण सेयरधनीको तर्फबाट अम्बिकाप्रसाद पौडेललाई निर्विरोध रूपमा चयन गरेको छ ।

साधारण सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले कोभिड–१९ को प्रभावका कारण तोकिएको समयभन्दा केही पछाडि वार्षिक साधारण सभा गर्नुपरेको स्पष्ट पार्दै सेयरधनीलाई आकर्षक प्रतिफल उपलब्ध गराउन र कम्पनीको वित्तीय अवस्था मजबुत बनाउन सञ्चालक समिति प्रतिबद्ध रहेको बताए । उनले कम्पनीको कुल आयको ५० प्रतिशतभन्दा अधिक हिस्सा आयकर, मूल्य अभिवृद्धि कर, सेवा शुल्क, रोयल्टी, लाभांशलगायत शीर्षकमा राजस्वको ढुकुटीमा जम्मा गर्दै आएको जानकारी गराए ।

उनले बन्दाबन्दीको अवधिमा कम्पनीले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस, जिरो ब्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीको तर्फबाट दुई करोड गरी जम्मा १२ करोड रुपियाँ योगदान गरेको पनि जानकारी दिए । साथै आर्थिक वर्ष २०७६/७७ मा कर तथा गैह्रकरबापत सरकारी राजस्वमा ३५ अर्ब पाँच करोड रुपियाँ बुझाएको जानकारी दिए ।

उनले महामारीको अवस्थामा शैक्षिक संस्थामा किफायती मूल्यमा वैकल्पिक शिक्षा प्रणाली अगाडि बढाउन ह्याप्पी लर्निङ प्याक र पाठशाला सीयूजी सिम उपलब्ध गराएको र यसले विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुगेको पनि जानकारी दिए ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष बस्यालले आ.व. २०७६/७७ को अन्तसम्ममा भ्वाइस सेवाको ग्राहक आधार करिब दुई करोड पुगेको छ । त्यस्तै इन्टरनेट सेवाको ग्राहक आधार ९.९३ प्रतिशतले वृद्धि भई करिब एक करोड ५० लाख पुगेको छ । जीएसएम सेवा कम्पनीको राजस्वको प्रमुख मेरुदण्डका रूपमा स्थापित भएको कम्पनीको भविष्य इन्टरनेट सेवामा रहेको स्वीकार गर्दै चौथो पुस्ताको फोरजी/एलटीई सेवा विस्तारमा स्रोत/साधन परिचालन गर्दै आएको बताए । उनले कम्पनीको भ्वाइस र इन्टरनेट सेवाको बजार हिस्सा क्रमशः ५२.६९ र ४८.६८ प्रतिशत पुगेको तथ्याङ्क प्रस्तुत गरे ।

उनले आव २०७६/७७ मा कुल राजस्व र खुद नाफा क्रमशः ४२ अर्ब ९९ करोड र नौ अर्ब ७५ करोड रुपियाँ कायम गर्न कम्पनी सफल भएको दाबी गरे ।

कम्पनीका चालू तथा नयाँ आयोजनाअन्तर्गत वायरलाइन, वायरलेस, सूचना प्रविधि तथा बिलिङ र ब्याकबोन प्रसारणतर्फ भइरहेका कार्यहरू बारेमा साधारण सभामा जानकारी गराइयो । पारित लाभांश रकम शुक्रबारदेखि नै एनएमबी बैङ्कमार्फत सेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत