राजनीति

नारायणहिटीबाट ओलीकाे गर्जन : 'केपी ओलीले राजतन्त्र फर्काउँछ रे ? कसैले नसोचे हुन्छ’ 

काठमाडौं । प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनकारी कदम चालेको आरोप खेपिरहेका प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली समूहले शुक्रबार नारायणहिटी दरबार संग्राहलय अगाडिकाे दरबारमार्गकाे सडकमा सभा सम्पन्न गरेकाे छ । 

आमसभालाई सम्बोधन गर्दै ओलीले केही मान्छेहरूले ओलीले राजतन्त्र फर्काउँछ रे भन्ने हल्ला फैलाएको बताएका छन् । 

‘बिहानसम्म पनि लैनचौरतिर हिँड्नेहरुले राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले भनेको सुनियो, जसले राजतन्त्र फाल्नका लागिका जेल बसेको छ । त्यसले राजतन्त्र फर्काउँछ ? हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्दै अघि बढ्छौं । हामीले लडेर ल्याएकाे संघीय लोकतान्त्रिक कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ’ ओलीले भने ।

संसद् विघटन गर्नुकाे कारण स्पष्ट पार्दै संसद्‌मा आएर काम गर्न नदिने र सरकारले काम गर्न सकेन भन्ने प्रवृत्तिको जवाफ जनताको ताजा जनादेशबाट खोज्नुपरेकाे बताए । 

ओलीले भने, ‘संसद्‌लाई ठीक ढंगले चल्न दिनुभएन । संसदलाई पंगु बनाउन थाल्नुभयो । पहिलाजस्तै किनबेचको, समीकरणको, जोडजामको राजनीति गर्न खोज्नुभयो । काम गर्नै नपाउने अवस्था आएपछि ताजा जनादेशका लागि जानुपर‍्यो । चुनावले नै सबै कुराको फैसला गर्छ ।’

दिनैपिच्छे विकासे आयोजना उद्घाटन भइरहेको छ 

ओलीले देशलाई ‘देशलाई समृद्ध नेपाल, सुखी नेपाली’ बनाइ छाड्ने बताएका छन् । उनले भने, ‘धेरै आयोजनाहरु बनिसकेका छन्। दिनदिनै विकासे आयोजनाको उद्घाटन भइरहेको छ । उत्तर चीनतर्फबाट पनि पारवहन र यातायात सहमति गर्‍यौं । बाटाहरु खोल्नुका साथै दक्षिणबाट नाकाहरु र बन्दरगाह खोलिए । चाँदनी दोधारामा सिञ्चाई आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन सकिएर काम सुरु हुने अवस्थामा पुगेको छ । पूर्वपश्चिम राजमार्ग ४-६ लेनमा चौडा गरिरहेका भइरहेको, केही दिनमै नेपालको रेल सञ्चालन हुने, पूर्वपश्चिम रेलमार्गको काम भइरहेको र उत्तरदक्षिण रेलमार्गको काम समेत अगाडि बढिरहेको छ ।’

यस्तै, चीनतर्फबाट पनि रेल आउँदै गर्नुका साथै दुई वटा नयाँ सुरुङ बनाएर एक घन्टामै चीनको नाका केरुङ पुग्न सक्ने उनले बताए। योसहित नेपाल सुरुङ युगमा पुगेको भन्दै उनले थानकोट नौविसे सुरुङ मार्गको काम छिट्टै सकिने दाबी गरे । उनले देशमा पछिल्लो केही वर्षभित्रै चार सय वटा पुल बनेको, छ हजार किलोमिटर सडक कालोपत्रे भएको बताए। साथै, विद्युत बनिरहेको, सबस्टेसन, ट्रान्समिसन समेत बनिरहेको उनको भनाई छ ।

ओलीले नेपालमा कसैले हिंसा मच्चाउन नसक्ने बताएका छन् । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालको मांसाहारी आन्दोलनप्रति लक्षित गर्दै उनले भने, ‘उहाँले ननभेज आन्दोलन भनेको के चिकन चिल्ली खान्छु भन्नुभएको हो, होइन उहाँले नरभक्षी आन्दोलन भन्नुभएको हो। प्रष्ट भए हुन्छ नेपालमा अब कसैले पनि नरभक्षी आन्दोलन गर्न सक्दैन।’ 

उनले सभामा उपस्थिति संख्याले आफ्नो समूहको आधिकारिकता पुष्टि गरेको र आफ्नो पार्टी नै मुल पार्टी रहेको दाबी गरे ।

फागुन १ गते बुटवल र ८ गते विराटनगरमा अर्को 'कास्टिङ' देखाउँछौँ

ओलीले फागुन १ गते बुटवल र ८ गते विराटनगरमा अर्को जनप्रदर्शन गर्ने घोषणा गरेका छन् । 'मैले अस्ति नै भनेको थिएँ। २३ गते कास्टिङ देखाउँछौँ भनेर । यो प्रदर्शन होइन । कास्टिङ मात्र हो । अब अर्को कास्टिङ फागुन १ गते बुटवल र ८ गते विराटनगरमा देखाउँछौँ,' उनले भने ।  

देश निर्वाचनतर्फ उन्मुख भइसकेकाले निर्वाचनले नयाँ सरकार बनाउने उनले बताए । देशलाई भड्खालोमा हाल्न सरकार ५ वर्ष चलाउन नदिएको बताए । ओली पक्षीय नेकपाले काठमाडौंमा गरेको सभामा उनले भने, ‘काम गर्नै नदिएपछि जनताकहाँ जाने निर्णय गरे । अस्थिरतातर्फ होइन। चुनावतिर जाऔं ।’

 

गाउँ सहर संवाददाता

तपाईँको मत