कोरोनाभाइरसका कारण १६ लाखले राेजगारी गुमाए; थपिए १२ लाख गरिब, पुनरुत्थान र राहतका लागि कुल ६ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने
[महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई बढी असर]
- गाउँ सहर संवाददाता
- ७ माघ बुधबार, २०७७ | ०९:५१:०० मा प्रकाशित

काठमाडाैँ । कोरोनाभाइरस महामारीका कारण नेपालको अर्थतन्त्र र मानव विकासमा नकारात्मक प्रभाव परेको सरकारले गरेको एउटा अध्ययनले देखाएको छ ।
राष्ट्रिय योजना आयोगलेले गरेको कोभिड-१९ सम्बन्धी अध्ययन प्रतिवेदनअनुसार, नेपाली अर्थतन्त्रमा महामारीका विभिन्न नकारात्मक असरहरू परेका छन् ।
महामारीकै कारण बेरोजगारको सङ्ख्या बढ्नु, गरिबीको रेखामुनिको जनसङ्ख्यामा वृद्धि भएको छ । साथै उद्याेगक्षेत्रमा नराम्राे असर पुगेकाे प्रतिवेदनमा उल्लेख छ ।
आयोगका सदस्य एवम् प्रवक्ता मीनबहादुर शाहीले कोरोनाभाइरसका कारण पुगेको क्षति कम गर्न र अर्थतन्त्रको पुनरुत्थान र राहतका लागि कुल ६ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए ।
अध्ययन प्रतिवेदनका अनुसार, नेपालमा कोरोनाभाइरस महामारीका कारण गरिबीको रेखामुनिका मानिसको सङ्ख्या बढेको छ ।
आयोगले सोमवार आफ्नो वेबसाइटमा राखेको वार्षिक प्रतिवेदनमा दिइएको उक्त अध्ययन प्रतिवेदनको सारांशअनुसार पन्ध्रौँ योजनाको गरिबी घटाउने लक्ष्यलाई कोरोनाभाइरस महामारीले असर पारेको उल्लेख छ ।
अध्ययन प्रतिवेदनको सारांशमा भनिएको छ, "आर्थिक वर्ष २०७६/७७ मा गरिबी १६.७ प्रतिशतमा पुर्याउने लक्ष्य योजना (पन्ध्रौँ) ले लिएकोमा बन्दाबन्दीको कारण आर्थिक वृद्धिदर सङ्कुचित रहन गएकोले सो आर्थिक वर्षमा करिब अपेक्षा गरिएको भन्दा ४ प्रतिशतले गरिबी बढेको र सो अनुसार थप १२ लाख जनसङ्ख्या गरिबीको रेखामुनि पर्न गएको अनुमान छ ।"
अघिल्लो वर्षसम्म नेपालमा कुल ५६ लाख गरिबीको रेखामुनिको जनसङ्ख्या रहेकोमा कोरोनाभाइरस महामारीपछि त्यो सङ्ख्या बढेर ६८ लाख पुगेको देखिएको हो ।
उक्त अध्ययनका अनुसार कोरोनाभाइरस महामारीका कारण नेपालमा देखापरेको अर्को ठूलो समस्या बेरोजगारीको हो ।
महामारीका कारण वैदेशिक रोजागारीमा रहेकाहरू स्वदेश फर्किनु परेको र देशभित्रै पनि कैयौँले रोजगारी गुमाउनुपरेको अवस्था सिर्जना हुँदा बेरोजगारको सङ्ख्यामा पनि निकै वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
गएको असारसम्ममा अनुमानित १६ लाख मानिसहरूले रोजगारी गुमाएको उक्त अध्ययनले देखाएको छ ।
त्यस्तै कोरोनाभाइरसका कारण नेपालको समग्र औद्योगिक र अन्य उत्पादकत्वमा पनि ह्रास आउने अध्ययनले देखाएको छ ।
यद्यपि कृषि क्षेत्र केही मात्रामा विस्तार हुने प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०७६/७७ को कुल ग्राहस्थ उत्पादनको वृद्धिदर ०.६ प्रतिशतमा सीमित रहने अनुमान छ। यसमध्ये कृषि क्षेत्र २.६ प्रतिशतले विस्तार हुने र गैरकृषि क्षेत्र ०.२ प्रतिशतले सङ्कुचन हुने देखिन्छ, प्रतिवेदनको सारांशमा भनिएकाे छ ।
राष्ट्रिय योजना आयोगका अनुसार कोरोनाभाइरस महामारीले "महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई बढी असर" पारेको छ ।
महामारीले गर्दा यस्तो समुदाय लक्षित कार्यक्रम सञ्चालन हुन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस