समाज

माघे संक्रान्तिकाे धार्मिक महत्वभित्र वैज्ञानिक र सामाजिक महिमा

काठमाडाैं । देशभर आज माघे संक्रान्ति पर्व मनाइँदैछ । मकर संक्रान्ति/माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो । यो माघ महिनाको पहिलो दिन पर्दछ । यस दिन सार्वजनिक बिदा दिइएकाे छ ।

ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो ।सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेतापनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ। ज्योतिषीय दृष्टिकोणमा सूर्यले धनु राशीबाट मकर राशीमा सङ्क्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर सङ्क्रान्ति रहन गएको हो । सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्त्व छ ।

माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्न (सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ । माघे सङ्क्रान्ति आउनुभन्दा एक दुई दिन अगाडि सङ्क्रान्तिको दिनलाई भनेर गाउँघरतिर आफ्नो घरमा भएका गल, बाउसो, खन्ती आदि खन्ने चिजबीज बोकेर नजीकको वनतर्फ लाग्ने मानिसहरूको भिड देख्न पाइन्छ । यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ । उक्त दिन नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ ।

धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक तबरबाट पनि माघे सङ्क्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ । धार्मिक रूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्मसम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ, त्यस्तै वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाइ हुने, मौसमअनुरूपका पोषक चिजबीज खाइने तथा निरोगी भइने हुनाले यो सकारात्मक नै देखिन्छ । माघेसङ्क्रान्तिलाई हाम्रो देशमा थरिथरिका जनजातीले किसिमकिसिमले मनाउने चलन छ, यस आलेखमा हाम्रो देशका बेग्लाबेग्लै ठाउँमा बसोबास गर्ने भिन्नभिन्न जनजातीसँग रहेको यस पर्वको सम्बन्ध र त्यसले सञ्चरण गर्ने एकता र सद्भावको सन्देशलाई समेट्ने प्रयास गरिएको छ ।

माघे/मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गासागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ । भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ । मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने-भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राहृमण आ-आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन् । महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन् । शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् ।
स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति ॥

(मकर संक्रान्ति का दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ । मौसम अनुसार यो समय जाडो हुनाले यसलाई सामाजिक सद्दभावको आधारमा पनि पुष्टि गर्न सकिन्छ ।)

महाभारत का अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गंगा ालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । त्यसैले माघे संक्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ ।

माघमासमा इन्द्रिय निग्रह गरेर सूर्याेदय अघि विधिपूर्वक स्नान गरी उनले शुद्ध आसनमा बसेर प्राणवायुलाई खिचेर कुण्डलिनी शक्तिलाई जगाएर नाकको अग्र भागमा सबै मन मष्तिष्कलाई केन्द्रिकृत गराएर पिताम्बरधारी चार हात, शंखचक्र गदाधारी, कौस्तुममणिले युक्त मकराकृति कुण्डलधारी, वनमालाले शोभित श्रीविष्णुको श्री विग्रह मूर्तिलाई स्मरण गरेर निराहार तपस्या गरे । एक महिनाको कठोर तपस्याले श्रीविष्णु खुशी भै दर्शन दिएर शंख जलले स्पर्श गरिदिंदा पुरुरवाको शरीर सम्पूर्णमा कान्तिले पूर्ण भयो र यसको प्रभाव स्वर्गसम्म पुग्दा उर्वशीले आएर वरमाला ग्रहण गरिन् । भृगुले यो कुरा विद्याधरलाई भनेपछि माघको विधिपूर्वक स्नान गरेर विद्याधरले पनि दिव्य देह प्राप्त गरे । चन्द्रावती जस्तै कुष्ठरोगमा पुगेकी देवीले शालीनदीमा स्नान गरी आफ्ना हराएका पति प्राप्त गरेको पावन प्रसंग जोडिएको श्रीस्वस्थानीको कथा माहात्म्य प्रारम्भ हुने यस माघ महिनाको स्नान पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना रहन्छ । सत्य युग तपस्याको युग हो । त्रेता युग ज्ञानको युग हो । द्वापर युग पूजाको युग हो । हामी अहिले कलियुगमा छौं । कलियुगमा दानको विशेष महत्व रहन्छ तर दान गरेरै सद्गति प्राप्त गर्ने सम्भावना पनि हाम्रो देखिन्न, दानको सट्टा स्नान गर्नाले पनि दानकै बराबरीको पुण्य प्राप्त हुने कुरा पुराणमा उल्लेख छ ।

दान केवल कुश पानी समातेर मात्र हुने होइन । सही अर्थमा दान गर्न नसक्नेहरुका लागि पनि माघ स्नान विशेष महत्व छ, पावन तीर्थ क्षेत्र धेरै छन् हाम्रो मुलुकमा । माघ स्नाको महत्व दर्शाउने क्रममा यस महिनामा स्नान गर्न योग्य तीर्थहरुको बारेमा प्रकाश पार्नु सान्दर्भिक हुन्छ । मूलतः दैनिक स्नान गरिरहेको क्षेत्र भन्दा फरक हुनुपर्ने यसको तात्पर्य हो । घरबाट केही बाहिर जुनसुकै नदी, कुवा, तलाउ, धारामा स्नान गर्दा पनि उत्तिकै फल प्राप्त हुने कुरा निर्विवाद छ। तर पनि केही विशेष क्षेत्रबारे परिचित हुन उपयुक्त हुन्छ। खासगरी माघ स्नान गर्नुपर्ने तीर्थ हो प्रयाग जहाँ गंगा, यमुना र सरस्वतीको संगम भएको छ । सम्पूर्ण तीर्थको राजा भन्न्छि प्रयाग तीर्थ क्षेत्रलाई । धर्म, अर्थ, काम र मोक्ष चार तत्व नै प्राप्त हुने हुँदा यो क्षेत्र विशेष स्मरणीय छ । यसका अतिरिक्त नैमिषारण्य क्षेत्र, कुरुक्षेत्र, हरिद्वार क्षेत्र, उज्जैन, सरयु, यमुना, द्वारका, अमरावती, सम्पूर्ण समुद्रको संगम गंगासागर, काशी , सप्तगोदावरी, कालाञ्जर, जगन्नाथपुरी, बदरीकाश्रम, महालय, ओकार क्षेत्र, पुरुषोत्तम क्षेत्र, नेपाल क्षेत्रको गोकर्ण, पशुपति क्षेत्रको गौरीघाट, साँखुको शालीनदी, पुस्कर क्षेत्र, कावेरी, कृष्णा वेणी, नर्मदा आदि सबै तीर्थ क्षेत्र माघ स्नानका मुख्य क्षेत्रहरु हुन् र पटनाको गया क्षेत्र खासगरी पितृ मोक्ष गर्ने क्षेत्र हुन् र नेपाल क्षेत्रको गोकर्ण उत्तरबाहिनी, त्रिवेणीधाम, कागवेनी, वाराह क्षेत्र, देवघाट क्षेत्र विशेष तीर्थ क्षेत्र हुन् । यी त भए शरीर क्षीण नहुन्जेल अर्थात् देह, इन्द्रियले सकुन्जेल यात्रा गरेर स्नान गर्ने क्षेत्रहरु । तर इन्द्रिय क्षीण भएपछि, खर्च कम हुँदै गएपछि, घर आँगन नै परदेश हुन थालेपछि एक माना चामल र १० रुपैयाँ पैसामा छोरा बुहारीहरुबाट अभिलेख राख्न थालेपछि के गर्ने? इन्द्रिय शिथिल नहुँदासम्म परिवार भरणपोषण, आम्दानी, व्यापार, जागीर, खेती कति हो कति, तन, मन, धन केवल परिवार सुखको लागि। तर अब शरीर ढल्न लाग्यो, मस्तीहरु गल्दै आए शरीर अर्काको जस्तो हुन लाग्यो। मुख धुन गाह्रो पर्न लाग्यो। अब उल्लेखित तीर्थ क्षेत्रको भ्रमण र व्यवहारतः दृष्टि पुग्न सम्भव छ? त्यसैले इन्द्रिय शिथिल नहुँदै सकेजति तीर्थ क्षेत्र पुगेको भए अब ओछ्यानमा बसेर तीर्थ क्षेत्रलाई सम्झदै मानसिक तीर्थ गर्ने हो। सबैभन्दा ठूलो तीर्थ क्षेत्र हो मनको तीर्थ जो यस प्रकार बताइएको छ

तीर्थको महिमालाई बुझेर माघ स्नानको ब्रतले केही उद्यापन, व्रतप्रतिष्ठा पनि गर्नु पर्ने हुन्छ । खासगरी काठ, कपास, कपडा, जुत्ता, वत्ती, अन्न, दान र खास गरी भगवान माधव नारायणको विशेष पूजा गर्नु पर्ने हुन्छ । मनुष्य जन्म सार्थक पार्नको लागि जीवनभरमा नै भए पनि एकपटक माघको व्रत लिनै पर्ने हुन्छ । जसबाट मानिसका सबै कार्य सिद्धि हुन्छ । पुत्र, पौत्र, मित्र, पत्नी, राज्य, स्वर्ग, मोक्ष सबै माघस्नानले नै प्राप्ति हुन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत