गाउँ सहर

सात मुख्य बौद्धस्थललाई समेटेर दीर्घकालीन गुरुयोजना निर्माण गरिने

  • ३० कार्तिक आइतबार, २०७७ | ०७:२२:०० मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तुमा रहेका भगवान् गौतम बुद्धसँग सम्बन्धित पुरातात्विक स्थलहरुलाई समेटेर गुरुयोजना निर्माण हुने भएको छ ।  प्रदेश नं ५ को महत्वपूर्ण पर्यटकीय सम्पदाका रूपमा लिइँदै आएको राजा शुद्धोदनको दरबार तिलौराकोट, हजारौँ शाक्यको सामूहिक बधस्थल सगरहवा, बुद्धले पहिलो पटक भिक्षुलाई सम्बोधन गरेको कुदान, कनकमुनि बुद्धको जन्मथलो निग्लिहवा, क्रकुच्छन्द बुद्धको जन्मथलो गोटिहवा र बौद्धकालीन स्तूप भेटिएको अरौराकोटसहितका सात मुख्य बौद्धस्थललाई समेटेर दीर्घकालीन गुरुयोजना निर्माण गर्न लागिएको छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीका अनुसार बृहत्तर लुम्बिनी क्षेत्र बौद्ध परिपथको योजना तथा लुम्बिनी, कपिलवस्तु र रामग्रामभित्रका सबै बौद्ध सम्पदालाई एउटै खाकामा राख्ने योजना रहेको बताउनुभयो । “तिलौराकोटलाई केन्द्रमा राखी गुरुयोजना निर्माण गरिनेछ”, उनले भने, “नयाँ अध्ययनअनुसार तिलौराकोट क्षेत्रमा नेपालको सबैभन्दा पुरानो सभ्यता फेला परेको छ ।” विज्ञका अनुसार बुद्धभन्दा १६ सय वर्षअगाडिको सभ्यता देखिएको छ । “जुन एसियामै तक्षशिला र गान्धार क्षेत्रसँग तुलना गर्न सकिन्छ”, उनले भने, “संरचनालाई दीर्घकालीन संरक्षणको प्राथमिकता दिने गरी योजना बनाइनेछ, करीब ६ महिनाभित्र गुरुयोजनाको खाका निर्माण गरिनेछ ।” 

लुम्बिनी आउने पर्यटकलाई तिलौराकोटसम्म पु¥याउने लक्ष्यसमेत राखिएको छ । पर्यटक घुम्नका लागि बाटो, बसपार्क, आराम गर्ने ठाउँ, स्थानीय सामग्री किनमेलका गर्ने स्थलसमेत निर्माण गरिने योजना  छ । कपिलवस्तु तथा बौद्धकालीन इतिहास सिक्ने थलोका रूपमा समेत यसलाई विकास गरिनेछ । गुरुयोजनाका लागि विज्ञले एक वर्षअगाडि देखि काम भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

जग्गा अधिग्रहणसहित मुख्य संरचना निर्माणका लागि रु १६ अर्ब लाग्ने अनुमान गरिएको छ । गुरुयोजना निर्माणका लागि पुरातत्वविज्ञ डा सञ्जय उप्रेतीले काम गर्दै आएका छन् । उप्रेतीले रामग्रामको गुरुयोजनासमेत निर्माण गरेका थिए । कोषले तिलौराकोटको गुरुयोजना निर्माणका लागि पहिलो चरणमा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, जननिर्वाचित प्रतिनिधि, स्थानीय समाजसेवी र सरोकार पक्षसँग छलफलसमेत गरेको छ । रासस 

तपाईँको मत