ब्लग

‘मास्टरी एउटा पेशा हो, जीवन हाेइन’

हिजो मैले फेसबुको स्टोरीमा मेरो वजन घटेको जनाउँदै फोटो हालेको थिएँ । म कुनैपनि कुराको तत्काल उत्तर नदिन आफूलाई सम्हाल्ने प्रयास गर्छु तर कहिलेकहिँ जति गरेपनि त्यो कुराले मलाई पटक-पटक डिस्टर्ब गर्छ भने म कपीको कुनै पानामा मज्जाले लेखेर घरको कुनामा फालिदिन्छु अनि मेरो मन शान्त हुन्छ । मेरो वजन घटेको स्टोरीवालामा फोटोमा मास्टरनी भएर दुब्लो सुहाउँदैन भन्ने कमेन्ट आउँछ । अनि मास्टरनी पाइन्ट लाएर हिँड्नु विद्यार्थीले नपत्याउलान नि त ? मोटो हुनु राम्रो हैन, आवश्यक भन्दा बढि मोटाउँदै गयोभने रोगहरु लग्न सक्छ । सुगर अनि थाईराइड जस्ता समस्या देखिन सक्छ । अब मास्टरनी भएँ भन्दैमा आफ्नो शरीर सन्तुलनमा राख्न नपाउनु ? अनि के मेरो लुगाले कि मेरो ज्ञानले पढाउने  हो भन्न मन थियो तर भनिन सोचेँ उसले कुनै गलत गरेकी छैन उ पनि यही समाजमा जन्मी-हुर्की र यही समाजले सिकाएको कुरा बोल्दै छे । उसलाई जवाफ दिँदा उसले मात्र सुन्ली बरु लेखेर कुनै पत्रिकामा दिन्छु कम से कम १० जनाले सुन्छन भने लाग्यो । हो म मास्टर र ब्याचलरको विधार्थीलाई पढाउँछु तर मेरो प्रोफेसन मेरो स्वस्थ्यभन्दा पछि आउँछ, मेरो स्वतन्त्रता भन्दा पछि आउँछ किनकि पेशालाई मैले चुनेकी हो ।

मैले ख्याल नगर्न खोज्दा खोज्दै पनि पटक-पटक त्यही कुरामा मन जान्छ । मास्टरनी अनि दुब्लो यहाँ के कनेक्सन रहेछ त हाम्रो समाजमा भनेर समाजका यीसंग जोडिएका केहि पाटाहरु खोतल्न थाल्छु । समाजशास्त्र पढेतापनि समाजलाई चिरफार नै गरेर हेर्ने गरी शास्त्री भइसकेको भने छैन तर त्यो बाटोमा भने पाइला चाल्दै छु । सम्झेँ मैले देखेका मास्टर-मास्टरनी कस्ता रहेछन त ? आज मात्र एउटा इटहरीमा एक कबिले आत्महत्या गरिन रे सानो छोरोको पनि ख्याल नगरी, भने यही समाजसंग कति बाध्य भइछिन् त हार मान्न ? त्यत्रो पढे लेखेकी कबि, साहित्यकार कतिलाई जिउने आभास दिएर आफैँ सेलाउन बाध्य भइन् । आत्महत्या रोकथाम दिवसको हप्ता पुग्न नपाउँदा यस्ता घटना घट्दा मन खिन्न हुन्छ । यहाँ हरेक मानिसलाई एउटा फ्रेम भित्र हालिदिएको छ । यहाँ कुनै महिला पुरुष भन्ने कुरा छैन सबै एउटा फ्रेम भित्र जिउन बाध्य बनाएको छ । मैले विदेशमा रहँदा धेरै साथीहरु नेपाल किन नफर्किने भन्ने प्रश्न गर्थेँ प्रायः सबैको उत्तर उस्तै हुन्थ्यो नेपालमा धेरै चियोचर्चा हुन्छ । लाउन र खान हिँड्न स्वतन्त्रता छैन अनि तिनै कुराको लोभमा परदेशमा भासिन बाध्य हुन्छन् ।

लगभग एकवर्ष अगाडि एकजना पुरूष साथी पेशामा मास्टरसंग अचानक भेट भयो । उहाँको एउटा हातमा बियरको ग्लास, अगाडि चुरोटको बट्टा र साथमा प्रेमिका हुनुहुन्थ्यो । म चितवनबाट फर्किँदा खानाको लागि भनेर परिवारसहित त्यो रिसोर्टमा छिरेको थिएँ । मास्टर साहेब यति रातो पिरो हुनु भयो र कामे जस्तो देखिनु हुन्थ्यो लग्थ्यो उहाँले निकै ठूलो अपराध गर्नु भएको छ । मलाई देखेपछि म्याम विदार्थीसंग मेरो यो अवस्थाको कुरा नगरी दिनु होला है । यी कुराबाट थाह हुन्छ कि महिला मात्र हैन पुरूष पनि फ्रेम भित्र बधियेकै रहेछन् । समग्र हेर्ने हो भने महिला बढि होलान तर समाजभित्र संरचना, संरचना  भित्रको हामी आफैँले बनाएको नियमको सिकार भने महिला पुरूष दुवै छन् । हामी कहाँ के भ्रम छ भने पश्चिमीकारण हुँदै जाँदा हाम्रो सस्कृति लोप हुँदै छ अनि पश्चिमीकारणले गर्दा हाम्रा छोराछोरी बिग्रे । मलाई लाग्छ समस्या पश्चिमीकरणमा हाेइन हाम्रो साँगुरिएको सोचमा छ जुन हामी कहिले निकाल्न चाहँदैनौँ । 

जतिसुकै नराम्रो नै किन नहोस हिन्दू सँस्कृति राम्रो भन्न छाड्दैनौँ चाहे यो धर्मले छुत र अछुत छुट्याओस, रजस्वला भएकी छोरी छाउपडी मै मारिउन, पिण्ड दिन ५ छोरीपछि नि छोरा नै आस गरौँ, छोरी पराई छोरा आफ्नो नै सोचौँ । हामीले आफ्नै संस्कृति राम्रो लाग्छ, जुन संस्कृतिमा परि धेरै चेली जले दाइजोको नाममा, हाम्रै संस्कृति राम्रो छ, काजक्रिया गर्दा ऋण खोजेर सम्पूर्ण कर्म गर्नुपर्ने । हुनेलाई ठीक छ नहुनेले कसरी गर्ने मतलब छैन यहाँ मात्र संस्कृति जोगाउनसंग मतलब छ । सकी-नसकी अरुको लागि ऋण लिएर संस्कृति जोगाउन ठुलै विवाह गर्नुपर्छ । यी त भए हाम्रा धर्म र संस्कृति जुन हामी हरेक पल बचाउन खोज्छौँ किनकी हामी आफूले ठीक नलागेको संग भन्दा यो समाजलाई लाग्ने ठीकसंग नाता गाँसेको छौँ अनि यही समाजले निर्धारण गरिदिएको रहेछ मास्टर र मास्टरनी वाला फ्रेम पनि ।

म कलेजमा हुँदै निकै बोल्ड, सामजिक समस्याको मुद्दा उठाउँदै आउने म्यामले मेरो जुत्तामा हेर्दै प्रश्न गर्नु भएको थियो । कुर्तामा पनि यस्तो स्पोर्ट जुत्ता ? मैले हाँस्दै भने मलाई सजिलो लाग्छ अरुलाई जेसुकै लागोस फेरी मास्टरनीले कलेज आउँदा यस्तो लाउनु हुँदैन भनेर भनेर अग्लो (हिलवाला) जुत्ता लगाउँदा ढाड दुख्ने समस्या हुन्छ । हामीफेरी धेरैबेर उभिनुपर्छ त्यसकारण स्वस्थ नै ठूलो धन हो विचार गर्नु पर्यो नि भने । मेरो उत्तरको २/३ पछि उहाँको खुट्टामा पनि तेस्तै जुत्ता देखेँ । खुसी लाग्यो किनकि उहाँ पेशा संगै स्वास्थ्यलाई ख्याल गर्दै हुनुहुन्थ्यो ।

म अस्ट्रेलियामा हुँदा मेरो मास्टरनीले  मिनी स्कर्टमा आएर बाहिर बसेर चुरोटको धुवाँ फाल्दा यसले के पढाउँछे  हेर्दै गुण्डनी जस्ती छे जस्तो भयो किनभने म नेपालको हावा पानीमा हुर्केँ म्याम भनेको टक्क सारी कि कुर्ता लगाएर, जेन्टल तरिकाबाट प्रस्तुत हुनुपर्छ भन्नेमा थिएँ । मेरो सोचाई बदलिन निकै समय लाग्यो अनि बुझेँ ज्ञान हाम्रो शरीर कस्तो छ भनेमा हाेइन हाम्रो सामाजिक व्यवहारमा झुल्किनु पर्छ किनकि हामी सामाजिक प्राणी हौँ र यही समाजमा बसेर सबैले राम्रो हुने काम गर्न सकियो भने हामी सबै कुशल मास्टर । मोटो, पातलो शरीरले ज्ञानको निर्धारण गर्ने भए अस्टबक्रको ज्ञानको कदर हुँदैन थियो होला । मास्टरी एउटा पेशा हो, जीवन हाेइन । मास्टर सिक्न र सिकाउनलाई जन्मेको पक्कै हो तर जीवनलाई बिर्सेर हाेइन । हरेक पेशालाई सम्मान गरौँ ।

Mahesh लेख्नुहुन्छ २० असोज, २०७७ २:१० pm

Kasto opposite conclusion nikalnubhayo. Aru pesha pesha hola ... Tara mastari jeevan nai ho ki jasto lagchha...kaha chhan ra tyasta Acharya (mastar haru) ...ani samaj ko yasto adhogati kin na hos ta!

तपाईँको मत