पत्र-पत्रिकाबाट

पशुपतिनाथको प्राचीनता मासिने गुरुयोजनाप्रति चिन्ता

  • ११ श्रावण आइतबार, २०७७ | ०६:५३:०० मा प्रकाशित

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरेको छ । कोषको कार्यकारी परिषद्बाट पारित गुरुयोजनामा पशुपतिनाथ मन्दिरको पश्चिमी ढोका भत्काउने, आर्यघाट हटाउने र ब्रह्मनाल सार्नेसम्मका योजना छन् । गुरुयोजनाले प्राचीनता मास्ने भन्दै संरक्षण अभियन्ता र स्थानीय बासिन्दाले आपत्ति जनाएका छन् ।

परिषद्ले गत फागुनमा पारित गरेर गुरुयोजना मन्त्रिपरिषद्मा पठाएको थियो । दुई साताअघि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल हुँदा सम्पदाविज्ञहरूले गुरुयोजनामाथि आपत्ति जनाएका थिए । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीयसँग छलफल गर्न कोषलाई निर्देशन दिएको थियो । गुरुयोजना कस्तो बन्दै छ भन्ने जानकारीसमेत नदिएर छलफल आयोजना गरिएको भन्दै स्थानीयले बहिष्कार गरेका थिए ।

‘पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परासँग सम्बन्धित स्थानीय, संघसंस्था तथा सरोकारवालालाई फेरि एकचोटि गुरुयोजनाका नाममा पशुपति क्षेत्र विकास कोषले आक्रोशित र चिन्तित बनाएको छ,’ कोषलाई विरोधपत्र बुझाउँदै स्थानीय आशमान संगतले भने, ‘कोषले सैद्धान्तिक रूपमा पास गरी मन्त्रिपरिषद्मा पठाएको गुरुयोजनामा हामी सरोकारवाला कसैको पनि राय, सुझाव वा धारणा सम्बोधन गरिएको छैन ।’ पशुपतिनाथ र यससँग सम्बन्धित मौलिक परम्परा, धर्म, संस्कृति, चाडपर्व र सम्पदा सबैलाई बेवास्ता गर्दै अत्याधुनिक भौतिक सम्पदा निर्माण र यससँग सम्बन्धित व्यापारिक चलखेललाई मात्रै प्राथमिकता दिएर गुरुयोजना बनाइएको विरोधपत्रमा उल्लेख छ ।

गुरुयोजना तीन चरणमा ५५ योजनामार्फत सम्पन्न गर्ने लक्ष्य राखिएको छ । गुरुयोजनाअनुसार पहिलो चरणमा ०७७/७८ देखि ०८१/८२ सम्म, दोस्रो चरणमा ०८२/८३ देखि ०८६/८७ र तेस्रो चरणमा ०८७/८८ देखि ०९१/९२ सम्म काम गरिनेछ । पहिलो चरणमा पशुपति दर्शनपथको निर्माण, सूचना केन्द्र, स्नानगृह, शौचालय, पूजा सामग्री कक्ष, विश्राम स्थल, जुत्ताचप्पल सुरक्षा, स्वास्थ्य सेवा, सामुदायिक सेवा, पशुपतिनाथ प्रांगण विस्तार, गुह्येश्वरी प्रांगण विस्तार, विश्वरूप मन्दिर सत्तल पुनर्निर्माण, पशुपति अध्ययन केन्द्र निर्माण, गोठाटारस्थित सेवा क्षेत्र भू–उपयोग योजनालगायत २७ वटा योजना छन् । दोस्रो चरणमा यज्ञशाला, पशुपति साधना सदन, भण्डारेश्वर क्षेत्रमा किरियापुत्री भवन, बहुउद्देश्यीय जोसमनी मठ निर्माणलगायत २० वटा योजना छन् । दामाेदर न्याैपानेले कान्तिपुरमा लेखेका छन् । 

तपाईँको मत