दृष्‍टिकोण

चिउँडे मास्क, अव्यवस्थित क्वारेन्टाइन र अगतिलो लकडाउन

२०२० नेपालको लागि निकै कष्टदाई बनिरहेको छ र अझै कति कठिन समय बन्ने हो त्यो त हेर्न बाँकी नै छ । पछि आउने समस्या भीमकाय छ, गरिबी ह्वातै बढ्ने निश्चय छ भने अहिले जताततै चिउँडे मास्कले राज गरेको देखिन्छ । नामको लकडाउन जसलाई अगतिलो लकडाउन भनेरै नामकरण गरिदिए हुन्छ जसको खासै अर्थ नै छैन । सत्ताधारीहरु घाँटीमा पास नामको जन्तर भिरेर हिँड्नलाई पूर्णतय छुट छ भने जोर बिजोरको नाममा प्रहरीको आँखा छल्दै मुसोले बिरालोलाई  झुक्किए झैँ कहिले भित्री त कहिले मेनरोड  हिन्नेको पनि कमी देखिँदैन । यस्तैगरेर उपत्यका छिर्नलाई पनि केहि उपनामहरु भए पुग्छ जस्तोः- म व्यापारी, म नेट बनाउने मान्छे या भनौँ नाकामा त्यस्तो ठूलो कडाई छैन जसले बाहिरबाट आउने मान्छेलाई रोकोस र बाहिर जान नदियोस् । मास्कको के कुरा गरौँ यहाँ, यो त एउटा फेसन जस्तै बनेको छ, असन बजारमा गयो भने यो त बेहुला बेहुलीलाई लगाउने मास्क, रातो रंगको अनि थोरै बुट्टा भरेको, अनलाइन तिर आउँछ, बच्चाहरुको लागि सजिलो, अनि बजारमापनि निकै प्रकारका देख्न सकिन्छ । मास्कले निकै ठूलो बजार पाएको छ, हरेकसंग मास्क छ तर कहाँ लगाइन्छ ? कसैको हातमा झुन्डिएको हुन्छ त कसैको चिउँडामा, के यो चिउँडाे मास्कले कोरोनालाई पराजित गर्न सकिएला त ?

कोरोना सन्दर्भमा अरु धेरै कुरा जोडिएर आउँछ त्यसमध्ये क्वारेन्टाइन एउटा प्रमुख हो । क्वारेन्टाइन अव्यवस्थित भएको, क्वारेन्टाइन भित्रको खाना गुणस्तर नभएको साथै महिलामैत्री नभएको, आवास बनाउँदा उचित मापदण्ड अनुगमन नगरेको धेरै समस्याहरु बाहिर नआएको हाेइन, यति हुँदाहुँदै पनि नेपाल सरकारले जुन तहको कार्य ढाँचा जारी राख्यो त्यो निन्दाजनक छ । अधिकाँश क्वारेन्टाइनहरु विद्यालयमा बनाईयो जहाँ खानेपानी, शौचालय तथा विजुलीबत्तीको सुविधा थिएन फलस्वरूप धेरै मानिसहरु होमक्वारेन्टाइनमा जान थाले । आजसम्मको नातिजा हेर्दा ९४ प्रतिशत बाहिरबाट आएको मानिसहरुमा कोरोना संक्रमित र ६ प्रतिशत समुदाय स्तरमा भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ तर यही क्रम बढ्दै गयो भने ५० मा झर्न केहि समय लाग्दैन । अर्काेतर्फ जति हतारमा क्वारेन्टाइन बनाए यो बाँसको टेको लगाएर त्रिपालको कच्ची त्यो झन् बस्न उपयुक्त कहाँ छ र ? मनसुनकाे समय तराई तिर सर्पको बिगबिगी उत्तिकै, के स्थानीय सरकारलाई यो कुरा थाहा थिएन र ? आगामी दिनमा हुन्सक्ने विपदको आँकलनपनि नगरी यस्ता कच्चा निर्णय र कच्चा क्वारेन्टाइन भवन निर्माण गर्दा कति ठूलो जोखिम घटना घटन सक्छ भन्ने कुरा क्वारेन्टाइनमा ज्यान गएको कुराले प्रमाणित गर्दैन र ?

१७,६५८ संक्रमित (यो लेख लेखिरहँदा ) र ४० को मृत्य हुँदा आगामी दिनमा संख्या दोब्बर, तेब्बर हुन सक्ने कुरा अनुमान गर्दै यस्ता आवासहरु सुधार्नतर्फ नलागेर बेसारको बिज्ञापन गर्दै हिँड्ने, करोडौँको बेसार आयात गर्ने सरकारको कार्यशैली कति सहि र कति गलत छ भन्ने कुरामा स्वयम् जनता जानकार छन् । विदेशबाट आउनेको संख्या रोकिएको छैन,  अन्तर्राष्ट्रिय उडान बन्द छ भन्न मिल्दैन किनकि चार्टर प्लेन नउडेको दिन छैन, के ति सबै आगन्तुकहरुको लागि गुणस्तरीय क्वारेन्टाइन छ त ? याद राखौँ पहिलो कोरोना संक्रमित विदेशबाट भित्रिएको थियो र उनका अनुसार उनले हरेक सावधानी अपनाएको थिइन यति हुँदाहुँदै पनि उनि संक्रमित भइन भने हरेक दिन चार्टर प्लेनबाट आउने आगन्तुक सुरक्षित् छन् त ? छैन र विदेशबाट आएकालाई घरमा यसरी पठाउँदा कोरोनाको जोखिम दिनदिने बढ्दै गइरहेको छ फेरी पनि सरकार चिउँडाेमा मास्क लगाएर हुटिट्याउँले आकाश थामे झैँ गरिराखेको छ, लाग्छ यहि पाराले कोरोनालाई जित्न सकिन्छ । एकातिर अव्यवस्थित क्वारेन्टाइन त छँदै छ अर्कोतर्फ क्वारेन्टाइनमा गरिएको जुन खर्च छ त्यो सबै बालुवामा पानीबाहेक केहि भएन किनकी त्यसबाट कोराना नियन्त्रणमा कुनै उल्लेखनीय नतिजा प्राप्त गर्न सकिएन, गुणस्तर निम्न रहयो, बलत्कारको घटना बाहिर आयो, ज्यान गएर डोजरले लास उठाउन पर्यो र सरकारलाई अब्जस बाहेक अरु केहि आएन । रैपनि क्वारेन्टाइन खाली हुन पुगेका छन्, भगवान भराेषा !

अबकुरा गरौँँ लकडाउनको किनकि यो सन्दर्भमा लकडाउन गरे पनि नगरेपनि सरकार बिबादित हुने नै थियाे र भयाे नै । लकडाउन नहुनेकाे लागिमात्र भयाे । पहुँच हुनेले कहिल्यै घरमा बस्नु परेन । गतिविधि पनि राेकिएन । यहि समयमा मासु र रक्सी सबैभन्दा बढी बिके । विभिन्न शिर्षक थिए बाहिर निस्कनलाई । लकडाउन साउन ७ सम्म थप्ने सरकारको निर्णय २०७७ असार १६ गते भएको छ अर्को तर्फ ट्याक्सी र टेम्पो व्यवसायीहरु प्रदर्शनीमा आएका छन यसले के कुरा जनाउँछ भने अब लकडाउन थपिए भोकले मर्ने, बाहिर निस्किए कोरोनाको त्रासले मारिने यो अवस्थामा सरकार आफैँमा बिचरा छ । विश्वको अरु देशमा कहिले खुल्ने त कहिले बन्द हुने क्रम जारी छ जस्तो कि अस्ट्रेलियाको भिक्टोरियामा ३६ वटा शहरमा लकडाउन सुरु गरियो भने अमेरिकामा कुनै यस्तो कदम चालेको देखिँदैन । छिमेकी राष्ट्रहरुमा हेर्ने हो भने चीनले लकडाउन रणनीति नै अपनाउँदै आइरहेको छ भने भारतमा पनि अगतिलो लकडाउन अवलोकन गर्न सकिन्छ । गरिस भन्दा गरेको छु भन्ने अर्थको सरकारी लकडाउनले उपलब्धि खासै दिँदैन किनकी सक्ने वर्गहरु आफ्नो साधन लिएर हिँड्न पाएका छन् नसक्ने वर्गहरु आन्दोलनमा आइसकेको छन् त्यसकारण बन्द गर्ने भए कडाइका साथ गर्नुपर्यो कि पुरै खोल्नुपर्यो भन्ने कुरामा जनता पुगिसकेको छन् । यही बन्दकैबीचमा अरु सामाजिक आन्दोलन पनि नभएको हाेइन, जस्तो कि "इनफ एज इनफ मुभ्मेंट", "अंगिरा पासी" र "नवराज बिकको न्यायको लागि गरिएको आन्दोलनहरु" कति त अझै नि जारी छ जुन सहि हुँदाहुँदै पनि कोरोनाको समयमा त्रासयुक्त बनेको छ तसर्थ यो विषयमा सरकारको ध्यान पुग्न जरुरी छ ।

मास्क, लकडाउन र क्वारेन्टाइन सबैसंग हाम्रो सामजिक संरचना, हाम्रो संस्कृति पनि जिम्मेवार रहेको छ । त्यसमाथि राजनीतिक खेल, दलीय असहमति, स्वास्थ्य सेवा सामग्री खरिद गर्दा बजारकेन्द्रित निर्णय हुनु अनि सरकार सामन्य म्यानेजरको रुपमा मात्र रहनुले पनि नेपाली जनतालाई राज्यप्रति अविश्वास जगाईरहेको छ । मन्दिर, पुजापाठ, श्राद्धमा भेला हुने चलन यथावत नै छ यद्धपी हामीले सामजिक दुरी कायम गरेको छौँ, मास्क लगाएको छौँ भन्न चैँ छुटाउँदैनौँ । हामी एउटा भान्छा, शौचालय, तौलिया समेत सगोलमा प्रयोग गरेर सामाजिक दुरीको नाम दिन हिच्किचाउँदैनाैँ । यी सबै कुरा हेर्दा जानेर बुझपचाएको भनौँ या जान्दै जानेकै छैन भनौँ दोधारमा पर्ने अवस्था छ । राज्यलाई सीमा विवाद, नागरकिता संसोधन, हुँदै सलह जस्तो अरु कुरामा ध्यान दिनु परेको कुरा जनताले बुझेको छ तर कोरोनाको  लागि व्यवस्थित र उपयुक्त क्वारेन्टाइन नहुँदा ठूलो जनधनको क्षति हुने अनुमान गर्न सकिन्छ र यो आउने विपदलाइ कम गर्नको लागि भएको भौतिक संरचनालाई उपयोग गरेर, गुणस्तर कायम गरेमा अरु ज्यान बचाउन सकिन्छ । 

भएको भौतिक संरचना भन्नाले हरेक जिल्लामा पाहुना गृह, होटेल जुन लकडाउनदेखि बन्द छन्, लाई संचालनमा ल्याउन सके दुबैतर्फ जीत-जीतको सम्भावना रहने थियो । हालको चुनौती महामारी मात्र हाेइन यसले निम्ताउने अरु समस्या पनि हो, त्यसकारण राम्रो व्यस्थापनमा सरकारको ध्यान जान जरुरी छ । महामारीले मात्र कति बेरोजोगारी भए तथ्यांक राख्न सकेका छौ ? उनीहरुलाई डिप्रेसनबाट जोगाउन केहि प्रयास गरेको छौ ? कति जनता अब बाढी र पहिरोको शिकार हुने भए/भइरहेका छन किनकी प्राकृतिक प्रकोपले अहिले कोरोना छ म आउँदिन भन्दैन त्यसकारण स्थानीयतह बाट नै आफ्नो सम्पति, जनताको हिफाजतको लागि सकेसम्म नयाँ बनाउने भन्दा पनि भएका स्राेत र साधनलाई परिचालन गर्दै थप विपदको लागि पनि तयार रहनु पर्ने ठूलो आवश्यकता देखिन्छ ।

लेखिका अध्यापक/समाजशास्त्री हुन् ।

 

तपाईँको मत