गाउँ सहर

पशुपति क्षेत्र विकास कोषको प्रस्तावित गुरुयोजनाको छलफल स्थानीयबासीद्वारा बहिस्कार !

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको प्रस्तावित गुरुयोजनाको बारेमा बोलाइएको छलफल पशुपति क्षेत्रका सरोकारवाला संघ संस्था र स्थानीयबासीले बहिस्कार गरेका छन्  । 

आइतबार पशुपतिस्थित सुमार्गी भवन तिलगंगामा बोलाइएको बैठक उनीहरुले सामुहिक बहिस्कार गरेका हुन् । 

पशुपति क्षेत्र विकास कोषले गुरुयोजनाको नाममा पशुपति र यस यससँग सम्बन्धित मौलिक परम्परा धर्म सस्कृति चाड पर्वहरु सम्पदाको वेवास्ता गर्दै अत्याधुनिक भौतिक संरचना निर्माण र यससँग सम्बन्धि व्यापारिक चलखेललाई नै प्राथमिकता राखि तयार गरिएको भन्दै विरोध गरिएको उनीहरुले आरोप लगाएका छन् ।  

प्रस्तावित नयाँ गुरुयोजना वैठक बहिष्कार गरिएको भन्दै पशुपति क्षेत्रका सरोकारवाला संघ संस्था लगायत स्थानीय बासिन्दाहरुले सामुहिक रुपमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ- 'पशुपति क्षेत्रका धर्म, संस्कृति र परम्परासँग सम्बन्धित स्थानीय बासिन्दा संघ-संस्था साथै यससँग सरोकार राख्ने जन समुदायलाई फेरी एकचोटी गुरुयोजनाको नाममा पशुपति क्षेत्र विकास कोषले त्रसित र चिन्तित बनाएको छ । हालै कोषले सैद्धान्तिक रुपले पास गरि मन्त्रीपरिषद पठाएको गुरुयोजनामा हामी सरोकारवाला कसैको पनि राय, सुझाव वा धारणा सम्बोधन गरिएको छैन ।' 

'हामी स्मरण गराउन चाहन्छौं विगत २०५६ को १० वर्षे गुरुयोजनाको कति प्रतिशत काम पूरा भयो ? अनि गुरुयोजनाले निर्देशित गरेको कार्य कति पूरा भए ? भने अनुरुपको कार्य भए नभएको या अर्कै भए, यसको वास्तविक समिक्षा आवश्यक छ । यसको हामी जोडदार माग गर्दछौँ । स्थानीय सहकार्य बिना र जनप्रतिनिधिहरुलाई समेत यसमा सामेल नगरि पुरानै शैलीमा सुटुक्क गुरुयोजना अगाडी बढाउने कुरा सर्वमान्य हुँदैन । यसर्थ आज बोलाइएको भनिएको प्रस्तुतीकरण्को छलफल पशुपतिबासिहरुको लागि बैठक केवल भ्रमित र धोकापूर्ण मात्रै देखिन्छ । त्यसैले यसमा हाम्रो सामुहिक असहमति रहेको छ' विज्ञप्तीमा भनिएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत