दृष्‍टिकोण

नेपाल कम्युनिष्ट पार्टीको एकतामाथि प्रश्न

यो एकता दर्शन विनाको एकता हो जहाँ असफल तत्वहरुको मिलन भएको छ
र लोकतान्त्रिक गणतन्त्रको उपलब्धिहरु  गुमाउने तिर अग्रसर देखिन्छ 
‘पानी बन्न त हाइडोजन र अक्सिजन नै चाहिन्छ ।’

 

वर्तमान अवस्थामा के.पी. ओलीको राजीनामाको विषय पार्टीको आन्तरिक विषय हो भने राष्ट्रिय एकताको प्रतिक लिम्पियाधुराको नक्शामा प्रश्न चिन्ह खडा भइरहेको छ । लिम्पीयाधुरालाई कारण देखाउँदै राष्ट्रमा तरंग आउनु एकाएक विकसित विषय भने होइन यो विषयलाई जनताले बुझ्नुपर्ने अवसरका रुपमा लिनु पर्छ । राजनीतिमा बाह्य विषयवस्तु प्रधान हुँदैन र आन्तरिक विषय मुख्य हुन्छ । अरुको लागि जुट्नुपर्ने र फुट्नु पर्नेमा किन बाध्य छौँ ? भन्ने सवालमा नेपाल र नेपाली केन्द्रित हुनु पर्दछ । यद्यपी नेपाली समाजमा कयौँ आन्तरिक र बाह्य समस्याहरु देखा परेका छन् । आजको सन्दर्भमा समस्याहरु एकातिर छन् विवाद छलफलले विषयान्तर मोड लिएको छ । कोभिड-१९ को महामारीसँग जुध्दै गर्दा छिमेकी राष्ट्रले कालापानी लिम्पियाधुरामाथि हस्तक्षेप गर्दै नक्शा जारी गर्यो भने नेपालको संसदबाट के.पी. ओलीको नेतृत्वमा प्रतिकार गर्दै चुच्चे नक्शा जारी गरियो जसमा आम नेपालीले एकताको प्रतिकका रुपमा ग्रहण गरेका थिए । यो विषयले राष्ट्रियताको सवालमा घटनाक्रमको एउटा प्रस्थान विन्दु सावित भएको थियो ।

आम नेपालीको बुझाइमा वर्तमान राज्य व्यवस्था राष्ट्रको व्यवस्थापनमा होइन, व्यक्ति व्यवस्थापनमा केन्द्रित भएको छ । नेपाली समाजले भोगेका समस्याहरु कोभिड-१९ को महामारी जसले देश मात्र होइन विश्वनै प्रभावित भएको छ । हालै सांसदबाट सर्वसम्मत रुपमा पारित गरेको राष्ट्रिय मुद्धा कालापानी भूभाग माथि कार्यान्वयनको अभिभारा चुनौतीको रुपमा प्रकट भएको छ । सरकारका काम कारवाहीहरु विभिन्न मुद्धा र काण्डमा आरोपित छन् जसको समीक्षा गरेर जनतालाई विश्वास दिलाउनु पर्ने दायित्व पनि त्यत्तिकै छ । जनयुद्धका सहकर्मीलाई प्रतिबन्ध र सिके राउत जस्ता व्यक्तिको संरक्षणले समस्या उत्पन्न भइरहेको छ । कुमार पौडेल हत्या काण्डमा मानव अधिकारको निर्णय वेवास्ता गर्दा जनतामा सुरक्षाको प्रत्याभुति नहुने देखिन्छ । निर्मला पन्त हत्या काण्ड, रुकुम हत्या काण्ड र थुप्रै काण्डहरुमा सरकार चुकेको देखिन्छ । सीमा विवाद चुलिँदै गएका छन् । एमसीसीको विषयमा जनता असन्तुष्ट बन्दै गएका छन् भने केहि व्यक्तिहरु एमसीसीलाई जवरजस्त लागु गर्नेमा लागिपरेका छन् ।  नेतृत्वको विकास, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र यो व्यवस्थाको संकट कुनै व्यक्ति विशेष भन्दा पनि ऐतिहासिक पृष्ठभूमिबाट अध्ययन गर्न आवश्यक देखिन्छ । सीमा विवादले मात्र यो परिस्थिति सिर्जना गरेको होइन, कुनै अर्को पार्टी र बाहिरिय कारणले मात्र पनि होइन समस्या त आन्तरिक नै पहिलो हो। राष्ट्रिय संकटका हरेक विषयमा सरकारले लिने नीति र राजनीतिमा भर पर्दछ यो विषयमा राज्य भित्रका सबै दलहरुको वाद, विवाद र संवाद आवश्यक देखिन्छ । तसर्थ नेकपा मात्र होइन समग्र संसदीय व्यवस्था र संसदीय दलहरु जिम्मेवार हुनु पर्दछ । 

चुनावअघि एकाएक पार्टी एकता भयो र त्यो पार्टी नेकपाको नाममा सत्ता सञ्चालनमा निर्णायक बन्यो । संसदीय व्यवस्था विगतमा थियो तर किन असफल भयो ? राजतन्त्रको अन्त्य पछि फेरी किन त्यहि असफल संसदीय व्यवस्था लागु भयाे ? यो विषयको जिम्मेवार कुनै एउटा राजनैतिक शक्ति मात्र होइन सम्रग आम नेपाली जनता र वौद्धिक वर्गका मानिसहरुको पनि उत्तिकै भूमिका रहन्छ । चुनाव वरपर जसले आवाज उठाए तिनीहरु आज प्रतिबन्धित हुनुपरेको छ । सडकमा आवाज उठाउनेलाई दमन गरिएको छ । काण्डहरुलाई विषयान्तर गरिएको छ । सवाल यो छ की विगतमा जनताको बहुदलिय जनवाद कसरतमा रहेको नेकपा एमाले र जनयुद्धको वादशाह माओवादी जसको नेतृत्व दुवै ओली र प्रचण्ड कसरी एकाएक पार्टी एकतामा सहभागी भए ? जनताहरुले विश्लेषण नै नगरिकन किन सत्तामा पुरयाए ? कम्युनिष्ट हुन कि होइनन् नाम मात्र राखेर सामान्य कम्युनिष्टको अनुशासन पद्धति नभएकोलाई किन राज्यको जिम्मा सुम्पिए ? के यो राज्य राजनितिक  खेलौनाको अभ्यास गर्ने थलो हाे ? जनताले यी कुरा बुझ्नु पर्दथ्यो । कम्यनिष्ट पार्टीको मूल्य-मान्यता र आर्दश भन्दा बाह्य निरन्तर गतिविधि हुनु आजको परिस्थिति सिर्जना हुनु हो । त्यस्तै विश्व राजनैतिक व्यवस्था अन्तरगतको दुई ठूला खम्बा पुँजीवादी  र समाजवादी व्यवस्थाको टक्कर पनि नेपाली समाजमा यो परिस्थितिको अप्रत्यक्ष कारण हो कार्यदिशा समाजवाद उन्मुख हुने कार्यनीति पुँजीवादको उदारनीति अपनाउँदा कहाँ गइन्छ ? आज सरकार संचालित पार्टीभित्र एकले अर्कालाई आरोप प्रत्यारोपबाट प्रचण्ड समुह भारतबाट निर्देशित छ भने ओली एमसीसी मार्फत अमेरिकाबाट संचालित छ भन्ने उनिहरुले नै ओकलिरहेका छन् । पार्टी भित्रको आन्तरिक कलहले सरकारलाई अवरुद्ध पार्न राष्ट्रको निम्ति घातक सिद्ध हुन्छ । विपक्ष दलले यसको भूमिका बलियो बनाउनु पर्ने हो । पार्टी निर्माणमा बलियो एकता हुन्थ्यो भने आजको स्थिति आउने थिएन । पार्टीभित्र "काले-काले मिलेर खाम भाले" भन्ने उखान प्रष्ट देखिएको छ । ग्यासबाट पानी बन्छ भन्दैमा हाइड्राेजन र कार्वन मिलेर बन्दैन । पानी बन्न त हाइड्राेजन र अक्सिजन चाहिन्छ त्यो पनी मात्रामा । 

वि.स २००७ साल देखि तगारो बनेको सामन्ती र विस्तारवादी नीतिको जालो फयाक्न शुरु गर्नुपर्ने थियो । श्रमजीवी जनतामाथि गरिएको अन्याए अत्याचारलाई निसाफ दिनुपर्ने थियो। विकासको वाधक राजा थिए भने प्रजालाई लोकमा बदल्नु पर्दथ्यो । समाजवाद उन्मुख हो भने समाज बादका आधारभूत शिक्षा स्वस्थ्य रोजगार निःशुल्क गरि गति अगाडि बढाउनु पर्ने थियो तर त्यसो गर्ने सकेनन । नयाँ कार्यदिशा, कार्यनीति, योजना नगराइकन चुनाव जित्ने र जनतालाई भुलाउने परम्परा दोहोरिँदै आएको छ । संसदीय नेतृत्वले लोकतान्त्रिक गणतन्त्रको उपलब्धिहरु गुमाउँदै गएका छन, भने नयाँ नेतृत्वको आवश्यकता खड्केको छ । पार्टी एकताले वि.पी. को समाजवादलाई इन्कार गर्नु थियो गरयो । मदन भण्डारीको जनताको वहुदलिय जनवादलाई सिध्याउनु थियो सिध्यायो, राजालाई फ्याँकेर आफूहरु कुर्सीमा बस्नु थियो बसेपनि, १० वर्षे जनयुद्धलाई बिसाउने थियो बिसाए । श्रमजीवीे वर्गलाई कन्ट्राेल गर्ने आधुनिक प्राविधिक राज्यसत्ता हाम्रो जस्तो मुलुकमा पुँजीवादी विश्व व्यवस्थाको अभिकर्ता चाहिएको थियो र नेतृत्वहरु त्यसको  कसरतमा प्रतिस्पर्धा गरिरहेका छन् । 

इतिहासको लामो कालखण्ड पार गर्दै वर्तमान लोकतान्त्रिक गणतन्त्र स्थापित भएको हो । नेपाली समाजलाई समाजवाद उन्मुख बनाउन लोकतान्त्रिक गणतन्त्रका कम्युनिष्ट मूल्य मान्यता र आर्दशको सामान्य अनुशासनमा रहनु पर्दछ भने लोकतान्त्रिक शक्तिलाई अटाउने गरी साथ सर्मथन लिनु पर्दछ । विद्रोही शक्तिसँग वाद, विवाद र संवादद्वारा निस्कर्ष निकाल्नु पर्दछ भने राष्ट्रिय एकता कायम गरी अन्तर्राष्ट्रिय मुद्धा विजय संघारमा ल्याउन सक्नुपर्दछ । उत्पन्न समस्याहरु,  भष्ट्राचार, कालोबजारी, मँहगी, काण्ड, महामारी जस्ता विषयहरु र कुनै एउटा पार्टीको सत्ता लिप्त गतिविधिबाट जनताहरु मुक्त हुन चाहन्छन् । विगतदेखि अहिलेसम्म सत्ता फेरियो संरचना फेरिएन, नेतृत्व फेरियो संस्कार र व्यवहार फेरिएन, सोचाई फेरियो चेतना फेरिएन, समाज फेरियो संस्कार र व्यवहार फेरिएन कारण पार्टी एकता कुनै सिद्धान्त र कुनै आधारमा पार्टी एकता भएको थिएन । राज्यसत्ता सञ्चालन गरेका सांसदवादीहरुले समाजवाद उन्मुख भन्ने तर चरित्र उहि पुँजीवादी व्यवस्थाले विकास गरेको दलाल उदारवादी नीतिलाई निरन्तरता दिएको छ । तसर्थ, देश र जनताको हितमा यो एकता थिएन र हुने छैन अन्ततः आन्तरिक कलहले विषयान्तर गरेको छ । श्रमजीवि जनतालाई त्यो प्रतिस्पर्धा होइन आधुनिक विश्व समाजमा शिर नझुकाउने राष्ट्रप्रेमी वैज्ञानिक समाज चाहिएको छ ।   

खत्री त्रिविका दार्शनिक स्कलर हुन् ।

तपाईँको मत