ईश्वर पोखरेलकाे प्रश्न : कुरा लुकाएर-डाँटछल गरेर कती दिन चल्छ-कसरी चल्छ ?
- १३ फाल्गुण मंगलबार, २०७६ | ०८:५९:०० मा प्रकाशित

काठमाडौं । संविधान संशोधनका लागि थालेको गृहकार्यप्रति उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आपत्ति जनाएका छन् । पार्टी सचिवालय सदस्य पोखरेलले यसलाई ढाँट–छलको संज्ञा दिएका छन् ।
संविधान संशोधनको गृहकार्य नाजायज भएको टिप्पणी रक्षामन्त्रीसमेत रहेका पोखरेलले ट्विट गर्दै भनेका छन्, “अभ्यास,अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरा गर्दै आएकाभित्रैबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिदैछ । मानिसहरू उदेक मान्दैछन् !”
“केका लागि संशोधन !,” भनेर आश्चर्य प्रकट गर्दै उनले ठाडठाडै प्रश्न गरेका छन्, “खराखरी बहस गर्नेबेला आएजस्तो छ ! कुरा लुकाएर, ढाँटछल गरेर कति दिन चल्छ ? कसरी चल्छ ?”
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा संविधान संशोधनका मुद्दा निकै पेचिलो बन्ने संकेत देखिएको छ । संविधान संशोधनका सन्दर्भमा नेकपाले लामो समयदेखि आवश्यकता र औचित्यको रटान लगाइरहेको छ । आवश्यक ठानिए र औचित्य देखिए संशोधन गर्छौं भन्ने तर मुद्दाबाट जहिल्यै पन्छने रवैया देखाएको भन्दै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी असन्तुष्ट भइरहेका छन् । यही बेलामा राष्ट्रियसभा सदस्य पनि गरी संविधान संशोधन गर्न लागेपछि पार्टीभित्रै असन्तुष्टि भुसको आगो बनेको हो ।
गत शनिबार बसेको पार्टी सचिवालय बैठकले संविधान संशोधन गर्न वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाएको थियो ।
संविधान संशोधनको गृहकार्यका निम्ति यस्तो कार्यदल गठन गरिए पनि स्वयं नेकपाभित्रै यसको चर्को विरोध भएको छ । कार्यदल सदस्यहरूले नै संविधानको औचित्यमाथि प्रश्न उठाउँदै त्यसमा बस्न इन्कार गरेका छन् ।
राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संशोधन प्रक्रिया अघि बढाउने हो भने कार्यदलमा नबस्ने भनेर नेम्वाङ र देवकोटाले आपत्ति जनाएपछि कार्यदल भत्किइसकेको छ । तथापि नेकपाभित्र त्यसको कम्पन लामै समय रहने सदस्यहरू बताउँछन् ।
प्रतिकृया दिनुहोस