विश्व

विश्व बास्केटबल लेजेण्ड ब्रायन्टसहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु

  • १३ माघ सोमबार, २०७६ | ०९:११:०० मा प्रकाशित

काठमाडौं । कोबे ब्रायन्ट, उनकी छोरीसहित ९ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको छ ।

दुर्घटनामा बास्केटबल खेलाडी कोबेसहित ९ जनाकै मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोबे र उनकी छोरीबाहेक हेलिकोप्टरमा अरु को को थिए भन्ने खुलिसकेको छैन ।

हेलिकोप्टर अस्वाभाविक रुपले खस्दै गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । बाक्लो हुस्सुका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ ।

पाँच पटकका एनबीए च्याम्पियन ब्रायन्टलाई बास्केटबल खेलमा महान् खेलाडीको सूचीमा राखिन्छ । एनबीएले एक वक्तव्य जारी गर्दै कोबे ब्रायन्ट र उनकी १३ वर्षीया छोरी जियानाको निधनले आफूहरु स्तब्ध भएको बताएको छ ।

लस एन्जलिस लेकर्सबाट २० वर्ष बास्केटबल खेलेका ब्रायन्टले सन् २०१६ को अप्रिलमा खेलबाट सन्यास लिएका थिए । सन् २००८ मा उनी एनबीएका सबैभन्दा मूल्यवान खेलाडी बनेका थिए भने दुई पटक एनबीएको फाइनलमा उत्कृष्ट खेलाडी चुनिएका थिए । उनी दुई पटक एनबीएमा सबैभन्दा बढी स्कोर गर्ने खेलाडी बनेका थिए भने दुईपटक ओलम्पिक च्याम्पियन बनेका थिए ।

सन् २०१८ मा डियर बास्केटबल नामक सर्ट फिल्मका लागि ओस्कार पनि जितेका थिए । सन् २०१५ मा उनले आफ्नो प्रिय खेलका लागि लेखेको प्रेम पत्रका आधारमा उक्त ५ मिनेटको चलचित्र बनाइएको थियो ।

तपाईँको मत