प्रेरणा

‘‘ग्रामीण विकास” : आत्मनिर्भर शिक्षा 

मौलिक ज्ञान, प्रविधि, सीप र अभ्यासलाई निर्भरतातर्फ बढाउन अत्याज्य

gaunsahar.com

ग्रामीण विकास ग्रामीणताको सम्पूर्ण विकास हो । ग्रामीण विकासलाई गाऊँको विकाससँग मात्रै व्याख्या गरिएपनि यसको सम्बन्ध सहर-गाऊँ दुवैको प्रगतिसँग पनि उत्तिकै जोडिएको हुन्छ । विकासले ग्रामीण जनसङ्ख्यालाई प्रत्यक्ष वा अप्रत्यक्ष फाइदा दिन्छ भने त्यो ग्रामीण विकास हो । दिगो जनसङ्ख्याको जीवनस्तर र जनकल्याण सुधारको नामले पनि यसलाई बुझ्न र व्याख्या गर्न सकिन्छ । 

ग्रामीण क्षेत्रका विभिन्न पक्षहरु जस्तैः सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक, पूर्वाधार, संस्थागत जस्ता विविध पक्षहरुकोे गुणात्मक तथा सकारात्मक सुधार हुनु नै ग्रामीण विकास हो । यस्तैगरि वृद्धि, आम्दानी र उपलब्धी भन्दा माथि उठेर पोषण, स्वास्थ्य, लैङ्गिक तथा असमानतामा सुधार, वातावरण संरक्षण साथै ग्रामीण जीवनस्तरमा दीर्घकालीन परिवर्तन ल्याउने कुरासंग पनि ग्रामीण विकासले सरोकार राख्दछ । यहि भएरपनि विश्वमाझ मौलिक ज्ञान, प्रविधि, सीप र अभ्यासलाई निर्भरतातर्फ बढाउन ग्रामीण विकास शिक्षा अत्याज्य बनेको छ । 

पहिलो विश्वयुद्ध (१९१४—१८) पछाडि सन् १९२० तिर ठुलो मन्दी पश्चात अमेरिकामा टेनासी भेली अथोरिटी एक्टमा तत्कालीन राष्ट्रपति फ्रान्कलीन डिलानो रोजभेल्टले हस्ताक्षर गरेका थिए । त्यसपछि अमेरिकाले सामुदायिक अपनत्व मार्फत विभिन्न कार्यहरु प्रारम्भ गरेको थियो । विश्वमा दोश्रो विश्वयुद्ध (१९३९—४५) पछि ध्वस्त संरचनाको विकास गर्ने हेतुले सामुदायिक विकासको विधिवत सुरुवात भएको पाइन्छ । त्यसभन्दा अगाडि पनि विकासका कार्यहरु स्थानअनुसारका भएकै थिए, तर दस्तावेज नभएका कारण यसको यात्रालाई दाश्रो विश्वयुद्ध पछि लगेर जोडिएको पाइन्छ । अफ्रिकी मुलूक घानाबाट सुरु भएको यो यात्राले विभिन्न समयलाई पार गर्दै विभिन्न अवधारणा अन्तर्गत काम गरेको थियो । 

वृद्धि, आम्दानी र उपलब्धी भन्दा माथि उठेर पोषण, स्वास्थ्य, लैङ्गिक तथा असमानतामा सुधार, वातावरण संरक्षण साथै ग्रामीण जीवनस्तरमा दीर्घकालीन परिवर्तन ल्याउने कुरासंग पनि ग्रामीण विकासले सरोकार राख्दछ ।

उता ग्रामीण विकासको रणनीति कहिलेबाट सुरु भयो भन्ने तथ्यांकलाई प्रष्ट्र पारिएको छैन । तथ्यगत खोजमार्फत कृषि क्षेत्रको विकास गर्ने उद्धेश्यले सन् १९७३ मा अमेरिकाको सन फ्रान्सिसको क्यालिफोर्नियाँमा जन्मेका रोबर्ट म्याकनमराले ग्रामीण विकासको अवधारणालाई चिनाएका थिए । पछि विश्व बैँकका अध्यक्ष र तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानको स्पिचले विकासोन्मूख अर्थव्यवस्थामा विकासे स्रोतको दिशा र ग्रामीण विकासको बारेमा व्याख्या गरेका थिए । यसरी हेर्दा ग्रामीण विकास रणनीतिको यात्रा भने वि.सं. २०२९ सालबाट भएको थियो । तर ग्रामीण विकासलाई समय अनुसार कहिले सामुदायिक, कहिले पूर्वाधार, कहिले कृषि विकास त कहिले सामाजिक साँस्कृतिक विकाससँग जोडेर व्याख्या गरेको पाइन्छ ।

त्यसपछि ग्रामीण विकाससँग लेखकद्वय कतार सिंह र रोवर्ट चेम्बर पर्यायबाचीको रुपमा प्रयोग हुँदै्र आएका छन् । यीनै पण्डितहरुले यस क्षेत्रमा कलम चलाएका थिए । यसको मर्म र भावलाई बुझ्दै विश्वले यीनिहरुको सिको गर्दै यस क्षेत्रको विकासमा छुट्टै विद्याको रुपमा विकास गरेको पाइन्छ । विकास सबैको लागि हो, यसको सुरुवात आफैँले गाऊँबाट गर्न सकियो भने विकासले गति लिन सक्दछ भन्ने मान्यतालाई लिँदै गाऊँ अर्थात इलाकागत सामाजिक, राजनीतिक, आर्थिक, भौतिक, प्राविधिक र संस्थागत क्षेत्रमा प्रगति वा उन्नती गर्नुपर्ने मुद्धालाई ग्रामीण विकासले समेटेको हुन्छ । सिद्धान्त भन्दापनि व्यवहारिक पक्षलाई समेट्ने हुनाले पनि यसको आकर्षण पछिल्लो समयमा विश्वमा बढ्दै गएको छ । 

ग्रामीण विकासलाई जसरी व्याख्या गरिएपनि यसले मूलतः गाऊँको सकारात्मक तथा गुणात्मक परिवर्तनमा जोड दिएको हुन्छ । नेपालमा ग्रामीण विकासको शिर्षक उठ्ने बित्तिकै किँरात, लिच्छवी, मल्लकालभन्दा पछि आएर शाही कालमा राजा त्रिभूवनको योगदानमा वि.सं. २००७ सालमा स्थापित प्रजातन्त्रपछि २००८ सालमा त्रिभूवन ग्राम विकास कार्यक्रमलाई सम्झन वाध्य हुन्छौँ । तर विधिवत योजनावद्ध विकासको सुरुवात भने २०१३ बाट मात्रै भएको थियो । पहिलो पञ्चवर्षिय योजनादेखि नै कृषि र सामुदायिक विकासमा बढी चाख राख्ने शासकवर्ग प्रत्येक योजनामा सबै पक्षहरुलाई समेट्न प्रयासरत् पक्कै देखिएको मान्नुपर्छ ।  तर ग्रामीण विकासको नामले भने पाँचौ पञ्चवर्षीय योजना (वि.सं. २०३२/३३-३६/३७) ले समावेश गरेको पाइन्छ । त्यसपछाडि ग्रामीण शब्दलाई अलिक पर राखेर अन्य शिर्षकहरुमा सामुदायिक विकासका कार्यहरु गरेको प्रत्यक्ष देख्न सकिन्छ । जनजनको जीवन र सहजतासँग गाँसिएको पक्ष भएतापनि यसले समयमै पूर्णता प्राप्त गर्न नसक्नुको पछाडि क्षेत्रीय असन्तुलनको चेपूवामा परेको भन्न सकिन्छ ।  

प्रा.डा. महेन्द्र सिंहले नेपालको भूवनोट र अवस्थालाई हृदयंगम गरी ग्रामीण स्थानहरुलाई सहरी सुविधाको स्तरमा स्तरोन्नती गर्नको लागि यस विषयको आवश्यकता परेको बताएलगतै यस विषयको पठनपाठन सुरु भएको थियो ।

देशभित्र ग्रामीण विकास शिक्षाको कुरा गर्दा वि.सं. २०५८-०५९ सालमा स्नातकोत्तर विषयलाई सञ्चालन सुरु गर्दै त्यसताकाका विभागीय प्रमुख प्रा.डा. महेन्द्र सिंहले नेपालको भूवनोट र अवस्थालाई हृदयंगम गरी ग्रामीण स्थानहरुलाई सहरी सुविधाको स्तरमा स्तरोन्नती गर्नको लागि यस विषयको आवश्यकता परेको बताएलगतै यस विषयको पठनपाठन सुरु भएको थियो । त्यस पश्चात केहि वर्ष पछाडिबाट क्रमशः स्नातक र उच्चमाध्यमिक तहमा पनि पठनपाठन सुरु गरिएको थियो । तल्लो तहमा अन्य नामले पढाई हुँदै आएको यस विषयको छुट्टै चिन्हारी भने १२ वर्ष अघि भयो, जसले नामाकरण गर्याे ग्रामीण विकास अध्ययन । 

गरिबीमा विकास सम्भव हुँदैन तर अवसरहरुमा ल्याउने परिवर्तन, आधारभूत आवश्यकताको पूर्णता, जनताको जीवनस्तरमा वृद्धि, रोजगारका अवसरहरुको निर्माण, राजनैतिक स्थिरता, श्रोतहरुको न्यायोचित वितरणलाई समेटन सकियो भने ग्रामीण विकासको ढोका स्वतः खुलेर जान्छ ।  विकासलाई सफल र संभव बनाउनका लागि जनताको जीवनमा परिवर्तन र आशाका ढोकाहरु खोलिनु आवश्यक हुन्छ अनि मात्र जनता स्वतस्फूर्त सहकार्य गरी विकासपथमा अघि बढ्दछन् । संघर्षरत अवस्थाको जीवनमा ल्याइने कार्यक्रमहरु र तिनबाट प्राप्त उपलब्धिले गरिबीको रेखामा परिवर्तन ल्याई लक्षित विभिन्न कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन र मूल्याङ्कन गर्न सकिएमा विकासलाई जनताले सहज रुपमा प्राप्त गर्न सक्दछन् । यहि स्वर्णिम ढोका खोल्नको लागि पनि स्थापीत यो शिक्षालाई ऐच्छिक भन्दापनि अनिवार्य गरिनु जरुरी भएको छ ।

ग्रामीण विकास जसले गाऊँका जनताको हरतरहले जीवनस्तरमा वृद्धि गर्दै गुणात्मक परिवर्तनमा वढोत्तरी गरेको हुनुपर्दछ । यसले गाऊँको ज्ञान तथा सीपको प्रयोग गर्दै ग्रामीण उत्पादन, प्रविधि, शैली, संस्कृति, मौलिकता, सौन्दर्यता आदिको विकास तथा विस्तार सँगै उल्लेख्य प्रवद्र्धनमा केन्द्रित हुन्छ । गाऊँको भौतिक पूर्वाधार जस्तै कुलो, सिँचाइ, खेती शैली, बीउविजन, प्रविधि, मानव संशाधन आदि, आर्थिक क्षेत्र जस्तै रोजगारी, बचत, लगानी, खर्च, स्रोतको वृद्धि, बजार, बजारीकण, वस्तुको उपलब्धता आदि, सामाजिक पक्षका विभिन्न उपसमूह जस्तै स्वास्थ्य, शिक्षा, सरसफाइ, सुरक्षा आदि, प्राविधिकमा सूचना, सञ्चारको पहुँचता, उपकरणको उपलब्धता आदि, र संस्थागत पक्षहरुमा सुधार भएमात्र ग्रामीण विकास भएको मानिन्छ । यहि उन्नतीलाई आत्मसात गर्दै स्थापीत यस विषयको विगत, वर्तमान र भविश्य अर्थात जुग जुगसम्म उत्तिकै महत्व रहने कुरालाई नकार्न सकिन्न । 

देशको आधारलाई नबुझिकन अगाडि बढ्न नसकेको र निर्भर बन्न नसकिरहेको यो परिवेशमा ग्रामीण विकास शिक्षा अनिवार्य गर्दै गाउँले जीवन, चुनौति, अवसरहरुलाई उजागर गरिनु अपरिहार्य बनेको छ ।

ग्रामीण विकास शिक्षाको माध्यमबाटै नेतृत्व विकास, स्थानीय क्षेत्रको अवसर र चुनौतिको पहिचान, क्षेत्रगत कार्यक्रम, गरिब घटाउ कार्यक्रम, सीपमूलक कार्यक्रम, महिला उत्थान कार्यक्रम, बचत तथा ऋण कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम, शैक्षिक विकास, सूचना तथा सञ्चार विकास, जस्ता विभिन्न कार्यक्रमहरु ल्याइएको पाइन्छ । यसकारण विकासको स्वादलाई राम्रोसँग परिचित गराउन पनि ग्रामीण स्रोत, साधन, संरचना, मानव संशाधन जस्ता विविध पक्षहरुमा सुधार ल्याउनु आवश्यक छ । यस्ता विभिन्न क्षेत्रहरुमा विकास गर्नको लागि ग्रामीण विकास शिक्षाको अपरिहार्यता दिनदिनै बढ्दो छ । 

राजनीतिक वैमानश्यता र संकिर्णता बढ्दै गएको यो समयमा गाउँलाई बिर्सेर कुनैपनि कार्य अगाडि बढ्न नसक्ने कुराको चेत जगाउँदै विकासलाई सन्तुलित बाटोमा हिँडाउनपनि अब ग्रामीण विकास शिक्षालाई पाखा लगाउन सकिन्न । फेरी हाम्रोजस्तो विकासोन्मूख संरचनाबाट प्रगतिको बाटो तय गर्न र बढिरहेको परनिर्भरतालाई कमगर्न गाउँले उत्पादनमा जोडदिन पनि यो शिक्षाको महत्व बढेको छ । अझ भनौँ अहिले देशले भोगिरहेको संघीयताकाे सुरूवात, अवराेध जस्ता नकारात्मक कार्यबाट बच्नको लागिपनि ग्रामीण विकास शिक्षालाई अझ विस्तार गरिनुपर्ने देखिएको छ । किनकी याे शिक्षाा माैलिकतामा अाधारित छ । यहि कुरालाई मनन् गर्दै स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भएका र गर्नसक्ने पक्षहरुलाई समन्वय गर्दै भावी देशको नीति बनाइनु जरुरी छ । देशको आधारलाई नबुझिकन अगाडि बढ्न नसकेको र निर्भर बन्न नसकिरहेको यो परिवेशमा ग्रामीण विकास शिक्षा अनिवार्य गर्दै गाउँले जीवन, चुनौति, अवसरहरुलाई उजागर गरिनु अपरिहार्य बनेको छ ।


 

तपाईँको मत