प्रेरणा

ग्रहण छापियो दिवाकर रहेनन् !

‘कहाली लाग्दो कथा, अपाङ्गता परिचयपत्रको हकदार’

ग्रहण, सत्य घटनामा आधारित उपन्यास (प्रथम संस्करण २०१८)

 

ग्रहण लेखक दिवाकर स्वप्निलको प्रथम प्रकाशित कृति हो । यो एक यस्तो स्वस्थ व्यक्तिको कहाली लाग्दो कथा हो, जो एकदिन अपाङ्गता परिचयपत्रको हकदार बन्न पुग्दछ ।लेखकको दाबी अनुसार यो एक वास्तविक जीवनमा आधारित उपन्यास हो ।

ग्रहण उपन्यासको अन्तर्कथा :
अन्ततः ‘ग्रहण’ छापिएर आयो ।

यस कृति प्रकाशनमा कुन्ता–डण्ड प्रतिष्ठानको ठूलो लगानी रहेको छ । लगानी भन्नाले सद्भावको लगानी । लेखन र नेपाली भाषा साहित्यको विकाशमा एक कृति–प्रकाशनको लगानी । र, साथै आर्थिक लगानी ।

नेपालका विभिन्न भागमा राम्रा–राम्रा कलमजीवीहरु बस्छन्, तर अधिकांशतः लेखेर पनि विविध कारणले कृति प्रकाशन गर्न असमर्थ छन् । कुन्ता–डण्ड प्रतिष्ठानले तिनै स्रष्टाहरुको कृति आफ्नै पैसामा प्रकाशित गरिदिएर नेपाली भाषा साहित्यको विकाशमा सहभागी हुने महत् उद्देश्य लिएको छ । त्यसैको सिलसिला हो ‘ग्रहण’को प्रकाशन, र त्यसैको सिलसिला थियो स्वप्निल नीरवको उज्यालोतिरको प्रकाशन । योभन्दा ठूलो सद्भाव अरु के हुनसक्छ ?

निशन्देह कृति प्रकाशनको काम नेपाली भाषा साहित्यको विकाशसित जोडिएर रहेको हुन्छ । आर्थिक लगानी एउटा पाटो भयो; तर कुन्ता–डण्ड प्रतिष्ठानले संस्थागत या व्यक्तिगत फाइदाको लागि या भने काम गरिरहेको छैन । लगानीपछि फाइदा या नाफाको कुरा त आउँछ, तर त्यो फाइदा या नाफा आर्थिक रुपमा हैन, यहाँ पाठक, लेखक, बुद्धिजीवीहरुको माया र सद्भावको रुपमा आउने कुराको अपेक्षा गरिएको छ । त्यसका लागि कुन्ता-डण्ड प्रतिष्ठानकी जन्मदाता सर्जक निर्मला खड्का, जसले आफ्ना मातापिताको नाममा प्रतिष्ठानको स्थापना गर्नुभएको हो, सदैव आशावादी हुनुहुन्छ ।

कृति प्रकाशन गर्नु जतिको सजिलो छ त्यतिकै गाह्रो छ वितरणको काम । त्यो कुरा शब्दहार क्रिएशन्स् जस्तो प्रकाशक संस्थाका निर्देशकलार्ई राम्रो अनुभव छ । तर त्यस कुराको बावजूद पनि वितरकको जिम्मेवारी शब्दहार क्रिएशन्स्ले लिएको थियो । त्यसको लागि उक्त संस्थाका निर्देशक तथा कुन्ता–डण्ड प्रतिष्ठानका अध्यक्ष रमेश कँडेलले हुन्छ भनेपछि नै काम अगाडि बढेको हो । तर पछि छापिएको निश्चित प्रति पुस्तक लेखकलाई हस्तन्तरण गर्ने कुरा भयो, जुन सकरात्मक कुरा नै भयो भन्ने लाग्छ ।

ग्रहणको आवरणदेखि लेआउटसम्मको काम पत्रकार तथा साहित्यकार देवेन्द्र सुर्केलीले गर्नुभएको हो । मैले ग्रहणको सम्पादन गरिसकेपछि उक्त कार्यको लागि सर्वप्रथम उहाँलाई नै सम्झेँ । त्यसको कारण उहाँसित मेरो लामो समयदेखि चिनजान भएकोले मात्रै हैन, उहाँलाई सम्झनुको पछाडि उहाँको सम्बन्धित क्षेत्रमा रहेको त्रियाशीलता र दक्षता प्रमुख कारणको रुपमा रहेको छ । नेपालका प्रिन्ट र डिजिटल मीडिया दुवैमा उहाँको ठूलो योगदान रहेको छ ।

ग्रहणको नाम पहिले ‘खग्रास सूर्यग्रहण’ राखिएको थियो । अलिक बिम्बात्मक बनाउनु पर्‍यो भन्ने सल्लाह मेरो थियो । खग्रास सूर्यग्रहण बिम्बात्मक नभएको भने हैन । तर त्यो नामले विज्ञानसँग बढी सम्बन्ध राख्ने र विज्ञान सम्बन्धी कृति झल्किने भएकोले मैले त्यसो भनेको थिएँ । त्यसको बारेमा सामान्य छलफल भयो । वास्तवमा ‘खग्रास सूर्यग्रहण’ शीर्षकमा पुस्तक प्रकाशित भइसकेको रहेछ पनि । देवेन्द्र सुर्केलीबाट थाहा भयो । भारतीय लेखकले प्रकाशित गरेको भए पनि नाम जुधेको त्यति राम्रो मानिन्न ।

पुस्तकको सम्पादनको काम सकिसक्दा पनि नामको टुङ्गो लाग्न सकेको थिएन । लेखकलाई खग्रास सूर्यग्रहण नै प्यारो । तर पछि कसो कसो रमेश कँडेलले ग्रहण मात्र राखौँ, लेखकको पनि सहमति छ भनेपछि ग्रहण नाम पारित भयो । त्यसैमा आवरण बन्यो । तर तुरुन्त अर्को नाममा अल्झिनु पर्‍यो । त्यो पनि लेखककै नाममा । लेखकले स्वप्निललाई स्वप्नील बनाउनु पर्ने, र आफूले यही नाम चलाउदै आएको भनेपछि सम्पादकले एकछिन सोच्न बाध्य बन्नु पर्‍यो ।

त्यसो त नेपालमा त्यस्ता धेरै उपनामहरु लेखिन्छन् जो गलत हिज्जेमा लेखिएका छन् । नाम समेत गलत हिज्जेमा लेखिएका उदाहरणहरु खोज्न टाढा जानु पर्दैन । कविता लेख्ने कवि कवि शब्दलाई कवि, कवितालाई कबिता लेखेको पनि पाइएको छ । वस्तुतः अधिकांश नेपालीले नेपालीको नाममा हिन्दी हिज्जे प्रयोग गरिरहेको पाइएको छ, जुन स्वभावतः राम्रो कुरा हैन । नेपाली भाषा साहित्यको सेवा गरे वापत दिइने कतिपय प्रमाणपत्रहरु समेत असुद्ध लेखिएको भेटिएका छन् । यी तथ्यहरु अति संवेदनशील विषय हुन् । नेपाली भाषा साहित्यलाई विकाश हैन, अधोगतितिर धकेल्ने यी तथ्यहरुप्रति कलम चलाउने सबैले सचेत हुन जरुरी छ । शब्दका खेती गर्नेले बृहत् नेपाली शब्दकोश अनिवार्य रुपमा प्रयोगमा ल्याउन आवश्यक छ, जुन काम भइरहेको छैन । सबैभन्दा महत्त्वपूर्ण कुरा साहित्य सृजना भाषा साहित्यको विकाससित जोडिएर रहेको हुन्छ भन्ने कुरा हामीले भुल्नै हुन्न ।

दिवाकरको सन्दर्भमा स्वप्नील अर्थात् नीलो सपना भन्न खोजेको हो कि भन्ने अर्थमा स्वप्नील नै राखियो । दिवाकर स्वप्नील राखियो । वास्तविकता उनले खुलाउन पाएनन् ।

यस कृतिको पाण्डुलिपि मैले सन् २०१६ को अप्रिलतिर प्राप्त गरेको हूँ । प्रवासको दिनचर्या र व्यस्तताको बावजूद थोरै समय मात्र दिन सक्ने भएको कारण केही ढिलो गरी सम्पादनको काम सकेँ, तर पनि निर्मला खड्काजीको ‘इट्स् ओके’ पाएर सन्तोषको सास फेर्न पाएँ । हुन पनि डेढ सय पेजको भनेर काम सुरु गरेको तीन सय पेजभन्दा मोटो बन्न पुगेछ कृति ।

काम ढिलो हुनुको अर्को कारण भनेको चाहिँ फन्टको हो । पाण्डुलिपि मैले युनिकोड र प्रीति मिस्रित फन्टमा पाएको हूँ । यता म कान्तिपुर फन्ट प्रयोग गर्छु । कन्भर्ट गर्दा झनै लथालिङ्गजस्तो भयो । अथवा भनौँ एक पल्ट लथालिङ्ग बनाएँ, र फेरि जोडजाड पारेँ, र पूर्णता दिएँ ।

ढिलो हुनुको अर्को पनि एउटा कारण छ । त्यो हो नेपाली भाषामा चलेको परिमार्जनवादको रोग । यस रोगले धेरै बुद्धिजीवीहरुको मस्तिष्कमाथि हमला गरिरहेको अवस्था थियो । यतिसम्म हमला गर्‍यो कि यिनले एक विकृत शब्दकोशको  समेत जन्म दिए । विकृत पाठ्यक्रमहरु समेत छाप्न भ्याए । जसले गर्दा नेपाली भाषा साहित्यको क्षेत्रमा ठूलो खैलाबैला मच्चियो । ठूलै अन्यौलताको सृजना भयो । हामी साना साना मान्छेहरु बोल्न त सक्थ्यौँ, तर त्यो बोली आवाज बन्दैनथ्यो । त्यस्तो स्थितिमा एउटा सम्पादकले कुन मापदण्ड प्रयोग गर्ने भन्ने कुरा अहम् सवाल भयो । तर मलाई एउटै कुरा थाहा थियो कि मैले स्कुल, कलेजमा जे सिकेको थिएँ, त्यही नै सही हो; आफ्नो बाउको सम्पति जस्तो नेपाली भाषालाई तलमाथि गर्न खोज्नेहरु चकचके हुन्, बौद्धिक हैनन् । अतः मैले पुरानै धारलाई समातेँ ।

मेरो सलाम छ ती भाषा आन्दोलनका नायकहरुलाई जसले स्वेच्छाचारी परिमार्जनवादप्रति विद्रोह गरे । र, नेपाली भाषालाई पुरानै धारमा ल्याउन सफल भए ।

ग्रहणको काम सकियो ।

प्रतिष्ठानकी संस्थापक अध्यक्ष निर्मला खड्काज्यूले मलाई इनबक्समार्फत साह्रै दुःख गर्नुभयो भनेर भन्नुभएपछि मलाई लाग्यो- बोल्ने मात्र हैन, अबचाहिँ काम पनि गरिएछ है, सिन्को भाँचिएछ ।

वस्तुतः यस कृति सम्पादनको जिम्मा लिनुका दुई कारण थिए : प्रथममा यो एक प्रेरणादायी कृति हो, त्यसैले । र, दोस्रो कुन्ता–डण्ड प्रतिष्ठाप्रतिको मेरो सद्भाव । अरु पनि केही कारण छ भने हुनसक्छ शायद म एक ‘एड्भेन्चर लभर’ हूँ । सिकाइ र गराइको एकसाथको यात्रा एक एड्भेन्चर भन्दा कम्तीको हुन्न । मैले उपन्यासभित्रको मूख्य पात्रको रुपमा निक्कै यात्रा गरेँ । र, त्यो यात्रा झनै एड्भेन्चरको थियो ।

पीडाको अवतार दीवाकर स्वप्निल :
अन्ततः ग्रहण उपन्यास छापिएर आयो । तर उपन्यासकार परलोकतिर लागे ।

मैले यस लेखको शीर्षक ‘ग्रहण उपन्यास प्रकाशनको अन्तर्कथा’ राखेको थिएँ । परिवर्तन गर्न कर लाग्यो । यस लेखको अन्तमा दिवाकर स्वप्निललाई ग्रहणको लागि लाख बाधाई भनेर लेखेको थिएँ । अब त्यसको पनि कुनै अर्थ रहेन । अब मलाई दिवाकर स्वप्निल लेख्नमा कसैले रोक्ने छैनन् । ऊ त स्वप्नील नै लेख्नु पर्छ भन्थे । कारण भने कहिल्यै खुलाउन पाएनन् ।

दिवाकर स्वप्निलसँग कहिल्यै भेट हुन पाएन । तर मलाई थाहा थियो उनी शारीरिक दुर्बलताका शिकार भएका थिए- उनको उपन्यासको प्रमुख पात्रजस्तै ।

उनको कृति ग्रहणलाई सम्पादन गर्ने जिम्मा लिँदा एक आत्मकथाको रुपमा लिएको थिएँ । पछि लेखकले त्यो आत्मकथा नभएर एउटा सत्य घटनामा आधारित उपन्यास भएको जिकिर गरे । तर वास्तवमा त्यो एक आत्मकथा नै थियो भन्ने मेरो बुझाइ थियो, र छ ।

आज उनले हामीलाई यस धर्तीबाट छोडेर गएका छन् ।  १७ जनवरी (२०१९) को  साँझतिर उनको देहावसान भएको भन्ने बुझिएको छ । तर त्यसरी उनले छोडेर गए पनि हामीलाई ग्रहण कृति थमाएर गएका छन् । उनले जीवनमा जति दुःख भोगे, जति दुःख देखे सबै लेख्न सफल भए यस कृतिमा ।

तर, जब प्रकाशित भएर आयो, उनी परलोकतिर लागे ।
यो भन्दा ठूलो अपत्यारिलो घटना नेपाली साहित्यको दुनियाँमा अरु के हुन सक्दछ ?

हार्दिक श्रद्धासुमन दिवाकर स्वप्निलप्रति  ।

१८, जनवरी, २०१९ केएसए ।

तपाईँको मत