अन्तर्वार्ता

उचित समयमा उम्मेद्वारी घोषणा गर्छु : नेविसंघ प्रवक्ता प्रेमराज जोशी

काठमाडौँ । नेपाली कांग्रेसको आधार नेपाल विद्यार्थी संघमा अहिले महाधिवेशनको चटारो छ । समर्थक विद्यार्थी तथा नेताहरु देशव्यापी रुपमा लागिपरेका छन् । भर्खरै केन्द्रीय समितिका विधान मस्यौदा संयन्त्रले महाधिवेशन निर्देशक समितिमा विधानको मस्यौदापनि बुझाएका छन् । आफ्नो ठाउँबाट सबैजना महाधिवेशन समयमै हुने दावी गरिरहेका छन् ।

एकातिर कार्यकर्ताको यो गति छ भने अर्कोतिर पछिल्लो मस्यौदा र त्यसमा उठेको उमेर विवादले महाधिवेशनमा झनै बखेडा उत्पन्न भएको बताउँदै आएका छन् । उनीहरुले ६ जनाले निर्णय गरेर बुझाएको मस्यौदाले नेविसंघको महाधिवेशन उद्धेश्य भुलेको आरोप लगाएका पनि छन् । नेविसंघ र यसको महाधिवेशनलाई नै लिएर यही विषयको चिरफार गर्नका लागि नेपाल विद्यार्थी संघका सह-महामन्त्री एवम् प्रवक्ता प्रेमराज जोशीलाई गाउँ सहर डट कमले आधाघण्टा कुराकानी गरेका थियौँ । त्यसको सार यहाँ प्रस्तुत गरिएको छ । 

१. यो पाराले महाधिवेशन समयमै सम्भव छ त ?
मन मिलेमा महाधिवेशन हुने या गर्न कुनै शंकै छैन । तर कार्यसमितिको २ वर्षे कार्यकाल वितिसक्यो, अहिले ३ महिने थप समयमा पार्टीले राज्य पुनसंरचनानुसार संघको विधान परिमार्जन तथा संशोधनका लागि प्रस्ताव पेश गर्न भनेकोमा विधान नै पूर्नलेखन गरी मस्यौदा बुझाएको कारण ढिलो हुँदै गएको छ । यद्धपी पार्टीले प्रचलित विधानअनुरुप नै कार्यतालिका भित्रै माध्यमिक विद्यालय, क्याम्पस र सिटीइभिटीको अधिवेशन सम्पन्न गर्न निर्देशन दिए बमोजिम धेरै जिल्ला समितिहरुले अधिवेशन प्रक्रिया सुरु गरेका छन् । केन्द्रीय प्रतिनिधि पठाउनासाथ एक दुई दिनभित्र यो माहौल बने महाधिवेशन सम्भव छ । 

२. अन्तिम समयमा फेरी उमेर हदको फन्डा के हो ?
११ औँ महाधिवेशनमै निर्णय भएको कुरामा अहिले पुनः यहि विषय छलफलमा ल्याउनु नै पहिलो फन्डा हो । विश्वविद्यालयमा विद्यार्थी नेताको उमेर २८ वर्ष कायम भइसक्यो, सेमेस्टर प्रणाली सुरु भएको छ तसर्थ यो विषय उठाउनु आवश्यक नै छैन । तर, उठाइएपनि महाधिवेशनको बन्दसत्रमा उठ्नुपर्ने एजेन्डालाई पार्टीका नेतालाई प्रभाव पारी अहिल्यै निर्णय गराउन खोज्नु शंकास्पद छ । 

३. भनेपछि विधान मस्यौदा संयन्त्र समितिको चाला ठिक देखिएन है ?
वृहत छलफलको विषयलाई मस्यौदा संयन्त्रले सुनेजस्तो गरेपनि निर्णय पश्चातको मस्यौदामा अधिकांशत सदस्यलाई समावेश नगरी पार्टीमा पेश गरेको पद्धति गलत छ । १५० केन्द्रीय समितिमा उमेर हदको छलफल भयो, छलफलका क्रममा आएका फरक मत समेतलाई रायका रुपमा समावेश गरी सर्वसम्मतीले पठाउने निर्णय भएपनि फरक मतलाई बेवास्ता गर्दै संयन्त्रले पार्टीमा बुझायो । त्यो विल्कुलै गलत छ । पार्टीले सच्याउँछ भन्नेमा आशावादी छौँ । 

४. मस्यौदा अनुमोदन गर्नमा भएको ढिलाइमा पार्टीको हस्तक्षेप सुनिएको छ नी ?
यो विल्कुलै हुँदै होइन । मैले पहिले नै भनिसकें, पार्टीले निश्चित क्षेत्रमा विधान संशोधनको प्रस्ताव ल्याउन भनेकोमा पूर्नलिखित मस्यौदा गएको कारण ढिला भएको हुनसक्छ । तर, महाधिवेशनको कार्यतालिकानुरुप विभिन्न तहका अधिवेशनहरु सम्पन्न गर्न प्रचलित विधान अनुरुप गर्नका लागि पार्टीले बाटो खोलिदिइसकेकाले हस्तक्षेप भन्न सकिँदैन ।

५. नजिकीएको महाधिवेशनमा तपाइँको तयारी चाहिँ के छ ?
देशभरका साथीहरुसँग छलफल र अन्र्तक्रिया भइरहेको छ । ११ औँ महाधिवेशनले निर्दिष्ट गरेका महत्वपूर्ण तीन कुरा विद्यार्थीको नेता विद्यार्थी हुने, संगठनको चुस्तता र कार्यावधी हो । यी तीन कसीमा दुइवर्षे कार्यकाल बिताउँदा निकै उत्साहप्रद छैन यद्दपी देशभरका धेरै क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमार्फत् देशको ठूलो संगठन स्थापित हुनु गर्वको कुरा हो । आम विद्यार्थीको पहुँचमा केन्द्रीय नेतृत्व हुनुपर्छ । शिक्षामा भएका समस्याहरु विश्वविद्यालयको गेटसम्म नदेखेका नेतृत्वले बुझ्न सक्दैनन् । त्यसैले आम विद्यार्थीको चाहना र सल्लाह सुझावका आधारमा उम्मेद्वारी घोषणा गर्ने सोचेको छु ।

६. अन्त्यमा भनिदिनुहोस्, आम विद्यार्थी महाधिवेशन हुन्छ भन्नेमा कसरी विश्वस्त हुने ?
आम विद्यार्थी समयमै महाधिवेशन र आफ्नो पुस्ताको नेतृत्व चयनमा आतुर छन् । महाधिवेशनको विकल्प महाधिवेशन नै हो । त्यसको लागि सबै तह र तप्काका साथीहरुलाई संगठनको जिवन्तताका लागि चार्डपर्व, परीक्षा लगायत प्रतिकुल समय भएपनि उत्सवका रुपमा महाधिवेशनलाई लिन र त्यसको तयारीमा जुट्न आव्हान गर्न चाहन्छु । धन्यवाद, जयनेपाल !
 

तपाईँको मत