पत्र-पत्रिकाबाट

फेरी २० वर्षे पुराना गाडी चलाउन चलखेल

  • ४ असोज बिहीबार, २०७५ | ०६:१७:०० मा प्रकाशित
फाइल तस्विर

ललितपुर । मुलुकभर सबभन्दा बढी पुराना गाडी उपत्यकामा गुड्छन् । ट्राफिक प्रहरीका अनुसार उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा पुराना गाडी ललितपुरमा चल्छन् । विशेष गरेर शौक्षिक संस्था, सरकारी कार्यालय र अस्पतालका बस पुराना छन् ।

थोत्रा गाडीबाट निस्कने कार्बन मोनोअक्साइडको मात्रा बढी भएर वातावरण प्रदूषण भई बिरामीको संख्या वृद्धि भएको वातावरणविद् तथा चिकित्सकको प्रतिवेदन छ । पार्टपुर्जा कमजोर र यात्रुको चाप हुँदा बढी दुर्घटना र अपांग, अशक्त र महिला सिटको दुरुपयोग भएको सरकारी तथ्यांक छ ।

४ वर्षअघि सरकारले मुलुकबाट २० वर्षे पुराना गाडी हटाउने निर्णय गर्‍यो । यातायात व्यवस्था विभागले २०७३ चैतदेखि उपत्यकामा २० वर्ष पुराना गाडी चल्नमा रोक लगायो । यसले लगनखेल–चापागाउँ र धापाखेल रुटमा चल्ने २० देखि ५१ वर्षसम्मका पुराना बस विस्थापित पनि भए । तर, अहिले विभागले व्यवसायीको दबाबमा २०७१ भदौ २६ मा मन्त्रिपरिषद् बैठकले २ वर्षभित्र २० वर्ष पुराना गाडी हटाउने गरेको निर्णयलाई कार्यान्वयनको सट्टा उल्टो ५ वर्ष म्याद थप गर्न मन्त्रालयमा प्रस्ताव गरेको छ । 

यातायात अभियन्ता रामबहादुर थापा भन्छन्, ‘पुराना गाडी बिस्तारै हट्दै थिए । अहिले आएर विभागले प्रभावमा परेर जनताको पक्षमा भन्दा व्यवसायीको पक्षमा निर्णय लिएको छ ।’ उनले तत्काल प्रस्ताव फिर्ता लिन माग गरेका छन् ।’ ‘पुरानो गाडीको हेडलाइट बेलुका मधुरो बल्छ । र कार्बोरेटर, क्लजप्लेट, गियरबक्स र इन्जिन कमजोर भएका पुराना गाडीले बढी यात्रु बोक्नाले दुर्घटना हुने गरेको छ,’ उनले भने । 

वैशाखबाट सवारी सधानको धूवाँ परीक्षण गरेर हरियो स्टिकर अनिवार्य गर्ने योजना पनि अलपत्रमा परेको छ । यसले उपत्यकामा खुलेआम अत्याधिक कालो धूवाँ फाल्ने गाडीहरू गुडिरहेका छन् । योजना कार्यान्वयन गर्न सुरुका दिनमा गृहमन्त्रीलगायत अन्य मन्त्रीहरू सडकमा निस्किएर सवारी चेक गरेका थिए । उपत्यकामा गाडीबाट निस्कने धूवाँले वातावरण प्रदूषित र मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याउने गरेको भन्दै सरकारले २०५२ बाट जाँच गर्ने सुरु गरेको थियो । 

यातायात विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले २० वर्षे पुराना गाडीको म्याद थप गर्ने बारेमा आफूलाई जानकारी नभएको बताए । ‘कार्यालयमा भर्खर आएको हुँ,’ उनले भने । विभागले गत वर्ष पेट्रोल इन्जिनको धूवाँ जाँच गर्ने २० वटा, डिजेल इन्जिनको धूवाँ जाच गर्ने २० वटा र सवारीको इन्जिन र चेसिस जाँच गर्ने २० वटा क्यामेरा र यसको प्रयोगबारे देशभरका यातायात व्यवस्था कार्यालयका आवश्यक कर्मचारीलाई तालिम दिन टेन्डर गरेको थियो । 

त्यो नेपाली कम्पनी हेलिस इन्टरनेसनललाई १ करोड ४६ लाखमा पाएको थियो । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ योगेन्द्र कर्माचार्यले २० वर्षे पुराना गाडीको ५ वर्ष म्याद थप गर्ने विषय निराधार भएको दाबी गरे । ‘व्यवसायीले यो कुरा उठाएको छैन,’ उनले भने ।  स्रोत : कान्तिपुर दैनिक

तपाईँको मत